चलाखी गरेर जोगिए रिमाल र भट्टराई

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट सामूहिक राजीनामापत्रमा हस्ताक्षर गर्नेको बालुवाटारबाट विदाइ हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा काम गर्ने विभिन्न पदका १३ जनाले सामूहिक राजीनामा दिएका थिए। तर, त्यो राजीनामा पत्रमा केहीले मात्रै हस्ताक्षर गरेका थिए। हस्ताक्षरसहितको राजीनामा बुझाउनेहरू बालुवाटरबाट मंसिर १ गतेदेखि विदा हुने भएका छन्।

ओलीले राजीनामापत्रमा हस्ताक्षर भएकालाई फिर्ता नबोलाउने निर्णय गरेको बालुवाटार स्रोतले बतायो।

सामूहिक राजीनामा पत्रमा हस्ताक्षर भएकाहरू प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, घनश्याम भट्टराई, कृष्ण पौडेल र उदय पोखरेल हुन्। उनीहरूलाई प्रधानमन्त्रीले सचिवालयमा फिर्ता नबोलाउने निर्णय गरेको सामूहिक राजीनामापत्रमा नाम भएका तर हस्ताक्षर नगरेका एक सदस्यले बताए।

ती सदस्यका अनुसार प्रधानमन्त्रीले केही दिन पहिले सचिवालय सदस्यमध्ये १३ जनालाई बोलाएर सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए। जसमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलगायत थिए।

सदस्यले थाहा खबरसँग कुरा गर्दै भने, 'राजीनामा पत्रमा हस्ताक्षर गर्नेहरू विदा भइसक्नुभएको छ। उक्त पत्रमा हस्ताक्षर नभएका बाँकीलाई प्रधानमन्त्रीले बोलाउनुहुन्छ होला।'

किन हटेनन् रिमाल

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका कारण प्रधानमन्त्री ओलीको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता रुष्ट थिए। जसका कारण रिमाललाई हटाएर प्रमुख राजनीतिक सल्लाहकारमा अर्को व्यक्ति ल्याउने तयारी थालेको रूपमा प्रधानमन्त्रीको सचिवालय पुनर्गठनलाई लिइएको थियो।

तर, प्रधानमन्त्रीले सामूहिक राजीनामा बुझाउन भनेपनि रिमालले भने हस्ताक्षर नगरीकनै राजीनामापत्र बुझाएका बालुवाटार स्रोतले बताएको छ। उनले सचिवालयका अन्य सदस्यलाई भने हस्ताक्षर गरेर राजीनामा गराएका थिए।

प्रधानमन्त्री पछिल्लो समय सल्लाहकारका कारण विवादमा परिरहने क्रम निरन्तर भएपछि सचिवालय परिवर्तन गर्न बाध्य भएका थिए। उनी सिंगापुरमा उपचारमा गएपछि तथा काठमाडौंकै ग्राण्डी अस्पतालमा उपचारका लागि जाँदासमेत सल्लाहकारकै कारण प्रधानमन्त्रीको सार्वजनिक रूपमा चर्को आलोचना भएको थियो।

मुख्यतः पछिल्लो समय डा. कुन्दन अर्याल र विष्णु रिमालको भूमिकालाई लिएर प्रधानमन्त्रीकै सार्वजनिक आलोचना भएको थियो। त्यसपछि प्रधानमन्त्रीले सचिवालयमा विवादितलाई बाहिर पठाउने र नयाँ नियुक्ति गर्ने तयारी थालेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.