जनताको निकास र विकासका लागि मेरो उम्मेदवारी

|

बागलुङको निसीखोला गाउँपालिका–४, बोहरागाउँका खिमविक्रम शाही आगामी मंसिर १४ गते हुने उप–निर्वाचनका लागि बागलुङ क्षेत्र नं. २ (ख) मा उम्मेदवार बनेका छन्।

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य रहेका शाही सत्तामा रहेको नेकपासँगको तालमेलमा उम्मेदवार बनेका हुन्। विद्यार्थी आन्दोलन र खेलकुदमा सक्रिय शाहीले प्रभा माध्यामिक विद्यालय बोहरागाउँमा प्रारम्भिक शिक्षा हासिल गरी उत्तरगंगा मावि बुर्तिवाङबाट २०४६ सालमा मावि तह पुरा गरे। शाहीको उच्च शिक्षा भने अधुरै रह्यो।

२०४० सालमा अखिल नेपाल बाल संगठनमा संगठित भई राजनीतिक यात्रा सुरु गरेका उनले विद्यार्थी कालमा अखिल (छैठौं)मा आबद्ध भई विद्यार्थी आन्दोलनमा सहभागी भए। २०४७ सालदेखि अखिल नेपाल युवक संघको जिल्ला समिति बागलुङमा रहेर काम गर्दै जिल्ला समितिको उपाध्यक्षसमेत बने।

२०५४ सालदेखि अस्थायी शिक्षकका रुपमा प्रभा माध्यामिक विद्यालयमा शिक्षण पेसा सुरु गरेदेखि उनी पेसागत आन्दोलनमा पनि सक्रिय रहेको उनका सहकर्मीहरु बताउँछन्।

२०६५ सालदेखि राष्ट्रिय जनमोर्चाको जिल्ला समितिमा रहेर काम गर्दै आएका शाही हाल सचिवालय सदस्य रहेका छन्। लामो समय राजनीतिमा बिताएका शाही अघिल्लो निर्वाचनमा उनकै पार्टीबाट विजयी भएका टेकबहादुर घर्तीको मृत्युपछि खाली रहेको बागलुङ क्षेत्र नं २ (ख)मा उम्मेदवार बनेका छन्।

प्रस्तुत छ आफ्नै पार्टीको विरासत जोगाउनका लागि नेकपासँग तालमेल गरेर चुनावी मैदानमा रहेका शाहीसँग थाहाखका लागि सहकर्मी तारानाथ आचार्यले गरेको कुराकानी :

उपनिर्वाचनमा तपाईंको उम्मेदवारी के–का लागि हो?

विषेशतः यो क्षेत्रको विकास र निकासका लागि मेरो उम्मेदवारी हो। आधारभूत तहको विकाससमेत नभएको हाम्रो क्षेत्रमा धेरै कामहरु गर्नुपर्ने छन्। यहाँ जनताले सधैं दुःख पाएका छन्।

हाम्रै पार्टीबाट सांसद बन्नुभएका टेकबहादुरजीले धेरै सपना देख्नुभएको थियो। सपना पूरा गर्नका लागि उहाँले सुरुवात गरेका कैयौं कामहरु अधुरा छन्। ती काम पूरा गर्नुछ। हाम्रो पार्टी, तालमेलमा रहेको नेकपा र मेरो राजनीतिक जीवनका प्रतिबद्धताहरु पनि पूरा गर्नुछ।

गणतन्त्र र धर्मनिरपेक्षता जस्ता संविधानका सकारात्मक उपलब्धिको रक्षा गर्ने, आर्थिक समृद्धि र राजनीतिक स्थायित्व कायम गर्ने, राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई सुरक्षित गर्ने कामका लागि पनि मेरो उम्मेदवारी हो। यो क्षेत्रको आर्थिक र सामाजिक विकास गर्नु हाम्रो दायित्व हो। यो दायित्व बोध गरेर पूरा गर्नुछ।

जनताको जनजीविकासँग जोडिएका पक्षहरुलाई सरलीकृत गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक विकास र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनका लागि म जनताको साथ खोजिरहेको छु। पछाडि पारिएको समुदाय, वर्ग र जातजातिको अधिकार, भाषा, संस्कृतिको संरक्षण र विकास गर्दै क्षेत्रीय, जातीय वा राष्ट्रिय एकतालाई मजवुत पार्ने मेरो दृढ संकल्प छ।

तपाईंका चुनावी एजेण्डा के छन्?

