'उपनिर्वाचनले पार्टीको जनमतको नमुना देखाउछ'

|

बारा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर १४ को उपनिर्वाचनले पार्टीको जनमतको नमूना देखाउने बताएका छन्।

बाराको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीलाई ठूलो मिसनमा अगाडि बढाउन अब कांग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको बताए।

‘कांग्रेसलाई अब नयाँ ढंगबाट अगाडि बढाउन जरुरी छ,’ नेता पौडेलले भने, ‘त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय गरेर अगाडि बढ्नुको विकल्प छैन्।’  नेता पौडेलले कार्यकर्ताको न्याय, निष्पक्ष र पारदर्शी मूल्यांकन आवश्यक रहेको बताए।

सिमा समस्या समाधानको उत्तम समय

सीमासम्बन्धी सबै समस्या समाधान गर्न सरकारलाई अहिले सबैभन्दा उत्तम समय भएको नेता पौडेलले बताए। ‘अहिले प्रतिपक्षको समेत साथ पाएको छ,’ नेता पौडेलले भने 'सीमा समस्या विगतदेखिकै समस्या भए पनि अहिले जस्तो स्थिर सरकार र सवै राजनीतिक शक्तिको साथ यसअघि कहिल्यै पाएको थिएन्।’

नेता पौडेलले सीमाको समस्या समाधान गर्न यो पटक नेपाल चुक्न नहुने बताए। ‘हामीले प्रधानमन्त्रीलाई तपाईंले कूटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ भनेका छौँ,’ नेता पौडेलले भने–आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौं।’

उत्तरतिर पनि सीमा विवाद

नेता पौडेलले नेपालको उत्तरी भागमा पनि सीमा विवाद रहेको बताए। प्रधानमन्त्रीको गफ मात्रै गर्छन कि काम पनि गर्छन हेर्ने बेला आएको बताउँदै नेता पौडेलले मुलुकको चारैतिरको सिमाना सुरक्षा गर्ने कुरामा सबै नेपाली एक हुनुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस बाराका नेताहरू लालबाबु सिंह, मुकेश कुशवाह, निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनाल, नेपाली कांग्रेस बाराका सचिव मनोज भट्ट, महाधिवेशन प्रतिनिधिहरू पेमासिद्धि लामा, माला लामा, नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियार लगायत नेपाली कांग्रेस तथा बिभिन्न भातृ संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.