|
फाइल फोटो

आवुधाबी : गत शुक्रबारदेखि युएईमा छोटो स्वरुपको क्रिकेट टी–१० लिग जारी छ। यस प्रतियोगितामा नेपालका दुईजना क्रिकेटर पारस खड्का र सन्दीप लामिछाने पनि आबद्ध छन्।

लेगस्पिनर सन्दीप कर्नाटका टस्कर्स र पारस टीम आवुधाबीमा अनुबन्धित छन्।

प्रतियोगितामा कर्नाटकाले हालसम्म खेलेका तीनैवटा खेलमा सन्दीपले अवसर पाए।

सोमबार तेस्रो खेलका लागि मैदान उत्रिएको टीम आवुधाबीले भने पारसलाई ‘प्लेइङ ११’ मा समावेश गरेन।

मराठा अरबियन्सविरुद्धको खेलमा आवुधाबीका कप्तान मोइन अलीले पारसलाई बेञ्चमा राखेका छन्। पारसको ठाउँमा उनले वायन म्याडसेनलाई मैदान प्रवेश गराए। तर, म्याडसेन एक रनमै आउट भए।

पारसबिनै मैदान पसेको टिम आवुधाबीलाई मराठा अरबियन्सले १३९ रनको विशाल लक्ष्य दियो। मराठासँग टीम आवुधाबी २४ रनले पराजित भयो।

पारसले अन्तिम ११ मा स्थान नपाएपछि उनका समर्थक भने आश्चर्यमा परेका छन्। आवुधाबीका कप्तान अलीले यसअघिका दुई खेलमा पारसलाई खेलाए पनि राम्रो अवसर भने दिएनन्। उनले पारसलाई छैठौँ नम्बरमा मात्र ब्याटिङ गर्न पठाएका थिए। जसका कारण पारसले रन बनाएर आफूलाई प्रमाणित गर्ने मौका पाएका थिएनन्।

टी–२० क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गरेकै आधारमा पारस टी–१० लिगमा छनोट भएका हुन्। तर, ब्याटिङ अर्डरमा छैठौँ नम्बरमा रहेकै कारण उनले यसअघिका दुई खेलमा मात्र चार रन जोडेका छन्। दुई खेलमा उनले जम्मा चार बल फेस गर्न पाएका थिए।

शुक्रबार क्वालान्डर्सविरुद्धको पहिलो खेलमा पारसले तीन बल खेल्ने मौका पाए। तीन बलमा उनले नटआउट रहँदै तीन रन बनाए। इनिङ सकिन दुई ओभर बाँकी छँदा उनी मैदान छिरेका थिए। उक्त खेल बराबरीमा सकियो।

आइतबार भएको नर्थन वारियर्सविरुद्धको खेलमा पनि त्यस्तै दृश्य देखियो। जितका लागि ११ बलमा दुई रन चाहिएको अवस्थामा मात्र पारसको ब्याटिङ गर्ने पालो आयो। उनले एक बल मात्र सामना गर्न पाए।

दुवै खेलमा नटआउट रहेका पारसले राम्रो खेल देखाउने अवसर त पाएका छैनन् नै, नराम्रो प्रदर्शन पनि गरेका थिएनन्।

नेपालका पूर्वकप्तानसमेत रहेका ३२ वर्षीय पारस यस लिगमा १० हजार अमेरिकी डलरमा टिम आवुधाबीमा अनुबन्धित भएका हुन्। अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा केही महिनाअघि पारसले शानदार सतक बनाएपछि टी–१० मा अनुबन्धित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.