मूलतः यो क्षेत्रमा रहेका राष्ट्रिय गौरवका योजना सम्पन्न गर्नका लागि मैले दबाब सिर्जना गर्ने भनेको छु। मध्यपहाडी लोकमार्ग र ढोरपाटन–सालझण्डी लोकमार्गमा भइरहेको ढिलासुस्तीको विषयमा कुरा उठाउँछु।

यी आयोजना बने भने हाम्रो क्षेत्रमा अरू विकासका कामले गति पाउँछन्। नेपाल सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्नुछ। यहाँ अझै पनि विकासका समान्य पूर्वाधारहरूसमेत बनेका छैनन्। जस्तै हाम्रो क्षेत्रका कैयौं गाउँमा बिजुली छैन, शिक्षामा कयौं विकृति छन्। पहुँचनै कम छ। त्यसलाई सुधार गर्ने मेरो योजना छ।

ढोरपाटन शिकार आरक्ष जस्तो क्षेत्र हामीसँग छ। त्यसको विकास र उपयोग गर्नुछ। सामाजिक विकास, खेलकुद तथा युवाहरूलाई रोजगारी सिर्जनामार्फत आय–आर्जनसँग जोड्ने मेरो योजना छ।

तपाईं संघीयताविरोधी पार्टीको नेता, संघीयताको पक्षधर नेकपासँगको तालमेल। चुनावीसभामा के बोल्नुहुन्छ? विरोध कि समर्थन?

–त्यसो होइन। पार्टीका आफ्नै नारा हुन्छन्। आ–आफ्नै नीति हुन्छन्। सिद्धान्त पनि आफ्नै हुन्छ। हामीले चुनावमा तालमेल गर्दा साझा एजेण्डा बनाएका छौं। साझा नारा हुन्छ। चुनाव अवधिभर हामीले संयुक्तसभा गर्छौं।

हाम्रा आफ्ना एजेण्डा र नाराहरूलाई थाँती राखेर साझा भाषा बोल्छौं। हाम्रो पार्टी संघीयताविरुद्ध छ र रहन्छ, तर यो मुद्धा निर्वाचनको अवधिभरलाई थाँती राखिएको छ। पार्टीका आफ्ना एजेण्डा स्थापित गराउनका लागि त अरू फोरमहरु पनि छन्। अहिलेलाई यी सबै कुरा साझा भएर जान्छन्। मतान्तर भएका कुरा सबै थाँती रहन्छन्।

चुनाव हार्ने त्रासले तालमेल गर्नुभएको हो ?

हामी हिजो पनि सँगै थियौँ र उपनिर्वाचनको समयमा पनि सँगै छौँ। हार्ने त्रासभन्दा पनि उहाँहरुलाई हाम्रो दलले धेरै ठाउँमा सघाएको छ र हामीलाई उहाँहरूले। देशभर नै सँगै जाऊँ भन्ने भएर तालमेल भएको हो। हामी सँगसँगै जाऊँ भन्ने हो। हार्ने जित्नेभन्दा पनि जनताका साझा समस्या समाधानमा सँगै जाँदा जनता खुसी हुन्छन् र केही गर्न सकिन्छ भन्ने हो।

तपाईं चुनाव लड्दै गरेको क्षेत्रका समस्या के हुन्?

विशेषत: हाम्रो पूर्व-सांसदले यो क्षेत्रको समस्याहरूको पहिचान गरेर तीनको समाधान थाल्नुभएको थियो। देशकै पर्यटकीय क्षेत्र जुन हाम्रो क्षेत्रमा रहेका तीन पालिकाको साझा क्षेत्रको रुपमा रहेको छ। ढोरपाटन शिकार आरक्ष।

जहाँ अहिलेसम्म पनि बिजुली छैन। सडक सहज छैन। उत्तरगंगामा बन्ने भनेर डिपिआरसमेत भइसकेको उत्तरगंगा जलाशययुक्त आयोजना बागलुङमा बन्ने वा रुकुममा बन्ने भन्नेमा जिकज्याक छ।

शिकार आरक्षमा राखिएको नेपाली सेनाले त्यहाँका सर्वसाधारणलाई जमिन उपायोगमा अबरोध गरिरहेको छ। नीतिगत रूपमा भएको व्यवस्थालाई कार्यान्वयन गर्दा त्यहाँका जनताले दुःख पाएका छन्। शिक्षामा सुधार गर्नुपर्ने छ। स्वास्थ्यमा कैयौं समस्या छन्। अस्पताल बनाउनुपर्ने छ। पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रचारप्रसार गर्नुपर्ने छ। विद्युतको अथाह सम्भावना भएर पनि निकाल्नुपर्ने छ।

तपाईंको प्रतिस्‍पर्धी दलका उम्मेदवार र तपाईमा के फरक छ?

