|

पर्वत : जिल्लाको फलेवास नगरपालिका-४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालय विद्यार्थी संख्याकै कारण ‘मर्ज’ मा जानै लागेको अवस्था थियो। जिल्लाका केही अगुवाहरूले विद्यालयलाई बचाउनको लागि अभियान नै चलाए।

एक वर्ष अगाडिसम्म विद्यालयको कार्यालय अँध्यारो कुनामा थियो। प्रधानाध्यापक बस्ने कुर्ची नै हेर्दा विद्यालयको अवस्था कति हदसम्म थियो भन्ने प्रस्ट हुन्थ्यो। न त भित्तामा राष्ट्रिय गान टाँसिएको थियो न त विद्यालय व्यवस्थापन समितिको नामावली न त शिक्षकको विवरण नै। विद्यार्थी संख्या पनि उस्तै थियो, फाटफुट।

तर, आज त्यही विद्यालय जिल्लाकै उदाहरणीय बन्दै छ। जिल्लाका केही अभियन्ताले ‘गरे सम्भव छ’ भन्ने नारा बोकेर विद्यालयलाई ब्युँताउने अभियानमा लागे। फलेवास नगरपालिकाले विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई आपसमा गाभेर गाभिएको विद्यालयलाई राम्रो बनाउने अभियान चलाइरहेको थियो।

त्यही बीचमा सामाजिक अभियन्ता राजेन्द्र पहाडीले विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवर र विद्यालयका प्रधानाध्यापक ओमकार पौडेललाई काउकुती लगाइदिने काम गरे। विद्यालय जोगाउन र नमुना बनाउनका लागि गर्न सकिने अभियानका बारेमा जानकारी गराए।

‘हेडसर’ नागरिक सम्बन्धमा दक्ष रहेको कुरा थाहा पाएपछि पहाडीले सामाजिक सञ्जाल फेसबुकबाट विद्यालय सुधारका लागि आर्थिक संकलन अभियान चलाए। ‘ओमकार जी र म एक घण्टा जति केहीलाई फोन गर्‍यौँ, सामाजिक सञ्जालमा पनि सहयोगको अपिल गर्‍यौँ’ पहाडी सम्झिन्छन्, ‘एक घण्टामा नै ५० हजार रुपैयाँ सहयोग संकलन भयो।’

अभियानले राम्रो हुने संकेत मिलेपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक, राजनीति व्यक्तित्व, स्थानीयवासी र पत्रकार सबैले विद्यालयको सम्भावनाका विषयमा खोतले र सहयोग गरे। लगत्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले कम्प्युटर सहयोग गरे। पछि विद्यालय रहेको फलेवास नगरपालिकाले पनि केही कम्प्युटर थप गर्ने प्रतिबद्धता जनाएको छ।

त्यहीँबाट सुरु भएको अभियानअन्तर्गत गत तिहारमा खेलेको देउँसीभैलोबाट विद्यालयले साढे १६ लाख रुपैयाँ संकलन गरेको छ। कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा अहिले विद्यार्थी र शिक्षकको अनुपात मिलेको छैन। विद्यार्थीको संख्याअनुसार दरबन्दी नहुँदा सोही रकमबाट शिक्षक थप गरेर विद्यालयलाई नमुना बनाउने अभियानमा सम्बन्धित सबै लागेका छन्।

अहिले विद्यालयमा झन्डै सयजना विद्यार्थी पुगेका छन्। पातलो बस्ती र जन्मदर न्यून रहेको ठाउँमा ‘मर्ज’ हुन लागेको विद्यालयले सयजना विद्यार्थी पाउनु नै उपलब्धि भएको प्रधानाध्यापक ओमकार पौडेलले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवरले विद्यालयले गति लिएपछि ‘मर्ज’ मा जानुपर्ने अवस्था टरेको जानकारी दिए। विद्यालयलाई गति दिनको लागि आइसिटीमा आधारित आधुनिक प्रविधिसहित ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने बताए। अब तयार पारिने ‘स्मार्ट’ कक्षामा डिजिटल पाठ्यपुस्तकको प्रयोग गर्ने विद्यालयको योजना छ।

बाल कक्षादेखि आठ कक्षासम्म चलिरहेको विद्यालयमा अहिले पाँचजना स्थायी शिक्षकको दरबन्दी रहेको छ। विद्यालय २०३५ सालमा स्थापना भए पनि विद्यार्थी अभावले माथिल्लो तहमा स्तर वृद्धि हुन सकेको छैन। पछिल्लो समय विद्यालयमा भएको परिवर्तन विद्यार्थीको अनुशासन, शिक्षकको मिहिनेत र अभिभावकको लगनशीलताको प्रतिफल भएको व्यवस्थापन समितिको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.