|
फोटो : वीरगन्ज महानगरपालिकाको नेतृत्व बाँयाबाट क्रमशः प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, नगरप्रमुख विजयकुमार सरावगी र उमप्रमुख शान्ति कार्की

पर्सा : वातावरण प्रदूषण गर्ने उद्योग तथा व्यापारिक प्रतिष्ठानलाई कार्वाही गर्न नसकेपछि वीरगन्ज महानगरपालिकाको नेतृत्व वडातर्फ फर्किएको छ। महानगर क्षेत्रभित्र रहेर नदी तथा वातावरणमा प्रदूषण फैलाउने उद्योग तथा व्यापारिक फर्मलाई कार्वाही गर्न नसकेपछि महानगरको नेतृत्व वडातर्फ फर्किएको हो।

महानगरपालिकाले आफैँ कार्वाही गर्दा व्यापारिक पृष्ठभूमिबाट महानगरको नेतृत्वमा पुगेका नगरप्रमुखमाथि सीधै अपजस आउने भएपछि कार्य विभाजनका नाममा महानगरपालिकाको नेतृत्व वडातर्फ मोडिएको नगरपालिकाकै कर्मचारी बताउँछन्।

प्रदूषण गर्नेलाई कार्वाही त के, आफ्नै घोषणा अलपत्र

वीरगन्ज महानगरपालिकाले नदी तथा वातावरण प्रदूषण गर्ने उद्योग तथा व्यापारिक फर्मलाई कार्वाही गर्न त के? झण्डै एक वर्षअगाडि आफैँले गरेको घोषणा कार्यान्वयन भएको छैन। महानगरपालिकाले ‘ध्वनि प्रदूषण र प्लाष्टिकमुक्त वीरगन्ज बनाउँछौं' भनी घोषणा गरेको कुरा कार्यान्वय गर्न सकेको छैन।

प्रदेश-२ को एक मात्र महानगरपालिकाको यस्तो बकवासे घोषणा मात्र नहोस् भनी स्थानीय केही युवा ‘हाम्रो वीरगन्ज राम्रो वीरगन्ज अभियान'का नाममा महानगरलाई दबाब दिन थालेका छन्। अहिले महानगरमा ती अभियानका युवाको दबाब ठीक भएको नगरवासी भन्दै आएका छन्।  

महानगर आफैँ भन्छ : उद्योग प्रतिष्ठानले अटेर गरे 

महानगर क्षेत्रमा रहेका उद्योग तथा प्रतिष्ठानले आफ्नो उद्योग तथा प्रतिष्ठानबाट निस्किएको केमिकलयुक्त पानी, खरानी (छाइ), प्लाष्टिक र अन्य ठोस पदार्थ साथै इँटाभट्टाबाट निस्कने धूलो र धूँवासमेत जताभावी फाल्ने र उडाउने गरेको छ।

केमिकल मिसिएको पानी सीधै नगरभित्र बग्ने सिर्सिया नदीमा मिसाउने र वातावरण प्रदूषित गर्ने उद्योगको वर्षौंदेखिको चाल सुध्रिएको छैन। यो कुरा महानगर आफैँ भन्छ। तर, ती उद्योग तथा प्रतिष्ठानलाई कार्वाही गर्न सकेको छैन।

प्रदूषण गर्ने उद्योग प्रतिष्ठानलाई कार्वाही गर्ने जिम्मेवारी वडालाई दिन शुक्रबार बसेको महानगरपालिकाको बैठकमा सहभागीहरू। 


यसरी महानगरपालिका क्षेत्रभित्र रहेका उद्योगले अटेरी गरेपछि महानगरले कार्वाही नगरी शुक्रबारको कार्यपालिका बैठकले ती उद्योग तथा प्रतिष्ठानहरुलाई कार्वाही गर्ने जिम्मा वडालाई दिएको जनाएको छ।

महानगर नेतृत्वको खुट्टा कमायो

वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्रको धेरै भाग यो महानगरपालिका क्षेत्रमा पर्ने भएकोले महानगरपालिकाले खुट्टा नकमाई कार्वाही गर्नुपर्ने हुन्छ । तर, वीरगन्ज महानगर नेतृत्वले त्यहाँको अवलोकन, पूर्ण कार्वाहीको सिफारिस वडाले महानगरमा पठाउने र त्यो सिफारिस प्रमुख जिल्ला अधिकारीलाई पठाएपछि प्रमुख जिल्ला अधिकारीबाट कार्वाही गराउने भनी घुमाउरो बाटो रोजेको छ। कस्तो कावाही गर्ने भन्ने सम्पूर्ण जिम्मेवारी ३२ वटै वडा अध्यक्षहरूलाई दिएको छ।

वडा अध्यक्षहरुले गरेको सिफारिसको आधारमा कडाभन्दा कडा कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा महानगरपालिकाले अनुरोध गरी कार्वाही अगाडि बढाउने निर्णय भएको नगरको नेतृत्वले पनि स्वीकारे छ। गएको शुक्रबार महानगरले सीधै कार्वाही नगरी जुन-जुन वडामा समस्या छ, त्यहाँको वडाध्यक्षले ठोस कदम अगाडि बढाउने भनी निर्णय भएको वीरगन्ज महानगरपालिका-१० का वडाध्यक्ष रामनगिना प्रसाद साहले बताए।

महानगरको आफ्नै घोषणा उसैलाई गिज्याउँदै

गएको छठको समयमा सिर्सिया नदी केही दिनको लागि कम प्रदूषण भए पनि उद्योगहरूको अटेरीका कारण पुनः प्रदूषित बनेको वीरगन्ज महानगरपालिकाले आफैँ बताएको छ। वीरगन्ज महानगरपालिकाले आफ्नो नगरलाई सभ्य, सु–संस्कृत र सफा राख्न भन्दै गएको ०७५ पुस १७ गतेदेखि वीरगज महानगरपालिकाले नगरलाई ‘ध्वनि प्रदूषण र प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्‍यो। यो घोषणा गर्ने निर्णय महानगरपालिकाको ०७५ मंसिर १८ गते बसेको कार्यपालिका बैठकबाट भएको थियो।

तर, वीरगन्जको मुटु घण्टाघर छेउको खुल्ला ठाउँमा एक कार्यक्रम गरी आफैँ घोषणा गरेको कुराबाट महानगर आफैँ रनभुल्लमा परेको छ। ‘नो हर्न नो प्लाष्टिक' घोषणाबाहेक यत्रो अवधिका बीचमा महानगरले माखो मार्न नसकेको नगरवासी बताइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.