पहिलो कुरा त नेपालमा नेपाली कांग्रेसले कैयौं वर्ष सत्ता चलायो। सत्तामा रहँदा कांग्रेसले कहिल्यै पनि जनताका पीर मर्का बुझेन। जनताको मतको कदर गर्न सकेन। उसले सत्तामा रहेर काम गर्दा जनताले कहिल्‍यै पनि केही पनि पाएनन्।

न त विकासले गति लियो न त सुशासन नै कायम राख्न सक्यो। जो जहाँ थियो त्यही अवस्थामा रहयो। अहिलेको दुईतिहाइको सरकारले थालेका केही कामको कुरा गरौं। जुन सरकारमा रहेको दलसँग हामी तालमेल गरेका छौं भने हाम्रो पार्टीको यो सरकारलाई समर्थन रहेको छ। यो सरकारले केही कामहरू गरेको छ। परिणाम आउन बाँकी छ, यद्धपि सुरुवात भएका छन्।

जनताका पक्षमा भएका काम र सत्तामा रहेको दल हामीलाई भएकाले प्रतिस्‍पर्धी र मेरो बीचमा अन्तर यसैमा पनि छ। व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रूपमा को लोकप्रिय र जनताको प्रिय छ भन्ने हो। मैले घरगाउँमै बसेर गरेको जनसेवा अर्को मेरो फरक पाटो हो। मैले यही क्षेत्रमा बसेर यहाँका जनताको सुखदुःखमा साथ दिएको छु, सँगै उकाली–ओराली गरेको छु।

बागी र असन्तुष्ट पक्षलाई कसरी मिलाउनुहुन्छ?

विचार गर्नुस् त। हाम्रो सानो परिवारमा त विमतिहरू हुन्छन् भने हामी त पार्टीका कुरा गर्दैछौं। अझै तालमेल गरेर दुई पार्टी हुँदा विमति नहुने भन्ने कुरै भएन। पार्टीभित्र देखिएका र तालमेलामा देखिएका विमतिहरूलाई हामी विस्तारै समाधान गर्दै जाने छौं।

विमतिहरू भए पनि जनताले मत हामीलाई दिनुहुन्छ ढुक्क हुनुहोस्। अर्को कुरा आगामी मंसिर १३ गतेसम्म हामीभित्रका सबै विमति समाप्त हुनेछन् र हामी एकढिक्का भएर चुनावमा होमिने छौं।

जहाँसम्म बागीको कुरा छ। प्रक्रियागत हिसाबले शेरमानजीले उम्मेदवारी फिर्ता लिन नपाएको भएपछि पत्रकार सम्मेलनमार्फत उहाँले उम्मेदवारी फिर्ता लिनुभएको छ। अहिले पनि हामीसँगै चुनावी प्रचारमा छौं। उहाँले मलाई भरपुर सहयोग गर्नुभएको छ। यसमा शंका गर्ने ठाउँ छैन र मिलाउनुपर्ने ठाउँ पनि छैन।

बागीलाई मिलाउन जिल्ला टुक्रयाउने सहमति भयो, अनि कांग्रेसले पनि यही एजेण्डा अघि सारेको छ, तपाई पनि जिल्ला टुक्रयाउन तयार हो?

मेरो मत के हो भने ७५ जिल्ला टुक्रयाएर ७७ बनायौं भने एउटा जिल्ला थपेर ७८ बनाउँदा फरक पर्दैन। यहाँका जनताले पाएको दुःख देख्दा त्यो पनि जायज छ तर त्यसको विकल्प पनि त छ।

हामीले जिल्लामा रहेको शक्तिलाई प्रशासनलाई विकेन्द्रीकरण गर्न सक्छौं। सानो–सानो कामको लागि पनि सदरमुकाम पुग्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि यहाँ रहेका स्थानीय तहलाई मुकामका कार्यालयको अधिकार दिँदा के हुन्छ? ढोरपाटनको शिरबाट कालीगण्डकीको तिरमा सेवा लिन जानु यहाँका सर्वसाधारणले धेरैनै दु:ख झेल्नु हो।

त्यसैले प्रशासनिक इकाइ स्थापना गरेर वा यहाँ भएका स्थानीय सरकार जस्तो तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई अधिकार दिएर जनताको दुःखलाई सुखमा परिणत पनि त गर्न सकिन्छ।

निर्वाचन जित्नुभयो भने प्रदेशसभामा पहिलो एजेण्डा के हुन्छ ?

पहिलो कुरा त प्रतिक्रियावादीका कारण देशमा गणतन्त्र र धर्मनिरपेक्षता जस्ता संविधानका सकारात्मक उपलब्धिको रक्षामा संकट उत्पन्न भइरहेको छ। यो उपलब्धि रक्षार्थ मेरो बलियो उपस्थिति रहनेछ। अर्को कुरा सुशासन कायम गराउनका लागि म प्रयासमा रहनेछु।

आर्थिक समृद्धि र राजनीतिक स्थायित्व कायम गराउन, विधिको शासन कायम गराउन, राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई सुरक्षित गर्नेका लागि मेरो पहिलो एजेण्डा प्रस्तुत हुनेछ। जहाँसम्म मेरो क्षेत्रको कुरा छ। यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनका लागि मैले प्रदेशसभामा आफ्नो मत राख्ने छु।

प्रतिस्पर्धी उम्मेदवारको संवाद पनि पढ्नुस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.