|

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का सदस्य हेरफेरका लागि सत्तारुढ नेकपाभित्र छलफल तीव्र भएको छ। 

केही दिनमै मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्ने गरी नेकपामा गृहकार्य सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘स्पिड’ अनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर अरुलाई अवसर दिने तयरी गरेपछि छलफल भइरहेको हो। 

बिदाइ गर्ने मन्त्री र नयाँ मन्त्रीबारे बालुवटार र खुमलटार केन्द्रित छलफल तीव्र भएको हो। दोस्रो पटक प्रधानमन्त्री बन्ने क्रममा आफ्नो गुटनिकटलाई मात्रै मन्त्री बनाएपछि ओली आलोचित भएका थिए। 

आफ्नो गुटका लागि मात्रै च्यापेर मन्त्री बनाएपछि उनीहरुले प्रभावकारी काम गर्न नसकेको भन्दै नेकपाभित्र आलोचना चुलिइरहेका बेला केही दिनमै क्याबिनेटका सदस्य परिवर्तनको रस्साकस्सी नेकपाभित्र सुरु भएको हो। 

आफ्नो सचिवालयका ६ जना सदस्यलाई बिदाइ गरेका प्रम ओलीले मन्त्रीहरु फेर्न यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरिसकेका छन्। 

बालुवाटार–खुमलटार

मन्त्री परिवर्तन तयारी भएपछि नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादीमा धेरै आकांक्षीहरु देखिएका छन्। त्यहीकारण आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार केही दिन धकेलिन सक्ने स्रोतले जनाएको छ। 

नयाँ आकांक्षी र बिदाइ गर्ने मन्त्रीको नामबारेमा सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि छलफल भएको थियो। 

त्यसैगरी सोमबारै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठबीच मन्त्रिपरिषद् हेरफेरबारे खुमलटारमा छलफल भएको स्रोतले जनाएको छ। तर उक्त भेटलाई सुरुङ मार्ग निर्माणबारे इन्जिनियरको टोलीसँग तीन नेताबीचको छलफल मात्रै भनिएको छ।

फेरिनेमध्ये केही नाममा सहमति जुटिसकेपनि अझै केही नाममा कुरा मिलिनसकेको स्रोतको दाबी छ। फेरिने मन्त्रीको सूचीलाई अन्तिम रुप दिने तयारीमा प्रधानमन्त्री लागेका छन्। उनले यसका लागि उनले कम्तीमा ५ जना मन्त्री फेर्ने गरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जुटाएको स्रोतको दाबी छ।

पाँचजना हट्दा तत्कालीन एमालेबाट ३ जना र तत्कालीन माओवादी केन्द्रबाट कम्तीमा २ जना हुनेछन्। केही मन्त्रीहरुको विवादास्पद गतिविधिका कारण सरकार नै आलोचित भइरहेको छ। प्रधानमन्त्री ओलीले समेत मन्त्रीहरुको कार्यशैलीप्रति पटक पकट असन्तुष्टि जनाइसकेका छन्। 

यसैबीच प्रधानमन्त्रीको सचिवालयबाट राजीनामा दिएका केही सदस्यलाई पुनः फर्काउनेबारे प्रधानमन्त्रीले छलफल थालेका छन्। राम्रो काम गरेकामध्ये केहीलाई फर्काउने गरी ओलीले सोमबार सचिवालयका अन्य सदस्यसँग सोमबार सिंहदरबारमा छलफल गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.