संगठन बलियो बनाएकोले यो पटक जितेरै छाड्छु

|

बागलुङ : आगामी मंसिर १४ गते हुने प्रदेशसभा उपनिर्वाचन बागलुङ क्षेत्र नं २ (ख) को लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन्, कांग्रेसका युवा नेता जित शेरचन

२०५२ सालदेखि कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका शेरचन २०६४ सालदेखि पार्टीको राजनीतिमा क्रियाशील छन्। मूलधारको राजनीतिमा पहिलोपटक शेरचन कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर प्रवेश गरे। यसअघिको एक कार्यकाल महाधिवेशन प्रतिनिधि भएर काम गरेका उनी अहिले पनि बहालवाला महाधिवेशन प्रतिनिधि हुन्।

जनजागृत माध्यमिक विद्यालयबाट नेविसंघको राजनीति सुरु गरेका शेरचनले लामो समय विद्यार्थी राजनीतिमा बिताए। उच्च शिक्षा अध्ययनको लागि काठमाडौं पसेपछि महेन्द्र रत्न क्याम्पस ताहाचलमा नेविसंघको इकाइ समितिको सदस्यदेखि सभापति र स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसम्म भए। लामो समय विद्यार्थी संगठनमा रहेकाले केन्द्रीयस्तरका नेताहरूसँग राम्रै हिमचिम भएका युवा नेता मानिन्छन्, उनी।

यसअघि २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका शेरचन राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्तीसँग पराजित भएका थिए।

घर्तीको बिरामीका कारण मृत्यु भएपछि हुन लागेको उपनिर्वाचनमा उनी पुनः उम्मेदवार बनेका छन्। पहिलेको चुनावको पराजयको घाउ ओभाइ नसक्दै हुन लागेको उपनिर्वाचनमा पुनः उम्मेदवार बनेका शेरचनसँग थाहाखबरकर्मी तारानाथ आचार्यले गरेको संवाद।

पराजित भएको निर्वाचन क्षेत्रमा फेरि उम्मेदवारी के का लागि?

२०७४ को निर्वाचनमा मैले जनताका बीचमा कैयौँ एजेण्डा लिएर गएको थिएँ। निर्वाचनको समयमा बेहोर्नुपरेको हारका कारण मैले ती एजेण्डामा रहेर काम गर्न पाइनँ। अहिले परिमार्जन र थप केही एजेण्डा र पुराना एजेण्डालाई सार्थक बनाउनका लागि मैले उम्मेदवारी दिएको हुँ।

निर्वाचनपछि बितेको समयमा मैले यस क्षेत्रमा संगठन विस्तार, विकास निर्माण र जनसम्पर्कलाई ध्यानमा राखेर काम पनि गरेको छु। अझै ती कामलाई सशक्त र प्रभावकारी बनाउनको लागि मेरो उम्मेदवार हो।

तपाईंका चुनावी एजेण्डा के हुन्?

निसीभूजी क्षेत्र चेतनाका हिसाबले निकै कमजोर र पछाडि परेको क्षेत्र हो। यहाँ अशिक्षाका कारण विकासले गति लिन सकेको छैन। राज्यको उपस्थिति नै छैनभन्दा पनि भयो। अशिक्षाका कारण यहाँ जागिर खानेको संख्या एकदमै कम छ।

जागिर खानेको संख्या वा उद्यम गर्नेको संख्या नभएपछि आर्थिक अवस्था कमजोर हुनु स्वाभाविक हो। पूर्वाधारको विकास पनि जिल्लाका अन्य क्षेत्रको तुलनामा निकै कमजोर रहेको छ। त्यसैले मैले मत माग्नका लागि जनताको माझमा जाँदा शिक्षा र जनचेतनालाई पहिलो एजेण्डा बनाएको छु।

हामीले यहाँ रहेको एउटा क्याम्पस महायज्ञ लगाएर, दान उठाएर चलाउनुपर्ने अवस्था छ। त्यसलाई सरकारले नै चलाउनुपर्छ भन्ने माग मेरो हो। अझै यो क्षेत्रमा क्याम्पसलाई आंगिक बनाउनुपर्छ भन्ने छ। हिउँदमा ओधारेको सडकको माटोले वर्षामा दुर्घटना निम्त्याएको कुरा यहाँहरूलाई पनि जानकारी छ। विनायोजनाको विकासका कारण यस्तो भइरहेको छ। योजनाबद्ध र एकीकृत विकास दोस्रो एजेण्डा हो।

