|

इलाम : इलामको २ स्थानमा भएको दुर्घटनामा सातजना घाइते भएका छन्। ताप्लेजुङबाट सुनसरीतर्फ आउँदै गरेको मोटरसाइकल ब्रेकफेल भई छानामाथि चढ्दा दुईजना र रोङ गाउँपालिकामा बस अनियन्त्रित भई पल्टदा पाँचजना घाइते भएको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए।

शनिबार बिहान करिव १० बजेको समयमा मे.७ प १८८९ नम्बरको मोटरसाइकल इलाम नगरपालिका–१ नेपालटारको मेची राजमार्गको घुमाउरो सडकमा ब्रेकफेल भई स्थानिय टोमबहादुर थापाको टिनको छानामाथि चढेको थियो।

मोटरसाइकलमा सवार इलाम फाकफोकथुम गाउँपालिका-७ बस्ने २८ वर्षीय पहलमान मगर र पछाडी सवार सुनसरी वराह नगरपालिका–८ बस्ने २६ वर्षीय इन्द्र बहादुर बस्नेत घाइते भएका छन्। उनीहरू दुवैको इलाम अस्पतालमा उपचार भएको छ। 

त्यसैगरी, अन्दाजी साढे २ बजेको समयमा रोङ गाउँपालिका–३ अर्याल चोकस्थित मेची राजमार्गमा श्रीअन्तुबाट मोरङतर्फ जाँदै गरेको को. १ ख ५३३८ नम्बरको बस अनियन्त्रित भई सडकबाट १५/२० मिटर तल खस्दा पाँचजना घाइते भएका छन्। घाइतेहरू मोरङ उर्लावारीका दलबहादुर विक, सन्तकुमार लिम्बु, निर्मल बराल, सुरज लिम्बु र सुकराज लिम्बु रहेका छन्। उनीहरू सबैको झापास्थित विएन्डसी अस्पतालमा उपचार भइरहेको छ।

बसमा २५ जना सवारी थिए। घटनापछि चालक फरार रहेका छन्। अन्य घाइतेहरू सामान्य भएकाले अस्पताल नगइ घरतर्फ लागेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.