|

काभ्रेपलाञ्चोक : खानेपानीमन्त्री बिना मगरले पनौतीमा रहेको खानेपानी संस्थानको पानी उत्पादन (मिनरल वाटर) केन्द्र प्लान्टको निरीक्षण गरेकी छन्।

खानेपानी संस्थानको उक्त प्लान्टको निरीक्षणपछि मन्त्री मगरले नेपालमा उत्पादित मिनरल वाटर विदेशमा निर्यात गर्नसक्ने सम्भावना अझ बलियो भएको र त्यसका लागि मन्त्रालयले तयारी अगाडि बढाएको जानकारी दिइन्।

पनौतिमा प्लान्ट राखेर संस्थानले मिनरल वाटर उत्पादन गरेर सिंहदरबारमा रहेका मन्त्रालय, विभिन्न सरकारी कार्यालयमा निर्यात गर्दै आइरहेको छ। उक्त प्लान्टले दैनिक करिब ३०० जार पानी उत्पादन गरेर विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा बेच्दै आएको छ।

संस्थानले आगामी दिनमा बोतलमार्फत पनि उक्त केन्द्रबाट प्रशोधन भएको मिनरल वाटर बिक्री वितरण गर्ने योजना अगाडि सारेको छ। माग अत्यधिक भएको र पूर्ती गर्न नसकेको केन्द्रकी प्रमुख पुष्पाञ्जली विष्टले जानकारी दिइन्। संस्थानको पहिलो परीक्षण केन्द्र भएकाले विभिन्न समस्या रहेको विष्टको भनाइ थियो। तर, माग भने उच्च रहेको उनले जानकारी दिइन्।

मन्त्री मगरले भनिन्, 'यो केन्द्र अहिले नाफामा छ। यसले संस्थानको मिनरल वाटरको माग बढेको छ र हामीले यसमा लगानी गर्दा फाइदा छ भन्ने देखाएको छ।' मिनरल वाटर उत्पादन केन्द्र विस्तार गरेमा विदेशमा निर्यात गर्नका लागि सहज हुने सम्भावना देखिएको उनको भनाइ थियो।

'जार र बोतल मार्फत मिनरल वाटर बिक्री गर्नेगरी संस्थान उत्रिँदैछ। नयाँ सम्भावित क्षेत्रमा संस्थानले मिनरल वाटर प्लान्ट राख्नेछ', मन्त्री मगरले भनिन्।

बजारमा प्रतिस्पर्धा गरेर संस्थानले गुणस्तरीय पानी आम उपभोक्ता माझ पुर्‍याउने योजना बनाएर कार्यान्वयन गर्न मन्त्री मगरले निर्देशन दिएकी थिइन्। ‘संस्थानको यो पहिलो उत्पादन केन्द्र हो। अन्य स्थानीय तहहरूमा यसरी नै पानी प्रशोधन गर्ने प्लान्ट राख्ने गरी योजना बनाउन जरुरी छ’ उनले भनिन्, ‘यो एउटा उदाहरण अर्थात् परीक्षण मात्र हो। अन्तर्राष्ट्रिय बजारमा हाम्रा मिनरल वाटर निर्यात गर्न सक्ने गरी योजना बनाउनुपर्छ। संस्थानले काम गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्न सकोस्।’

खानेपानी संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले संस्थान अब खुला बजार प्रतिस्पर्धाका लागि तयार भइसकेको बताए। पनौती जस्तै अन्य नगरपालिकाहरूमा पनि मिनरल वाटर प्लान्ट राख्ने तयारी भइरहेको उनले जानकारी दिए।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानले संस्थानलाई पानीको प्लान्ट क्षमता विस्तार गर्नका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताए। उनले संस्थानलाई आवश्यक पर्ने जग्गा र अन्य सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए।

संस्थानको उक्त प्लान्ट २०७४ भदौदेखि सञ्चालनमा आएको हो। यसको पानी उत्पादन क्षमता प्रति घण्टा दुई हजार लिटर रहेको छ। संस्थानले उक्त प्लान्टबाट दैनिक ३८ हजारदेखि ४० हजार लिटरसम्म पानी उत्पादन गर्न सकिने जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.