संविधानसभामै आक्रमणको प्रयास, आफ्नै देशमा भिसा मागियो

|

दमक : संविधान जारी भएको ३ वर्ष नाघे पनि संविधान लेखन कार्यमा मियो बनेका तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सकसपूर्ण आधा दशकको शनिबार मिहिन समीक्षा गरे।

झापाको दमकमा भएको कार्यक्रममा सकसपूर्ण ‘फ्ल्यास ब्याक’ मा पुगेर केही रोचक विषय पनि सुनाए। युथ नेटवर्कले आयोजना गरेको विचार श्रृंखला 'वैशीदुडुप'को ९ औं श्रृंखलामा प्रस्तुत भएका उनले दलहरूलाई सममतिमा ल्याउन गरेको प्रयास, आफैँले भोगेका केही रोचक घट्ना पनि सुनाए। ती दिन स्मरण गर्दै नेम्वाङ बेला रौषपूर्ण भएर हाँसो पोख्ते भने बेलाबेला गम्भीर भएर गाला मुसार्थे। संविधान निर्माणका सकस विषयमा भएको विचार प्रस्तुति तथा अन्तर्संवाद कार्यक्रममा उनले सकसपूर्ण दिनका यादहरू सुनाएका हुन्।

राउटेका राजाले के भने?

संविधान लेखन कार्य चल्दै गर्दा विभिन्न दल, समूह तथा वर्गका मागहरू उत्कर्षमा थिए। विभिन्न शैली र स्वरूपमा सबैले आफ्ना मागहरू संविधानमा समावेश गर्न चर्काचर्की गरिरहेका थिए। त्यहीबेला एक दिन राउटेहरूका राजा आफ्ना प्रजासहित आफ्नै कार्यकक्षमा आएको अनुभव पनि उनले सुनाए।

‘मेरै कार्यकक्षमा राउटेका राजा नसिलाएको आफ्नै ढंगको पोशाक लगाएर आउनु भयो। उहाँले पनि आफ्ना माग सुनाउनु भयो। उहाँका दुई ओटा माग थिए, वन जंगलमा विनारोकटोक घुम्न पाउनु पर्ने र जंगलका रूख काटेर ठेकी बनाउन पाउनुपर्ने। म उहाँहरूको मागबाट गम्भीर बनेँ। सम्पूर्ण आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम, पिछडा वर्ग, सीमान्तकृत समुदायको माग कसरी संवोधन गर्ने भनेर दलहरू बीचमा सघन छलफल गरियो। त्यसैले त समावेशीताका दृष्टिकोणबाट विश्वमै अनुपम मानिएको संविधान जारी गर्न हामी सफल भयौँ।’

आफ्नै देशमा साना नानीहरूले भिसा मागे

संविधान लेखन प्रकृया चलिरहँदा पूर्वी नेपालमा एउटा समूहले छुट्टै देशको मागसहित आन्दोलन गरिरहेको थियो। त्यही आन्दोलनमा आफू पनि परेको एउटा दिन उनी सुनाउँदा मुसुमुसु हाँसिरहेका थिए।

उनले ती दिनको स्मरण गरे, ‘टाढाको के कुरा होइन, यहीँ पूर्वी भागमा भोगेको एउटा घटना सुनाउँछु। म यहाँ आउँदै गर्दा केही १२/१३ वर्षका भाइबहिनीहरूले मसँग भिसा मागे। पछि अरूलाई खबर पनि पठाए छन्, सुवाश नेम्वाङले टेर्दैन र धेरै फूर्ती गर्छ भने तमोर कटाइ दिउँला भनेर। हामीले यी दिन पनि पार गरेर आएका हौँ।’

नाम र झण्डा फेर्ने कुरा

संविधान लेखन गर्दैगर्दा नेपालको नाम र झण्डा नै फेर्ने पनि कुरा आएको थियो। ती माग कसरी संविधानसभामा पुगे त? उनले सुनाए ती फरक प्रकारका मागबारे पनि।

‘माग केसम्म उठेन भन्नुस् न! यहाँ सुनाउँदा धेरै बेर लाग्छ तर केही उदाहरण सुनाउँ है। नेपाल नयाँ युगमा पुगिसकेका बेला केको यो पुरानो नाम नेपाल, सूर्यवंशी र चन्द्रवंशी राजाको पहिचान झल्काउने केको यो तीनकुने झण्डा। यी सबै कुरा फेरौँ भन्ने कुरा पनि आयो। तर, हामीले सहमति कायम गर्‍यौँ। नेपाली झण्डाको चन्द्रसूर्य आकाशमा रहेका चन्द्रसूर्यको प्रतीक हो। आकाशमा चन्द्रसूर्य रहेसम्म नेपालको अस्तित्व रहन्छ भनेर हामीले बुझायौं, व्याख्या गर्‍यौँ। अहिले हामी यहि नेपालमा त्यहि तीनकुने झण्डा फहराइरहेका छौं’ उनले भने।

