गोर्खाली वीरताको जिउँदो इतिहास
दमक (झापा) : पाँचथरको दुर्गम गाउँ च्याङ्थापुमा साढे ८ दशक अघि जन्मिएका रामबहादुर बेघा लिम्बूलाई लाहुर जाने र उच्च पदक पाउने कल्पनै थिएन।
जाने मन गर्ने हरू १६/१७ वर्षको उमेर सम्ममा गई पनि सक्थे। तर उनलाई लाहुर जान मन र योजना नभएकै कारण २२ वर्षको हुँदासम्म गाउँमै घाँस-दाउरा र गोठाला गरेर विताए। एक दिन गोठालाबाट फर्कदै गर्दा बेलायती सेनामा भर्ती गराउन ‘केटा’ खोज्ने गल्लावालको मान्छेले भेटे पछि भने उनको जीवनले नयाँ मोड लियो।
गोठालाबाटै गोर्खा भर्ती
सात दशकअघिको पूर्वी पहाडी क्षेत्रमा गोर्खाभर्तीमा खासै मोह थिएन। भर्खरै हुर्कँदै गरेका छोरा चिलले चल्ला टिपेझैँ टिपेर गोराले लान्छ भनेर हरेक अभिभावक डराउँथे।
त्यसैले भर्ती गराउन युवा खोज्दै जानेहरू गाउँ छिर्नै डराउँथे। यसका लागि उनीहरूको उपाय हुन्थ्यो, हाट-बजार-गोठाला-खेतालामा पुगेका युवालाई फकाउने-लोभ्याउने र भर्ती गर्न लाने।
गल्लावालको यही उपायले रामबहादुरको पनि भर्ती हुने रहर जाग्यो। दमकस्थित आफैँले बनाएको माङ्हीममा पुराना दिन सुनाए। ‘घरमा थाह पायो भने मारि हाल्थे। भर्ती जाने कुरा सुन्न पनि मान्दैन थिए। तर एक दिन गोठालाबाट फर्कदै थिएँ। बाटो ढुकेर गल्लावालको मान्छे बसेको रहेछ। समाई त हाल्यो। अनि फकाउन थाल्यो', उनले सुनाए, 'भर्ती यस्तो-उस्तो, राम्रो हुन्छ भनेर धेरै फकाए पनि म पनि लु होला त भनेर जाने भएँ। गोठालो गएको छोरो उतैबाट भर्तीमा लागेपछि मात्रै घरमा थाहा पाए।’
गोठालाबाटै गोर्खा भर्ती लाग्न उनी हिँडेको बेला थियो, सन् १९५७ को नाभेम्बर। त्यसबेला उनको उमेर २२ वर्ष पुगिसकेको थियो। तर १९ वर्षसम्मका जवानलाई भर्ती लिने चलन थियो। ८ दशक पार गरेका भिसी बेघाले भर्ती हुँदाका दिन सुनाए, ‘एउटा गल्लावालले २२ जना भेला पार्नु पर्थ्याे। पछि कुरा बुझ्दा उसका २२ जना पुगेनछन्। त्यसैले छिप्पिएको भए पनि मलाई लान खोजेको रहेछ।’
घरमा थाहै नदिई उनी गल्लावालको पछि लागेर भर्ती हुन दार्जिलिङ हान्निए। दार्जिलिङ्बाट सानो रेलमा चढाएर सिलगुडी र सिलगुडीबाट ठूलो रेल हुँदै नौतनवास्थित भर्तीकेन्द्र पुर्याए। उनीसँगै पुगेका २२ मध्ये ७ जना मात्रै भर्ती लाग्न सफल भए। यो कुरा सुनाउँदा उनी तन्नेरी उमेरमाझैँ जोशिए।
बहादुरीका एक इतिहास
बेलायती सेनामा पाउने सर्वोच्च पद ‘भिक्टोरिया क्रस-भिसी’ धारी वीर नेपालीमध्ये जिउँदा इतिहास हुन् दकमका रामबहादुर बेघा लिम्बू। उनले पाएको वीरताको प्रतीकको सम्मानकै कारण भिसी रामबहादुर बेघाको नामले परिचित छन्।
