|

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टिमले बंगलादेशमा जारी एभिसी सेन्टर जोन भलिबलमा आफ्नो निरन्तर जित यात्रा कायम राख्दै फाइनल यात्रा तय गरेको छ। एक खेल अगावै फाइनल पुगेको नेपाल समूहचरणको अन्तिम खेमा पनि माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै उपाधि अभियान बलियो बनाउन सफल रह्यो।

यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्समाथि ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि यात्रामा आफू एक्लो रहेको सन्देश दियो। जितसँगै नेपाल लिगको चार खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा रहन सफल भयो। पराजित माल्दिभ्सले ४ खेलबाट ८ अंक रहेको छ।

ढाका मिरपुरस्थित शहीद शुरवार्दी इन्डोर हलमा पहिलो सेटमा माल्दिभ्सले सुरुवातमा बलियो चुनौती दिएपनि खेलमा सहज रूपमा २५-१४ को पहिलो जित निकाल्यो।

दोस्रो सेटमा नेपालले खेलको शुरुवातदेखि नै अग्रता लिँदै २५–५ को जित निकाल्यो। तेस्रो सेटमा पनि नेपालले अफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिँदै २५-१३ ले खेल जित्दै आफ्नो लगातार जितको श्रृंखलालाई जारी राख्न सफल भयो।

नेपालले उपाधिका लागि माल्दिभ्सविरुद्ध नै बिहीबार प्रतिष्पर्धा गर्ने छ। फाइनल खेल नेपाली समयअनुसार दिउसो २:४५ बजेबाट सुरु हुने छ। त्यसअघि तेस्रो स्थानको लागि घरेलु टोली बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.