|

काठमाडौं : ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको सोमबार उद्घाटन गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित एक्सन रुमबाट यस आयोजनाको उद्घाट गरेका हुन्। त्यसैगरि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट यो आयोजनाको उद्घाटन गरेका हुन्। 

उद्घाटनपछि आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन थालिएको छ। माथिल्लो त्रिशूली 'थ्री ए' जलविद्युत् आयोजनाको पहिलो र दोस्रो युनिट (३०-३० मेगावाट) बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो।  

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ (निर्माण अवधिको व्याजबाहेक) थियो। निर्माण अवधिको २ अर्ब ८९ करोड व्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना तयार भएको छ।

चिनियाँ एक्जिम बैकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानीमा यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण भएको हो। पटक पटक समस्यामा परेको यो आयोजनालाई २०७२ वैशाखको विनाशकारी भूकम्प र बाढीपहिरोले प्रभावित भएको थियो।

भूकम्प र पहिरोले आयोजनाको बाँधको दायाँ-बायाँ' र प्रवेश मार्गमा क्षति पुर्‍याएको थियो। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयका आधारमा पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनाले पाएको थियो। 

यसका लागि ६१ करोड १९ लाख रुपैयाँ थप खर्च भएको थियो। आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्ले स्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। 

आयोजनाले स्जियार्डबाट निर्माणाधीन त्रिशूली ‘थ्री बी’ हब सबस्टेसनसम्म १.३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाडौंको बाडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २२० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ। मातातीर्थमा १.४५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ।  

आयोजनाकै खर्चबाट निर्माण गरिएको प्रसारण लाइनबाट त्रिशूली र मर्स्याङ्दी नदी बेसिनमा निर्माण भइरहेका अन्य जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याई राष्टिय प्रणालीमा प्रवाह गर्न पूर्वाधार बनिसकेको छ। 

प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई)सँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। 

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)संग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो।  सुरु सम्झौताअनुसार १७ जेठ २०७१ अर्थात् ३१ मे २०१४ नै यो आयोजना सम्पन्‍न हुन पर्ने थियो। 

विद्युत गृह भूमिगत बनाउने कि सतहमा बनाउने भन्‍ने विवाद, आयोजनाको क्षमता बढाएर ९० मेगावाट बनाउने लगायतले निर्माण प्रभावित भएको थियो। त्यसपछि आयोजनाको म्याद २६ महिना थपेर ३० जुन २०१६ भित्रमा सक्ने लक्ष्य थियो।  

विनाशकारी भूकप्प र पहिरोले जटिल अवस्था भएपछि म्याद फेरि ३४ महिना थपेर र ३० अप्रिल २०१९ भित्रमा निर्माण गर्ने लक्ष्य राखिएको थियो। आयोजनाको निर्माण पछिल्लो पल्ट थपिएकै समयमा सम्पन्‍न भएको हो।  

आयोजना राष्टिय विद्युत् प्रणाली र त्यसमा पनि मुख्य रुपमा ‘लोडसेन्टर’अर्थात् काठमाडौं उपत्यकाकोको विद्युत माग र आपूर्तिको व्यवस्थापनको लागि भरपर्दो आधार तयार भएको छ। आयोजनाबाट वार्षिक करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुने छ।  

आयोजना वर्षको साढे आठ महिना पूर्ण क्षमता (६० मेगावाट) मा चल्ने छ। त्यस्तै हिउँदमासमेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट मुलकको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलित र विश्वसनीय बनाउन थप बल पुग्नेछ।

यो आयोजनाले मुलकभित्र खपत हुने ऊर्जामा करिब ७ प्रतिशतको योगदान दिने छ। यसबाट कुलेखानी जलाशयको पानी वचत गर्न र आयातीत विद्युत्को परिमाण घटाउन सहयोग पुग्ने छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.