गाडी- इन्धन, पानी-बिजुली र भाडाका लागि छुट्टाछुट्टै रकम

|

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनासम्म अर्थात् साउन, भदौ र असोज महिनामा कर्मचारी र उच्च-पदस्थ पदाधिकारीको तलब र भत्तामा ४१ अर्ब रुपैयाँभन्दा बढीको खर्च भएको छ। त्यस्तै करार कर्मचारीको सेवा र परामर्श तथा शेवा शुल्कको लागिसमेत भुक्तानी रकमलाई हेर्दा ४४ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ। 

सरकारले सार्वजनिक खर्चलाई घटाउनको लागि विभिन्न पटक समिति, बोर्ड तथा आयोग बनाएर कार्यपत्र बनाई मितव्ययिताको योजना तयार गरे पनि त्यसअनुसार खर्च नहुँदा ठूलो रकम खर्च भएको देखिएको छ। उल्लेखित शीर्षकबाहेक,इन्धन, पानी, बिजुली भाडा शीर्षकमा पनि ठूलो रकम खर्च भएको छ। 

कुन शीर्षकमा कति खर्च

असोज मसान्तसम्ममा कर्मचारीको तलब शीर्षकमा ३७ अर्ब ८८ करोड १३ लाख रुपैयाँ खर्च भएको छ। यो शीर्षमा ८६ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा तीन महिनाको अवधिमा ४६ प्रतिशत खर्च भएको छ।

त्यस्तै, पदाधिकारीको पारिश्रमिक शीर्षकमा ५९ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ। पदाधिकारीको लागि दुई अर्ब ६० करोड रुपैयाँ रकम विनियोजन गरिएकोमा तीन महिनाको अवधिमा २३ प्रतिशत रकम खर्च भएको छ। पदाधिकारीको अन्य सुविधा शीर्षकमा दिइने खर्च पाँच करोड १९ लाख रुपैयाँ रहेको छ। यस शीर्षकको लागि ३० करोड रुपैयाँ रकम विनियोजन गरिएको छ। 

करार सेवामा सरकारले चालु आर्थिक वर्षको लागि १० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ असोज मसान्तसम्म यो शीर्षकमा तीन अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ भने परामर्श तथा शेवा शुल्क शीर्षकमा २९ करोड ६० लाख रुपैयाँ खर्च गरिएको छ। यो शीर्षकमा ६० करोड रुपैयाँ विनियोजन गरेको छ। 

भत्तातर्फ पोसाकको लागि एक करोड रुपैयाँ मात्रै भुक्तानी गरिएको छ। यो शीर्षकमा एक अर्ब ९० करोड रुपैयाँ विनियोजन छ। 

महँगी भत्ताका लागि एक अर्ब ३४ करोड रुपैयाँ भुक्तानी गरिएको छ। यस शीर्षकमा चार अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएकोमा यो शीर्षकमा २९ प्रतिशत खर्च भएको छ। 

कर्मचारी बैठक भत्ता शीर्षकमा चार अर्ब ५० करोड विनियोजन गरिएकोमा अहिलेमसम्म भुक्तानी नभएको महालेखाले जनाएको छ। अन्य भत्ता शीर्षकमा ३९ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएकोमा १४ अर्ब १८ करोड रुपैयाँ तीन महिनामा खर्च भइसकेको छ। कर्मचारीको बैठक भत्ता र तालिम खर्च शीर्षकको रकम अहिलेसम्म खर्च भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.