|

सल्यान : सल्यानमा रिक्त रहेको वडाअध्यक्ष पदका लागि पाँचजनाको उम्मेदवारी परेको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कुमाख गाउँपालिका ५ मा पाँचजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। वडाअध्यक्ष पदको उम्मेदवारी दिनका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयसीमा तोकिएको थियो।

जसमा पार्टीबाट तीनजना र स्वतन्त्रबाट दुईजना गरेर पाँचजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे जानकारी दिए। उनका अनुसार सत्तारूढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाट धर्मे बुढाथोकी, नेपाली कांग्रेसबाट खड्ग बहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै, स्वतन्त्रबाट चित्रप्रकाश गिरी र दलवीर बस्नेतले पनि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रागेचौरले जनाएको छ। कार्यालयका अनुसार शान्तिपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। कुमाख गाउँपालिका ५ का वडाअध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि वडाअध्यक्ष पदरिक्त रहेको थियो।

सत्तारूढ नेकपाबाट उम्मेदवारी दिएका धर्मे बुढाथोकी नेकपाका प्रभावशाली नेता हुन्। पञ्चायत कालदेखि नै राजनीतिमा होमिएका बुढाथोकी नेकपाका प्रभावशाली र बलियो उम्मेदवार मानिन्छन्।

यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका खड्गबहादुर बोहरा यसअघि भएको स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष पदमा पराजित भएका थिए। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका उनले १ सय ८० मत प्राप्त गरेका थिए।

यस्तै, तत्कालीन माओवादी केन्द्रका उम्मेदवारले ७ सय ८८ मत ल्याएर विजयी भएका थिए भने तत्कालीन नेकपा एमालेका उम्मेदवारले २ सय २९ मत ल्याएका थिए। तर, अहिले माओवादी र एमाले मिलेर नेकपा बनेका छन्। यसरी २०७४ सालमा भएको निर्वाचनको मतपरिणामलाई आंकलन गर्दा वडाअध्यक्षमा नेकपाको राम्रो सम्भावना देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.