वि.सं. १९९२ साल साउन २१ गते पाँचथरको च्याङ्थापुमा जन्मिएका उनी सन् १९५७ नाभेम्बरमा बेलायती सेनामा भर्ना भए। त्यस बेलाको सम्झना गर्दै उनले सुनाए,‘त्यस बेला गाउँघरमा गल्ला छिर्न सक्दैन थिए। परिवारका मान्छेले फौजीमा भर्ती हुन दिँदैन थिए।त्यसैले गल्लावालहरू गोठालो र हाट बजारमा केटाहरूलाई भेटेर फकाउने गर्थे।’
उनी पनि त्यसैगरी गोठालोबाट फर्कँदै गरेका बेला गल्लावालको नजरमा परेका थिए। त्यसपछि भर्ती भएर मात्रै घरमा पत्र पठाएर जानकारी गराएको सम्झना उनले सुनाए।
‘न गाडी थियो, न बिजुली, न फोन कहाँबाट खबर पठाउनु र!’, पहिलो पटक घरमा जानकारी गराएको सम्झना गर्दै उनले भने,‘घरमा सल्लाह गरेर जाऊँ भन्ने अवस्था थिएन, त्यसैले गल्लावालको भरमा परेर गइयो। भर्ती भएपछि मात्रै घरमा पत्र पठाइयो।’
मासिक ४० रुपैयाँ तलब
थाहै नदिई गोर्खा सैनिकमा भर्ती हुँदै सिंगापुर तालिम केन्द्र पुगेका उनी तीन वर्षपछि छुट्टीमा घर आए। त्यसबेला महिनाको ४० रुपैयाँ तलब थियो। साथमा २२ सय रुपैयाँ भारु लिएर उनी गाउँ आए। केही समय त गाउँमा मस्तीमै बित्यो दिन।
छुट्टीका दिन सुनाउँदै उनी रौसिए,‘पैसा ल्याएकै थिएँ। ऊ बेला कति नै खर्च हुन्थ्यो र! दुईआना बोत्तलमा रक्सी पाइन्थ्यो। हाट-मेला गयो, धान नाच्यो। रमाइलो गर्यो त्यस्तै त हो नि रमाइलो। एक रुपैयाँ लिएर बजार गयो भने खाई नसकेर फर्काइन्थ्यो। पैसाको 'भ्यालु' थियो नि त्यस बेला।’
लाहुर लागेको अर्को वर्ष उनले पाँचथर थर्पूकी टीकामाया इम्बुङ्सँग लगनगाँठो कसे। एक वर्षपछि वि.सं.२०१८ सालमा छोरा जन्माए। अनि सुरु भयो, फौजी जीवनसँगै पारिवारिक जिम्मेवारी पनि।
युद्धनायक बनेको त्यो दिन
त्यस बेला बेलायतले संसारभर आफ्नो साम्राज्य विस्तार गरेको थियो। बिभिन्न देशमा उसका सैनिक तैनाथ थिए। आफ्नो पहुँच स्थापित गर्न बेलायतका लागि सबैभन्दा दर्विला सारथि नै गोर्खा फौज थिए। उनी त्यही फौजका एक होनहार सदस्य बनेर पुगेका थिए, इन्डोनेसियाको लडाइँमा। घटना हो, सन् १९६५ को नोभेम्बर २१ को।
तत्कालीन मलाया र इन्डोनेसियाबीच ‘सर्वाक’ भूमिको बिषयलाई लिएर भीषण युद्ध भयो। उनी त्यही युद्धमोर्चामा बेलायती सेनाका तर्फबाट तैनाथ थिए। त्यहाँको युद्धमा बेलायती सेनाका तीनजनाको मृत्यु भयो र २ घाइते भए।
आफ्नै आँखा अगाडि सहकर्मी ढलिरहँदा पनि उनको साहस र हिम्मत कति पनि ढलेन। आफ्ना घाइते साथीको उद्धार गर्दै उनी दुष्मनसँग लगातार लडिरहे। काललाई जितेको त्यो दिनको सम्झना उनले यसरी सुनाए। ‘त्यस बेला त दुष्मनले लगातार आक्रमण गरिरहेको थियो। लड्नु र मर्नुबाहेक अरु केही थिएन', उनले रौसिँदै भने, 'तर आफ्नै साथीहरू पनि मरेको र घाइते भएकाले उनीहरूलाई जोगाउनु पनि परेको थियो। त्यसैबेला त इन्डो सेना कति मरे थाहा भएन। तर पनि उतातिर २४ जना मरेको सुनियो।’
