'प्रमाण जुटने वित्तिकै कारवाही प्रक्रिया अगाडि बढ्छ’

|

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीय किशोरी निर्मला पन्तको हत्या प्रकरणमा किटानी जाहेरी दिएको दुई महिना वितिसक्दा समेत सुनवाई हुन नसकेपछि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ।

सोमबार निर्मलाकी आमा दुर्गादेवी पन्तसहितको अधिकारर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी शुशिल बैद्यलाई भेटेर किटानी जाहेरीबारे ध्यानाकर्षण गराएको हो। निर्मलाकी आमा दुर्गादेवीले गत भदौ २२ गते दिलिप सिंह बिष्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्।

निर्मलाकी आमा दुर्गादेवीले प्रमुख जिल्ला अधिकारी बैद्यलाई भेटेर किटानी जाहेरी दिएको दुई महिना वित्तिसक्दा समेत सुनवाई हुन नसकेको भन्दै असन्तुष्टि पोखेकी छन्।

'छोरीको हत्या भएको लामो समय वितेको छ' उनले भनिन्,‘हत्यारा पत्ता लाग्न सकेको छैन। किटानी जाहेरीमा उल्लेखित व्यक्तिसँग समेत सोधपुछ समेत गरिएको छैन। किटानी जाहेरीमा नाम उल्लेख गरिएका व्यक्ति दोषी होइन भने अर्को अपराधी को हो। पत्ता लगाई दिनु पर्‍यो।’

उनले दिलिपले हत्यारा आफैँ भएको विभिन्न सञ्चारका माध्यममा भन्दै आउदा समेत सोधपुछ नगरिएको बताइन्। प्रमुख जिल्ला अधिकारी बैद्यले डिएनएलाई प्रमाण मान्न नसकिने ठहर भएपछि अनुसन्धानको दायरा साघुरिँदै गएको बताए। 'किटानीबारे प्रमाण जुटाउने कार्य भइरहेको छ' उनले भने, ‘प्रमाण जुटने वित्तिकै कारवाही प्रक्रिया अगाडि बढ्छ।’ 

झण्डै डेढ वर्ष अघि घरबाट गृह कार्य गर्नका लागि साथीको घर गएपछि हराएकी निर्मलाको शव उखुबारीमा फेला परेको थियो। प्रहरीले विभिन्न अनुसन्धान टोली गठन गरी हत्याको छानविनका लागि प्रक्रिया अगाडि बढाए पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.