|

काठमाडौं :  प्रेस काउन्सिल नेपालले देशभरबाट प्रकाशित विभिन्‍न पत्रपत्रिकाको मूल्याङ्कन र वर्गीकरण नतिजा सार्वजनिक गरेको छ। 

काउन्सिलले आर्थिक वर्ष २०७४/७५ सालको वर्गीकरणका लागि प्राप्त पत्रपत्रिकाहरूको मूल्याङ्कन र वर्गीकरण नतिजा बिहीबार सार्वजनिक गरेको हो।

काउन्सिलले वर्गीकरण प्रक्रियामा सामेल ९१२ वटा पत्रपत्रिका वर्गीकरण गरी ७६६ वटाको नतिजा सार्वजनिक गरेको हो। काउन्सिलका अनुसार ‘क’ वर्गमा १५७, ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ वटा पत्रिका परेका छन्। 

काउन्सिलका अनुसार ३१ पत्रपत्रिका हुबहुमा परेका छन्। एउटाको प्रकाशन अङ्क नपुगेकाले वर्गीकरणमा समावेश नगरिएको काउन्सिलले जनाएको छ। 

आवश्यक कागजात पेश नगरेका ६३ र जवाफ पेश नगर्ने ५१ सहित ११४ पत्रपत्रिकाको नतिजा स्थगन गरिएको छ। वर्गीकरणमा समावेश ७६६ मध्ये राष्ट्रियस्तर १५६, प्रदेशस्तर १४२ र स्थानीयस्तरमा ४६८ वटा पत्रिका कायम भएका छन्। 

वर्गीकरणमा समावेश दैनिक १४९, अर्धसाप्ताहिक ३, साप्ताहिक ४६५, पाक्षिक १२, मासिक ७०, द्वैमासिक/त्रैमासिक ११ र साहित्यिक/भाषिक ५६ रहेका छन्।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० अनुसार गठित वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड-२०६६ (परिमार्जन २०७५) को आधारमा वर्गीकरण प्रतिवेदन तयार गरी २०७६/६/१४ मा पेश गरेको थियो। उक्त प्रतिवेदनसमेतका आधारमा काउन्सिलले नतिजा सार्वजनिक गरेको छ।

वर्गीकरण नतिजामा चित्त नबुझ्नेले आधार, प्रमाणसहित पुनर्योग/पुनःमूल्याङ्कनका लागि सुरु दस्तुरको २५ प्रतिशत शुल्कसहित १५ दिनभित्र र थप ७ दिनसम्म दोब्बर दस्तुरसहित निवेदन दिन सक्ने व्यवस्था रहेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिएका छन्। 

हेर्नुस् पूरा सूची

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.