अन्य अधिवक्ताको बहस भोलि पनि

|

रौतहट : रौतहटको राजपुर फरदहवामा बम विष्फोटको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दाको थुनछेक बहस पाँचौँ दिन बित्दा पनि सकिएको छैन। तर, आलमको पक्षबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरूको बहस सकिएको छ।

बम विस्फोटमा घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर मारेको हत्या अभियोग लागेका आलमको मुद्दामा बुधबार पाँचौँ दिन पनि सकिएको छैन। पाँचौँ दिन आलमको पक्षबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलगायत चारजना वकिलले बहस गरेका थिए।

प्रतिवादीको तर्फबाट बहस गरेका पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले मिडियाको कुरा नसुन्न न्यायाधीशलाई आग्रह गरे। बुधबार आलमको पक्षबाट पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ, संजीवकुमार मल्लिक, लालबाबु राय यादव र अजय पटेलले बहस गरेको जिल्ला अदालत गौरका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।

यसैगरी, मंगलबार प्रतिवादीकै तर्फबाट नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, यदुनाथ खनाल तथा अधिवक्ता सतिष कुमार झाले बहस गरेका थिए।

यसैगरी, सोमबार नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, सुनीलकुमार पोखरेललगायत वकिलले आलमका तर्फबाट बहस गरेका थिए। बाँकी कानुन व्यवसायीले बिहीबार बहस गर्ने श्रेस्तेदार पराजुलीले बताए। बहस गर्ने कानुन व्यवसायी धेरै हुँदा आलमको मुद्दा लम्बिएको जिल्ला अदालत रौतहटले जनाएको छ।

न्यायाधीश दीपक ढकालको इजलासमा बहस भइरहेको छ। आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। आलमबाहेक बाँकी १० जना फरार छन्। आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दा दायर गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.