त्यो दिन आफूले बाँच्ने कुनै आशा पनि नगरि हिम्मतका साथ लगातार डटिरहेको सुनाउँदा अझै पनि उनी गम्भीर बन्छन्।
महारानीबाट भिक्टोरिया क्रस
मलाया-इन्डो युद्धमा लडिरहँदा केही साथी जोगाउनु र आफू पनि जोगिन पाउनु नै उनको लागि सर्वोपरि थियो। भीषण युद्धहरूमा बहादुरी प्रदर्शन गर्नेलाई बेलायतकी महारानीले उच्च पदक दिने चलन थियो। उनले चाहिँ त्यो पदक पाउने आशा गरेका थिएनन्।
पदक पाउने आशाले नभई एउटा जिम्मेवारीले दुष्मनसामू डटेको सुनाउने उनको नाम जब बेलायती सेनाको सर्वोच्च सम्मानसहितको पदक भिक्टोरिया क्रस पाउनेका सूचीमा पर्यो तब उनको छाती गर्वले फुल्यो। त्यो क्षण सुनाउँदा उनी अझै पनि उस्तै ऊर्जा देखाउँछन्।
त्यही युद्धमा सहासका साथ दुष्मनको सामना गरेर युद्ध नायक बनेकै कारण उनलाई बेलायती महारानी द्वितीय एलिजावेथले सेनाको सर्वोच्च पदक भिक्टोरिया क्रस प्रदान गरिन्, १२ जुलाई सन् १९६६ मा।
त्यही दिनबाट लन्स कप्रोल बेघा, भिसी बेघाका रुपमा स्थापित भए। सन् १९८५ को मार्चमा बेलायती सेनाबाट निवृत्त भएर उनी गाउँ फर्किए। त्यसको केही समयपछि उनी ब्रुनाई सुल्तानको सुरक्षाकर्मीका रुपमा सेवा गर्न त्यसतर्फ लागे। ब्रुनाईमा ७ वर्षको सेवापछि नेपाल फर्किए। त्यसयता उनी गाउँमै पारिवारिक र सामाजिक जीवनमा सक्रिय छन्।
नेपाल नै प्यारो
बेलायती सेनाको उच्च पदक भिक्टोरिया क्रस पाउने नेपालीमध्ये उनी मात्र एक जीवित बहादुर हुन्। उनको वीरता र योगदान पाठ्य सामग्रीमासमेत समेटिएकाले धेरैले पढेका छन्। तर उनको जीवन गोर्खा फौजमा मात्र सीमित भएन। फौजी जीवनको अन्त्यसँगै उनी अनवरत सामाजिक काममा क्रियाशील छन्।
भिक्टोरिया क्रस जस्तो उच्च सम्मान पाउने व्यक्तिलाई बेलायतले सबै प्रकारको सहयोग गरेर आफ्नै देशमा राख्न सक्छ। तर पनि उनलाई मातृभूमिको मायाले बेलायतको सुखसयलको लोभ लागेन।
उनी अझै पनि नेपालीको गौरवपूर्ण वीरताको जिउँदो इतिहास बनेर प्रेरणा दिइरहेका छन्। सामाजिक काममा पनि सकेसम्म आफैँ उपस्थित भएर अरुलाई ऊर्जा दिइरहेका भेटिन्छन् उनी
बहादुरीपूर्ण फौजी जीवन र ब्रुनाईको सेवा अवधिसमेत सकेर नेपाल आएका उनी अहिले पनि अविछिन्न सामाजिक काममा सक्रिय छन्। उनकै अगुवाई र साथ सहयोगले विभिन्न स्थानमा बाटो, माङ्हिम, विद्यालय लगायतका पूर्वाधार ठडिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।