तीन अभियोगमा चलेको थियो मुद्दा

|

रौतहट : जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

एक साता लामो बहस टुंगिएपछि शुक्रबार जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनलाई गौर कारागारमा राख्न पनि आदेशमा लेखिएको छ।

विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेकोसहित तीनवटा मुद्दामा भएको थुनछेक बहसपछि अदालतबाट यस्तो आदेश आएको हो।

आलम अब जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च अदालत जान सक्नेछन्। 

पुर्पक्षका लागि अदालतले थुनामा पठाएसँगै आलमको सांसद पद स्वतः निलम्बनमा परेको छ।

एक हप्तादेखि जारी बहस शुक्रबार दिउँसो सकिएसँगै जिल्ला न्यायाधीश दीपक ढकालको इजलासबाट आदेश जारी गर्नुअघि अदालत आसपास र गौर क्षेत्रमा सुरक्षा अत्यन्त कडा पारिएको थियो।

आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव बिथोल्न जिल्लाकै राजपुरमा बम बनाउने क्रममा विस्फोटमा परेर घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोग लागेको छ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित १० जनाविरुद्ध उक्त घटनामा अभियुक्त बनाएर जिल्ला अदालत रौतहटमा तीनवटा फरक अभियोग पत्र दर्ता गराएको थियो।

आलमको पक्षमा वकालतनामा लेखाएमा २९ जनामध्ये २५ जना वकिलले बहस गरेका थिए। पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठसहितले उनको पक्षमा बहस गरेका थिए। पीडितको पक्षबाट जिल्ला सरकारी वकिल कार्यालयका वकिलसहित पूर्वमहान्यायाधीवक्ता डा. युवराज संग्रौलालगायतले बहस गरेका थिए।

सरकारी वकिलले आलमसहित १० जनाविरुद्ध विस्फोटक पदार्थको प्रयोग तथा उत्पादन, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोगमा आजीवन काराबासको सजाय मागदाबी गरेको थियो। अन्य एक अभियुक्तलाई मतियारको रूपमा सजाय मागिएको थियो।

पढ्नुस् आलमविरुद्धको आदेशः

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.