|

बैतडी : उपनिर्वाचनका लागि बैतडीमा ८ उम्मेदवारको मनोनयन दर्ता भएको छ। वडा अध्यक्ष रिक्त रहेका बैतडीका ३ वडाका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। आगामी मंसिर १४ गते जिल्लाको दोगडाकेदार गाउँपालिका-४, सुर्नया गाउँपालिका-१ र पुर्चौडी नगरपालिका-४ मा उपनिर्वाचन हुँदैछ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  बैतडीका तीनवटै वडामा बुधबार उम्मेदवारको मनोनयन दर्ता भएको छ। सुर्नया गाउँपालिका-१, दोगडाकेदार गाउँपालिका-४ र पुर्चौंडी नगरपालिका-४ को वडा अध्यक्ष पदका उम्मेदवारहरूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत इश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

सुर्नया गाउँपालिका-१ मा अध्यक्ष पदका लागि दुईजना उम्मेदवारको मनोनयन दर्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको हो।

यस्तै, पुरचौंडी नगरपालिका-४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवरी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीका कम्प्युटर अपरेटर अनिल चन्दले जानकारी दिए।

यस्तै, दोगडाकेदार गाउँपालिका-४ को वडा अध्यक्ष पदका लागि तीनजना उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ। नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए।

मनोनयन दर्ता गरेका उम्मेदवारहरूको बुधबार नै अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.