पुनरावेदनको फैसला सर्वोच्चले उल्ट्याइदियो

|

काठमाडौं : सर्वोच्च अदालतले बैतडीकी पूजा बोहोरा बलात्कार प्रकरणमा पुनरावेदन अदालतको फैसला उल्टाएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै बलात्कारमा संलग्न सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजाय सुनाएको छ।

सर्वोच्चले पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको  छ। पुनरावेदन अदालत महेन्द्रनगरले २०७१ वैसाख १५ गते दुवैजनालाई सफाइ दिएको थियो।

पुनरावेदनको फैसला त्रुटीपूर्ण भएको भन्दै सर्वोच्चले जिल्ला अदालतको फैसला बमोजिम दुवैजनालाई बलात्कारको कसुरमा साढे ६ वर्ष र सामूहिक बलात्कारको कसुरमा ५ वर्ष गरी साढे ११ बर्षको कैद सजाय सुनाएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए।

उनका अनुसार सर्वोच्चले पीडित बोहोराको मानसिक, शारीरिक स्वास्थ्य र शिक्षामा पुगेको क्षतिलाई मध्यनजगर गर्दै तत्काल १० लाख क्षतिपूर्ति भराउनसमेत सर्वोच्चले आदेश गरेको छ। अदालतले बोहोरालाई पीडकबाट ५ र सरकारका तर्फबाट ५ गरी १० लाख रुपैयाँ क्षतिपूर्ति रकम उपलब्ध गराउन भनेको हो ।

यसअघि २०६९ फागुन २२ गते जिल्ला अदालत बैतडीले दुवैजनालाई १३ वर्ष कैद र ५० हजार जरिवाना सुनाएको थियो। तर पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुवै अभियुक्तलाई सफाइ दिएको थियो । पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले २०७१ पुस २ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

२०६८ चैत ७ गते एसएलसीको तयारी गरिरहेकी बैतडीकी १४ वर्षीया पूजालाई भट्ट र अवस्थीले नसालु इन्जेक्सन लगाइदिएर सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। उनलाई बलात्कारपछि नालीमा फालिएको अवस्थामा उद्धार गरी अस्पतालमा उपचार गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.