|

सर्लाही : सर्लाहीको हरिपूर्वा नगरपालिका–१, को वडाध्यक्षका लागि सातजनाको उम्मेदवारी परेको छ। आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि बुधवार सातजना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्।

निर्वाचन आयोगले पालिकाको उपनिर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको थियो। सो अवधीमा दुईजना स्वतन्त्रसहित सातजना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए।

उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट दोस मोहम्मद अंसारी, नेपाली कांग्रेसबाट रामपृत पासवान, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट रामविश्वास राय, समाजवादी पार्टीबाट श्यामबाबु राय, सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेश राय यादव, स्वतन्त्रबाट मनोजकुमार राय र मनोजकुमार यादवले मनोनयन पत्र दर्ता गराएका छन्।

बुधवार मनोनयन पत्र दर्तासँगै उम्मेदवारले आफ्नो पक्षमा मत माग्दै चुनावी प्रचारप्रसार सुरु गर्न थालेका छन्। अघिल्लो निर्वाचनबाट निर्वाचित वडाध्यक्ष इसाक अन्सारीको गत वर्ष निधन भएपछि देशका अन्य पालिकामा जस्तै हरिपूर्वा नगरपालिका–१, मा पनि आउँदो मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनका लागि कात्तिक २० गते हरिपूर्वा बजारस्थित नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। हरिपूर्वा–१, मा एक हजार ३५६ जना मतदाता रहेका छन्। उनीहरूले हरिपूर्वा–१, स्थित वडा कार्यालयमै रहने दुई मतदान केन्द्रबाट नयाँ वडाध्यक्ष चयनका लागि मतदान गर्ने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.