संविधानको नाम के राख्ने भन्ने सम्बन्धमा पनि ३५ ओटा नाम छलफलमा उठेको उनले सुनाए। कुन मितिलाई राष्ट्रिय मान्यता दिने भन्ने विवाद् रहेकाले संविधान जारी भएको साल पनि संविधानमा उल्लेख नगरी ‘नेपालको संविधान’ मात्र उल्लेख गरिएको उनको व्याख्या थियो। कुनै पनि साल–सम्वत् नलेखिएका कारण संविधानले नेपालमा प्रचलनमा रहेका सबै साल–सम्वत्लाई स्वीकारको उनको भनाइ थियो।

संविधानसभामै आक्रमणको प्रयास

संविधान लेखन प्रकृया र चरणको अनुभव सुनाउँदै गर्दा उनले केही तीता अनुभव पनि सुनाए। संविधान लेखन कति सकसपूर्ण थियो भन्ने कुरा केही रोचक घटना अहिले पनि याद छ भन्दै उनले सुनाए अनुभव।

‘म सदन भित्र आफ्नै कुर्सीमा थिएँ, एकजना मित्र एउटा मफलर हल्लाउँदै आए। ती को मित्र थिए कुन्नी अनुहार याद छ, तर नाम चाँहि भुलेँ’ यति भन्न साथ थोरै मुस्कुराएका नेम्वाङलाई जित्नेगरि करिब २ सय जनाले भरिएको हलभित्र हाँसो गुन्जियो।

उनले थपे– ‘ती मित्र मार्सल उभिएको घेरा पनि नाघेर म भए ठाउँसम्म आउनुभयो, छेउमा एकजना मार्सल रहेछन्, उनले त्यहाँबाट टिपेर ती मित्रलाई फालिदिए। केही अरू साथीहरूले त भनेका थिए कि मफलरले घाँटीमा बेरेर तानेर (घाँटीमा तानेर भुइँमा पछारेको संकेतसहित) के गरिन्छ रे नि त्यस्तै गर्न खोजेको थियो भने। तर, मैले त्यसलाई त्यसरी बुझिनँ। मैले ती मित्र त मलाई खादा लगाइदिन आउनु भएको रहेछ, मार्सले नबुझेर हुत्याई दिएछन् भनेर कुरा बुझाइदिएँ।’ फेरि हलभित्र हाँसोको फोहरा छट्यो।

संविधान सहमितको दस्तावेज

संविधानसभाबाट जारी संविधानमा सबैको जीत समेटिएको उनको तर्क थियो। उनले भने–‘यहाँ सबैको भावना, विचार र माग समेटिएको छ। सबैको जीत समेटिएको छ। सबैले आ-आफ्नो ठाउँबाट सम्झौता गरेका छन्। व्यक्तिगत कुरा गर्ने हो भने म पनि सयमा सय सन्तुष्ट छैन। तर, सन्तुष्ट छैन भन्दैमा मान्दिन भन्ने त कुरा रहँदैन नि! यो सहमति र सम्झौताको पनि दस्तावेज हो। कांग्रेसले संसदीय मोडेलमा सम्झौता गर्‍यो, तत्कालीन एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डाबाट पछि हट्यो, माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा छोड्न सहमत भयो, राजा चाहिन्छ भन्नेहरूले पनि आफ्नो कुरा राखे र संविधानमा हस्ताक्षर गरे। त्यसैले संविधान जारी हुने सबैभन्दा जनमूखी व्यवस्थाबाट संविधान जारी भएको छ। यसलाई अब बलियो बनाएर लौजाने हाम्रो काम हो।’

संविधान कार्यान्वयनका चुनौती सुनाउँदै गर्दा उनले एउटा रोचक र कडा शब्द प्रयोग गरे। उनले भने, ‘संविधानले त अधिकार र दायित्व दिने हो नि बुद्धि, क्षमता र विवेक त दिँदैन। त्यसैले यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरा हाम्रो अर्थात् नेताहरूको विवेक र क्षमतामा भर पर्छ।’

संशोधन चाहनेलाई सुझाव

९० प्रतिशत बढी सदस्यको हस्ताक्षरमा संविधान जारी भएका उदहारण संसारमा ज्यादै कम भएको उनको भनाइ छ। तर, जसले संविधानमा हस्ताक्ष्र गरेनन् संविधान जारी भए पछिका प्रकृयामा सहभागी हुँदै उनीहरू पनि संविधान कार्यान्वयनमा सहभागी भएको उनले बताए।

उनले थपे, ‘तर यो त कानूनी कुरा भयो, म यति मात्र भन्ने पक्षमा छैन। हो, केही साथीहरूको असन्तुष्टि छन्। असन्तुष्टि हुनु नै संविधान नमानेको भन्ने अर्थमा लिनु हुँदैन। तर, उहाँहरूको असन्तुष्टिलाई पनि संवोधन चाहीँ गर्नु पर्छ।’

केहीले संविधानप्रतिको असुन्तुष्टि संवैधानिक माध्यमबाट व्यक्त गरिरहेको र केहीले असंवैधानिक माध्यमबाट व्यक्त गरिरहेको उनको टिप्पणी थियो। संविधानलाई नै संशोधन गर्ने हो भने, जनताले नै बाटो र व्यवस्था राखिएको दिएको नेम्वाङको भनाइ थियो। संशोधनका लागि जनताको आशीर्वाद लिन जरुरी रहेको भन्दै त्यही बाटो र व्यवस्थाको उपयोग गर्न उनले सुझाव पनि दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.