|

हेटौंडा : ३ नम्बर प्रदेशको प्रदेश लोकसेवा आयोगका अध्यक्ष शुरेसमान श्रेष्ठले शपथग्रहण गरेका छन्।  सोमबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

नेपाल सरकारको निजामती सेवामा ३२ वर्ष काम गरेका श्रेष्ठलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँसहितको प्रदेश लोकसेवा आयोग सिफारिस समितिले आयोगको अध्यक्षमा कात्तिक २८ गते सिफारिस गर्ने निर्णय गरेको थियो।

अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरिए पनि महिलासहित दुईजना सदस्य भने प्रदेश सरकारले सिफारिस गर्न बाँकी छ। आयोगको अध्यक्षमा सिफारिस भएका श्रेष्ठलाई प्रदेश प्रमुखले नियुक्त गर्ने प्रावधान रहेको छ।

निष्पक्ष ढंगले कर्मचारी नियुक्त हुन्छन्

नवनियुक्त अध्यक्ष श्रेष्ठले प्रदेश लोकसेवा आयोग निष्पक्ष ढंगले अगाडि बढ्ने बताएका छन्। शपथग्रहणपछि पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा आयोगका अध्यक्ष श्रेष्ठले कसैलाई काखा, कसैलाई पाखा नगरी काम गर्ने बताएका हुन्।

श्रेष्ठले भने 'लोकसेवा आयोगले निष्पक्ष ढंगले जसरी सक्षम व्यक्तिहरुलाई कर्मचारीको रूपमा छनोट गर्दै आएको छ, त्यसरी नै आगामी दिनहरुमा काम हुनेछ।'  महिलासहित दुईजना सदस्य भने प्रदेश सरकारले सिफारिस गर्न बाँकी रहेको भन्दै उनले टिमको आवश्यकता रहेको र उक्त टिम पनि छिट्टै निर्माण गर्न आयोगले सरकारसँग माग गर्नेसमेत बताएका छन्। उनले आज नै प्रदेश लोकसेवा आयोगको कार्यालयमा पदभार ग्रहणसमेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.