|

म्याग्दी : म्याग्दीमा उत्पादन हुने मसलेदार जडीबुटी टिम्मुर यस वर्ष असिनाका कारण नष्ट भएपछि बिउको समेत अनिकाल लागेको छ।

गुणस्तरीय टिम्मुरको पकेट क्षेत्र मानिएको म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीमा यस वर्ष टिम्मुर उत्पादनमा विगतका वर्षहरुको तुलनामा ९० प्रतिशतले कमी आएको छ।

बोटमा पाकेर टिप्ने बेलामा असोज तेस्रो साता परेको असिनाले झारेपछि टिम्मुर गाउँमा नै बिउको समेत अनिकाल भएको भूमेसिद्ध टिम्मुर सञ्‍जाल तोरीपानीका अध्यक्ष सागर बानियाँले बताए।

टिम्मुरबाटै गाउँले कमाउँथ्यो ५० लाख

अध्यक्ष बानियाँका अनुसार २०७२ सालमा ७१ मुरी टिम्मुर उत्पादन भएको तोरीपानीमा गतवर्ष ५० मुरीको हाराहारीमा बाहिर निर्यात भएको थियो। यस वर्ष बिउसमेत नरहेकोले बाहिरबाट बिउ ल्याउनुपर्ने अवस्था भएको छ।

आधा दशक अगाडिसम्म कौडीको मूल्यमा बिक्री हुने टिम्मुरको स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि तोरीपानीका कृषक टिम्मुर खेतीमा आकर्षित भएका थिए। प्रतिपाथी १ हजार ८ सयदेखि २ हजार ३ सयसम्ममा बिक्री हुने टिम्मुर बेचेर गाउँमा वार्षिक ५० लाखभन्दा बढी भित्रिने गरेकोमा यस वर्ष भने यहाँका किसानले टिम्मुर बिक्रीबाट हुने आम्दानी गुमाएका छन्।

१ सय ५० घर सक्रिय

खेतबारी, सामुदायिक वनमा फलेको टिम्मुरलाई घरायसी प्रयोगका साथै सदरमुकाम बेनीमा बिक्री गरेर कमाई हुन थालेपछि दुईचार जनाबाट सुरू भएको टिम्मुर खेतीमा अहिले गाउँका १ सय ५० घरधुरी सक्रिय रहेको अध्यक्ष बानियाँले बताए।

बिक्रीका लागि कुनै समस्या छैन, ग्राहकहरु टिम्मुर खोज्दै घरदैलोमै आउँछन्। विदेशबाट समेत माग आउन थालेपछि प्रमुख आम्दानीको स्रोत बनाएका छौं, बानियाँले भने।

तोरीपानीलाई नेपालमा धेरै टिम्बुर उत्पादन गर्ने गाउँ बनाउने अभियानसमेत सुरु भएको बानियाँले बताए। कमजोर आर्थिक अवस्था भएकालाई अनुदानमा विरुवा वितरण गरिएको उनको भनाइ छ।

गाउँमा उत्पादन भएको टिम्मुर मुस्ताङ, पोखरा, काठमाडौंलगायत देशका विभिन्न जिल्लाका साथै यूरोपमा समेत पुग्ने गरेको छ। गाउँमा १९ वटा समुह गठन गरी टिम्मुर खेती विस्तार भइरहेको छ। सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले संकलन गरेर विक्री गर्ने गरेका छन्।

एउटै बोटबाट ३० हजार

दलित र एकल महिलालाई सामुदायिक वनमा फलेका टिम्मुर टिप्न छुट दिइएको उनले बताए। गाउँमा गुमानसिंह बानियाँ र सागर बानियाँले नर्सरीसमेत स्थापना गरी वार्षिक ५ हजारको हाराहारीमा विरूवासमेत बिक्री गर्ने गरेका छन्।

‘विरुवा खरिद गर्न नर्सरीमा आउँछन्। टिम्मुरलाई सुनको अण्डा जस्तै मानेर फलाइरहेका थियौं, स्थानीय  गुमानसिंह बानियाँले भने, ‘तर यस वर्ष असिनाले सखाप पारिदियो। किसानले टिम्मुरको एउटै बोटबाट उत्पादन भएको १८ किलो टिम्मुर बेचेर रु ३० हजार एउटै बोटबाट कमाएका उनले जानकारी दिए।

रोजगारको सिलसिलामा बाहिर भएका र लामो समयदेखि बाँझो खेतबारीलाई समेत भाडामा लिएर युवाहरू टिम्मुर खेतीमा सक्रिय हुन थालेका छन्। एउटा बोटबाट ४ हजारदेखि  ३० हजारसम्म आम्दानी हुन थालेपछि अन्य खेतीबालीलाई समेत छोडेर प्राविधिक तालिम लिई यहाँका कृषकहरु टिम्मुर खेतीमा लागेका छन्।

