|

कपिलवस्तु : बुद्ध जन्मस्थल लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन (च्यान्टिङ) सुरु भएको छ। लुम्बिनीको पवित्रता र आध्यात्मिकता उजागर गरी शान्ति र भातृत्वको सन्देश फैलाउन पाठ सुरु गरिएको हो ।

लुम्बिनीस्थित पुण्य बगैंचा रहेको मायादेवी मन्दिर छेउको उत्तरतिर बिहीबारदेखि त्रिपिटक बाचन सुरु गरिएको आयोजक समितिका संयोजक भिक्षुमैत्री महास्थवीरले बताए। बिहीबारदेखि सुरु भएको च्यान्टिङ शनिबारसम्म संचालन हुनेछ।

भिक्षुमैत्री महास्थवीरका अनुसार तीनदिने कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ। पहिलो दिन नेपाली भिक्षुले सूत्रपिटकअन्तर्गतको दीर्घनिकायको बह्रमजाल सूत्र वाचन गरेर त्रिपिटक वाचनको सुरु गरेका छन्।

दोस्रो दिन कम्बोडिया, कोरिया र म्यान्मारका भिक्षुले अभिधम्म पिटक वाचनको नेतृत्व गर्नेछन् भने तेस्रो दिन थाई भिक्षुले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्ने कार्यक्रम तय गरिएको छ।

बिहीबार सुरु कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले च्यान्टिङ उद्घाटन गर्दै अन्तर्राष्ट्रियस्तरको यो कार्यले लुम्बिनीको गरिमा र महत्वलाई बढाएको बताए। सम्राट अशोकले लुम्बिनीसँगै कपिलवस्तुको २ स्थानमा अशोक स्तम्भ राखेको ठाँउ पहिचान भइसकेको मुख्यमन्त्री पोख्रेलको भनाइ थियो।

कनक मुनि बुद्धको जन्मस्थल निगालिकोटमा प्रदेश सरकारले कनक मुनी बुद्धको प्रतिमा राख्ने र नवलपरासीको रामग्रामबारे अध्ययन प्रक्रिया अगाडि बढाइएको उनले बताए। 'उक्त स्थानमा प्रदेश सरकारका तर्फबाट बुद्धकालीन सम्पदाहरूको अध्ययन गर्ने संग्रहालय बनाउने योजना छ, यसका लागि अध्ययन प्रक्रिया अघि बढेको पनि छ,' उनले भने।

कार्यक्रममा लाइट अफ बुद्धधर्म फाउन्डेसन इन्टरनेसनल अमेरिकाका अध्यक्ष वाङवो डिसेको नेतृत्वमा १ सय १९ विदेशी भिक्षु लुम्बिनीमा सहभागी जनाएका छन्। म्यानमार, भियतनाम, थाइल्यान्ड, श्रीलंका, मलेसिया, ब्राजिल, जापान र अमेरिकालगायत देशका भिक्षु, गुरुआमा, लामा ,आनी तथा उपासक उपासिकाको सहभागिता रहेको आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिए।

‘२५ मुलुकका पाँच सयभन्दा बढी विदेशी भिक्षु/भिक्षुणी त्रिपिटक च्यान्टिङमा सहभागी हुन आएका छन्,’ लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ आयोजक समिति अध्यक्ष महास्थवीरले भने, ‘त्यत्तिकै संख्यामा नेपाली भिक्षु, गुरुआमा र अनागरिका पनि सहभागी छन्। बौद्ध धर्मग्रन्थ त्रिपिटकको लुम्बिनी उद्यानमा पाठ हुनु नेपालीका लागि गौरव र खुसीको कुरा भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.