|

ओ साथी!

किन टोलाएको?

जेठेलाई पीपल बोटमुनि स्वादले चुरोट तानिरहेका साथीहरू जिस्काउँदै छन्। 

एकसर्को तान्ने हो?

जेठेलाई चुरोटको धुवाँ त निकै बसाइरहेको छ। चुरोट तान्न चाहिँ मन छैन। महिनौँ भन्नलाई चुरोट छाडेको अझै १० महिना भएको छैन। आधा वर्षभन्दा धेरै भयो  जेठेको फोक्सोले चुरोटबाट आउने धुवाको न्यानो नपाएको।

धुवाँको माया लागेर पनि बिर्सिसकेको चुरोटलाई जेठेका साथीहरूले नराम्रोसँग सम्झाइदिए। तर, बेला बखत याद भने गरिरहेको हुन्छ, जेठेले भनेको पो त बिर्सेको।

 अह! कहाँ खानु भनेर साथीहरूसँगबाट छुटिएको जेठेले चुरोटलाई सम्झनु सम्झियो। १० वर्ष साथ दिएको चुरोटको याद कति कति। झगडाको साथी, हर्षको दोस्ती, पीडाको साथ सबै चुरोट। अझ भनौँ प्यारो साथी, प्यारो चुरोट।

जेठेले कहाँ चुरोटको बट्टामा लेखेको कुरा पढेर,  डाक्टर कुरा सुनेर, निरोगी हुन चाहेर वा लामो समय बाँच्नका लागि छोडेको होर। एउटा स्वार्थ त्यागेर अर्को स्वार्थ अबलम्वन मात्रै गरेको हो।

आफ्नो तीन वर्षे छोराछोरीका लागि आवश्यक पर्ने दुग्धको पैसा जोगाउन पो। अझ भनौँ महँगी खेप्न नसकेर र सधैँ दिएको खान लाज मानेर छोडेको पो। बाध्यताका कारण टाढा भएको उसलाई जेठे निकै सम्झिरहेको छ। 

जेठेले चुनौतीबीच चुरोटको सर्को तान्न छाडेको हो। चुनौती १ एक दिन छाडेर देखा। चुनौती दुई एक हप्ता छाडेर देखा। चुनौती ३ एक महिना र चुनौती चार/६ महिना। यी सबै चुनौती पार गरिसकेका जेठेलाई अब जिस्काउन मात्रै बाँकी छ। 

जेठे र चुरोटको मित्रता निकै उच्चस्तरको थियो। त्यसैले पनि चुरोट याद झलझली छ।  पीडाले अत्यन्तै छटपटाइरहेको बेला चुरोटसँग विगत सम्झन्छ। त्यस्तै पीडामा चुरोट र आँसु मिलेर निकै सम्झाउने गर्थे।

पुस माघ जाडोमा चुरोट र पीडा एक साथ निल्दै गर्दा... तातो आँसु खुट्टीमा र  तातो धुँवा फोक्सोमा पुगेर न्यानो मात्रै दिँदैनथ्यो पीडा कम भएको पनि महसुस गर्थ्यो रे जेठेले। 

जेठे `चेन स्मोकर´ त हैन तर  एकपटक पनि नउठी २० खिल्ली चुरोट सकेको छ। एकपटक ननिभाइ पाँच खिली चुरोट पिएको छ। चुरोटलाई माया गर्ने अरूको कीर्तिमान कस्तो छ कुन्नी जेठेको त्यति हो।

जेठेले चुरोटको सितन चिया बनायो होला तर चियाको सितन चुरोट कहिल्यै बनाएन। यसैले पनि देखाउँछ चुरोटलाई दिएको महत्व ।

चुरोट जेठेको रुदाको साथि, घण्टौँ हिँड्दा प्रत्येक आधा घण्टामा छहारीजस्तै साथ दिने साथी, हास्दा खेल्दाको साथी पनि हो। 

तर, जेठेले चुरोटलाई धोका दिएको कि चुरोटले जेठेलाई। जे होस सँगै नभएको धेरै भयो। आजकल चुरोट मौन छ। जेठे बास्ना मन पराएर पनि कहिले च्याप्दिन भन्छ। कतै जेठे भन्दै थियो अरे।

चुरोट पनि गिज्याइरहेको छ रे हिजो छोराछोरीलाई आवश्यक पर्ने त्यही दुग्ध किन्न नपाउँदा अहिले चाहिँ के छोड्दै छ। चुरोटले अरूसँगै कुरा काटेको एउटा विषयले थप तनाव दिएको छ जेठेलाई। चुरोटले तल बस्ने वीरेसँग भनेको रहेछ `मेरो साथ लिँदा बचत भएन भन्ने ऊ कति बचत गरेछ, अस्ति त ऊसहित उसको जहानै भोकै सुते अरे।´

जुन दिन चुरोट जेठेको परिवार भोकै सुतेको थाहा पायो त्यसै दिने जेठेले पनि चुरोट सम्झिरहेको थियो। जेठेका आँसुले चुरोटको साथ खोजी रहेको थियो।

स्वार्थी हो क्यारे जेठे, खुसीमा त सम्झन्छ बिर्सन्छ थाहा छैन तर दु:खमा भने सम्झन्छ। चुरोट पनि जेठेको पीडा थाहा पाउँछ। एकले अर्कोलाई दु:खमा याद गरिरहन्छ। तर, जेठे र चुरोटबीच नचाहेर डिभोर्स भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.