स्वास्थ्य क्षेत्रमा सुधार पनि छ। बुर्तिबाङमा रहेको स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउनुपर्छ भन्ने छ। निसीभूजी क्षेत्रमा रहेका कैयौँ पर्यटकीय क्षेत्रको पहिचान नै भएको छैन। तिनको पहिचान, विकास र प्रचारप्रसार मेरो चुनावी एजेण्डा नै हो।

जनजागरणमार्फत शैक्षिक, भौतिक र आर्थिक विकास मेरो एजेण्डा हुनेछ। पर्यटकीय क्षेत्रको विकासका लागि नीतिगत सुधार पनि गर्नुपर्ने छ। त्यो पनि मेरो एजेण्डा नै हो।

तपाईंले चुवान जित्ने आधार के के हुन्?

निर्वाचनको समयमा पहिलो आधार त संगठन नै हो। पहिलेको तुलनामा यसपटक हाम्रो संगठन पनि बलियो भएको छ। अर्को  मुख्‍य आधार भनेको दुई तिहाईको सरकारले बाँडेका झुटा सपनाका कारण पनि जनता वाक्क भएका छन्। सरकारले आर्थिक समृद्धिको नारा लगाएर जनतालाई गुमराहमा पारेर काम केही गरेन। निसीभूजी निकै पछि परेको क्षेत्र हो।

यहाँका जनताको दैनिकी, यहीँ जन्मे हुर्केको वा भोगेको नेताले मात्रै बुझेको छ। यहाँका जनताले पहिले-पहिलेका निर्वाचनमा निसीभूजीको दुःख नदेखेका र नचिनेका नेतालाई जिताए पनि केही नगरेको बुझेका छन्। यसपटक यहाँको दुःख बुझेको उम्मेदवारलाई मलाई छुटाउँदैनन् भन्ने लागेको छ।

तपाईं चुनाव लड्दै गरेको क्षेत्रका समस्या केके हुन्?

बागलुङको पश्चिमलाई सिंहदरबारले कहिल्यै देखेन, केन्द्र सरकारको नजरमा नपरे पनि जिल्लाले हेरेको भए हुन्थ्यो। जिल्लाले पनि कहिल्यै हेरेन। त्यसैले यहाँका जनता धेरै पछिपरेका छन्। अहिले मध्यपहाडी लोकमार्गका कारण केही सहज भएको छ तर यहाँका जनताले प्रशासनिक कामका लागि पाएको दुःख सम्झि नसक्नु छ। एउटा कामका लागि सदरमुकाम पुगेको मान्छे गाउँ फर्किन हप्ता दिन लाग्छ।

राज्यको पुनःसंरचनाको समयमा जिल्लाको मुकामसमेत सर्ने संकेत गरेकाले बागलुङलाई दुई जिल्ला बनाउनु हुँदैन भन्दा हामीले समर्थन गर्‍यौं। अहिले पार्टीले जागरण अभियानदेखि नै बागलुङ टुक्रयाएर दुई जिल्ला बनाउने अभियान चलाएको छ।

सबैखाले दुःखका कारणले निसीभूजी, ढोर र तमान क्षेत्रलाई अब छुट्टै जिल्ला बनाउनैपर्छ। यो चुनावी अभियानमा पनि म यो कुरा जोड्छु र जनताको मत बुझ्छु। फरक जिल्ला नहुनु यहाँको मुख्य समस्या हो।

छुट्टै जिल्ला बनाउने हजुरको पनि एजेण्डा हो, अनि जनताको मन कसरी जित्नुहुन्छ त?

