|
प्रतीकात्मक फोटो

म्याग्दी : पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुममा बुधबार प्रधानाध्यापक इन्द्रकुमारी पुन माथि खुकुरी प्रहार भएको छ। एक युवाको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी प्रअ पुनलाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा लगिएको छ।

जनकल्याण आधारभूत विद्यालयकी प्रअ पुनलाई बिलबाङमा स्थानीय रमेश पुनले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। बाटोमा हिँडिरहेकै अवस्थामा प्रअ पुनमाथि एक्कासी खुकुरी प्रहार हुँदा उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले उल्लेख गरेको छ।

खुकुरी प्रहारबाट बाटोमै बेहोस भएकी प्रअ पुनलाई प्राथमिक उपचार गरी मालिका गाउँपालिकाको समन्वयमा  पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए।

अध्यक्ष रोकाका अनुसार घाइते भएकी पुनको कान, टाउको र हातमा कुखुरी प्रहारबाट गम्भीर चोट लागेको छ। देब्रे हातका दुइटा औँलासमेत खुकुरी प्रहारबाट चुँडिएको बताइएको छ। खुकुरी प्रहार गरेका पुन अहिले फरार रहेका प्रहरीले बताएको छ।

उनको खोजी कार्यको लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.