|
प्रतीकात्मक फोटो

सर्लाही : जिल्लाको बेग्लाबेग्लै स्थानमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजारमा रहेको नमस्ते होटल अगाडि नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। दुर्घटनामा लालबन्दी नगरपालिका–१६, परवानीपुरका ४० वर्षीय हेमबहादुर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

शारीरिक रुपमा अशक्त भण्डारी नगरपालिकामा काम लिएर सोमबार (हिजो) लालबन्दी आएका थिए। प्रत्यक्षदर्शीका अनुसार भण्डारीलाई रातो–कालो रङको पल्सर मोटरसाइकलले ठक्कर दिएर फरार भएको छ। फरार मोटरसाइकलको खोजतलास जारी रहेको प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।

यस्तै, सर्लाहीको बरहथवा नगरपालिका–१३, मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा चारजना घाइते भएका छन्। बरहथवाबाट बसबरियातर्फ गइरहेको बीआर ३० एच ५८१७ नम्बरको मोटरसाइकलले दुइटा साइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। घाइतेहरूको बरहथवामा उपचार भइरहेको छ।

त्यस्तै, हरिपूर्वा नगरपालिका–९, मा ज ५ प ५५८९ नम्वरको मोटरसाइकललाई ज १ त ८८७५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा हरिपूर्वा नगरपालिका–९, बसन्तपुरका २१ वर्षीय इन्द्रजित यादव घाइते भएका छन्। घाइते यादवको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।       

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.