पार्टीले एजेण्डा बनायो, यहाँका जनताले चाहन्छन् भने मेरो किन नहुने। जनताको मर्म बुझ्ने सबैको एजेण्डा हो फरक जिल्ला। जनताको मन जित्नका लागि त हामीले सामाजिक र आर्थिक विकासका काम गर्ने हो, गरिरहेका पनि छौँ। यहाँ सम्भावना धेरै छन्।

बिजुली निकालेर बेच्न सकिने निकै सम्भावना भएको क्षेत्र हो। पर्यटनमा सम्भावना अथाह छ। कृषिमा उर्वर भूमिलाई कुनै न कुनै बालीको हब बनाउन सकिने अवस्था छ। यी सबै काम गरेर हामी जनताको मनमा बस्छौँ। ढुक्क हुनुहोस् हामीले जनताका दु:ख बुझेका छौँ।

प्रतस्‍पर्धी उम्मेदवार र तपाईंमा के फरक छ?

मैले मेरो प्रतिस्पर्धी कमजोर छन् भन्दिनँ। उनीहरू राजनीतिज्ञ होइनन् वा व्यक्तित्व माथि पनि केही टिप्पणी गर्न चाहन्न। जनताले मत दिने हो। जनताले आफ्नो सुखदुःख बुझ्ने को छ भनेर छान्नुहुन्छ। यहाँका जनताको सुखदुःख बुझ्ने म नै हो। यहाँको समाज, माटोसँग मेरो चिनजान छ। त्यसैले मैले चुनावी परिणाम आफ्नो पक्षमा पार्छु तर अरू उम्मेदवारको विषयमा टिप्पणी गर्न चाहन्न।

तपाईंको पार्टीभित्र नै कयौं असन्तुष्टिहरू छन्। कसरी सम्बोधन गर्नुहुन्छ?

लोकतान्त्रिक पार्टिमा प्रतिस्‍पर्धा हुन्छ। त्यो प्रतिस्‍पर्धा मैले टिकट नपाउने बेलासम्म थियो। त्यतिबेलासम्म हामी आपसी रूपमा भिड्यौं, जतिबेलासम्म मैले चुनावका लागि पार्टीबाट टिकट पाएको थिइनँ। अबको हाम्रो लडाइँ विपक्षी दलहरू वा उम्मेदवारसँग हो।

आन्तरिक तीक्तता होलान् वा प्रतिस्‍पर्धा होला, अब ती सबै कुरालाई थाँती राखेर चुनावी मैदानमा होमिने बेला हो। पार्टीमा पालो भन्ने हुँदैन। पहुँच भन्ने पनि हुँदैन। जसको क्षमता छ वा जसले अर्को प्रतिस्‍पर्धा भिड्न सक्छ उसैले टिकट पाउने र मैदान ओर्लिने हो। बाहिर हल्ला चलेको जस्तो पार्टीमा तीक्तता पनि छैन। हामी सबै मिलेर अघि बढ्छौँ।

दोस्रोपटक तपाईं नै उम्मेदवार, अरूले कहिले पालो पाउने?

पाँच वर्षका लागि २०७४ मा भएको निर्वाचनको घाइते उम्मेदवार हो, म। यो उपनिर्वाचन हो। पहिलेको निर्वाचनमा घाइते भएकाले यसपटक मलममपट्टी लगाउन मैले नै पाउनु पर्दथ्यो र पाएँ। यसको अर्थ अरूले पालै नपाउने भन्ने होइन। फेरि तीन वर्षपछि चुनाव हुन्छ। त्यो बेला अरू कोही उम्मेदवार हुनसक्छ। यो त पाँच वर्षभित्रमा भएका प्रक्रियाको निरन्तरता मात्रै न हो।

चुनाव जित्नु भो भने प्रदेशसभामा जाँदा तपाईंको पहिलो एजेण्डा के हुन्छ?

अहिले सरकार निरंकुश बनेको छ। सरकार सरकार जस्तो भएन, अहिले सरकार होइन सत्ता चलेको छ। सरकार र सत्ता फरक कुरा हुन्। सरकार जनताको हुन्छ, सत्ता पार्टीको। सरकारको निरंकुशताविरुद्ध लाग्छु। मेरो निर्वाचन क्षेत्रमा शिक्षालाई पहिलो एजेण्डा बनाएर लैजान्छु। अशिक्षा, बरोजगारी, भोकमरी र विकासका हरेक गतिविधिबाट पछि परेको हाम्रो क्षेत्रको विकासका लागि लड्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.