टिम्मुरका विज्ञ एवं म्याग्दीका वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार म्याग्दी जिल्लामा टिम्मुरको सम्भावना अत्यधिक रहेको छ। त्यसमा पनि मध्यम्याग्दीको भूगोल टिम्मुर उत्पादनका लागि उपयुक्त रहेको छ।

सापकोटाले  बेनी नगरपालिका  र पाँचवटा गाउँपालिकाअन्तर्गत पर्ने साबिकको २० वटा गाविसमा टिम्मुर खेतीको सम्भावना रहेको बताए। ‘युरोप अमेरिकालगायत धेरै देशमा म्याग्दीको टिम्मुर पुगेको छ। अन्‍तर्राष्‍ट्रिय बजारमा टिम्मुरको माग धेरै छ, उनले भने।

जिल्लाभर वार्षिक करिब ३ हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको सापकोटाको भनाइ छ।

गाउँबाट बिउ नै मासियो

म्याग्दीको तोरीपानी भनेपछि देशैभर टिम्मुर र टिम्मुरका विरुवा पाइने ठाउँ भनेर चिनिन्थ्यो। त्यत्तिकै मात्रामा जिल्लाका विभिन्न गाउँहरुमा बिक्री हुने गरेकोमा यस वर्ष भने असिनाले क्षति गराएका कारण आफूले नै लगाउने विरुवा उत्पादन गर्नका लागिसमेत बिउ नै नरहेको अध्यक्ष बानियाँले बताए।

वाणिज्य मन्त्रालय ध्यान खिचियो

म्याग्दीको तोरीपानीमा उत्पादन भएको टिम्मुरले वाणिज्य मन्त्रालयअन्‍तर्गत रहेको व्‍यापार तथा निकासी प्रवर्द्धद्न केन्द्रको समेत ध्यान खिचेको छ। गतवर्ष तोरीपानीमा टिम्मुर खेतीको सम्भावनाका बारेमा अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियो।

क्षतिपूर्तिको माग 

खेतवारीमा अन्न लगाउन छोडी टिम्मुर खेती गरेका तोरीपानीका कृषकहरुले आम्दानीको प्रमख स्रोत नै असिनाले नष्ट गरिदिएपछि सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गरेका छन्।

गाउँका प्रायः सबै कृषकले टिम्मुर खेतीलाई प्राथमिकता दिई धान गहुँ फल्ने खेतका गह्रामा समेत टिम्मुर खेती गरे पनि यस वर्ष भित्र्याउने समयमा असिनाले सखाप पारिदिएपछि सरकारसँग क्षति पूर्तिको माग गरेका हुन्।

‘हामीले निकै दुःख गरेर सम्बन्धित निकायको सल्लाहअनुसार टिम्मुर खेती गर्‍यौँ, फल्न पनि राम्रै फलेको थियो, अध्यक्ष बानियाँले भने, ‘तर,प्राकृतिक प्रकोप आइपर्यो,हामी उचित क्षतिपूर्तिको पर्खाइमा छौं।

चिन्नेलाई श्रीखण्ड,नचिन्नेलाई खुर्पाको बिँड

भनिन्छ ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड, म्याग्दीको टिम्मुरले पनि यस्तै नियति भोगिरहेको छ। कतै अन्नबालीभन्दा दश गुणाबढी आम्दानी हुने माध्यम मानेर धान फल्ने खेतमा समेत काँडा भएको टिम्मुर खेती गरेर प्रशस्त आर्थिक लाभ लिइरहेका बेला कतै भने आफैँ उम्रेर फलेको टिम्मुरका बोटलाई काटेर वार लगाइने गरेको छ।

बेनी नगरपालिका–२ गौश्वराका एक कृषकले टिम्मुरको बोट काटेर खेतवारीमा पशुचौपायालाई प्रवेश गर्न रोक्ने बार लगाइरहेका थिए। उनले आफ्नो बारीमा रहेको टिम्बुरको रूखमा काँडा हु्ने भएकाले त्यसले खेतवारीमा लगाएको बाली खानबाट रोक्न सजिलो हुने गरेको बताए।

गौश्वाराको खेतबारी र वनजंगलमा फलेको टिम्मुरले अहिलेसम्म बजार पाएको छैन। टिम्बुर खेतीमा प्रचुर सम्भावना रहेको क्षेत्र भए पनि वर्षेनी फल्ने टिम्बुरलाई घरायसी बाहेक बजार पुग्न सकेको छैन।

खेतवारी, जंगलमा फलेको टिम्बुर टिप्ने र बजारसम्म लैजाने प्राविधिक ज्ञानको अभावमा ज्यामरुककोटको गौश्वरा, तोराखेत लगायतका ग्रामीणबस्तीमा रहेका बोटका साथै विरूवा संरक्षण हुन नसकेको गौश्वराका युवा ध्रुव घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.