|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन्। उनले केही मन्त्रीलाई जिम्मेवारी मुक्त गर्ने र कसैको मन्त्रालय परिवर्तन गर्ने भएका हुन्।  

मन्त्रिपरिषदको मंगलबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको औपचारिक जानकारी मन्त्रीहरूलाई दिएका हुन्।

आजको मन्त्रिपरिषद बैठकको अन्तिममा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठनबारे जानकारी दिएका थिए। बैठकका एजेन्डामा छलफल र निर्णय भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठनबारे जानकारी दिएको एक मन्त्रीले थाहा खबरलाई जानकारी दिए। उनले भने, ‘आजको मन्त्रिपरिषद बैठकका एजेन्डामाथि छलफल सकिएपछि प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद पुनर्गठनबारे जानकारी दिनुभएको थियो। भोलि पुनर्गठन गर्ने जानकारी दिनुभएको छ।’

नाम नलेख्ने शर्तमा ती मन्त्रीले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गरे, ‘मन्त्रिपरिषद पुनर्गठन गर्ने कुरा बाहिर धेरै चर्चा भयो। भोलि गर्छु होला मैले। कोही पर्नुहोला, कोही नपर्नुहोला। कसैको चेन्जफेन्ज होला। माइन्ड नगर्नुहोला। स्वाभाविक ढंगले लिनुहोला। नयाँ साथीहरूलाई पनि चान्स दिनुपर्छ, सिकाउनुपर्छ।’

प्रधानमन्त्री ओलीले कसलाई मन्त्रिपरिषदबाट हटाउने र कसलाई ल्याउने भन्ने बारेमा जानकारी नदिएको ती मन्त्रीले बताए।

कृषिमन्त्री चक्रपाणी खनाल, उद्योगमन्त्री मातृका यादव, महिला महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र भौतिकमन्त्री रघुवीर महासेठलाई हटाउने तयारी भएको स्रोतले बताएको छ। ऊर्जामन्त्री वर्षमान पुनको मन्त्रालय हेरफेर हुनसक्ने सम्भावना रहेको बताइएको छ। श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगतबहादुर सुनारलगायत पनि हट्ने सम्भावना रहेको बताइएको छ। त्यस्तै, कृषि राज्यम्नत्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि पदमुक्त गर्ने तयारी भएको स्रोतले बताएको छ।   

मन्त्रिपरिषद पुनर्गठनबारे लामो समयदेखि चर्चा चलिरहेको छ। हालको मन्त्रिपरिषदमा रहेका पाँच देखि आठ जनासम्मलाई हटाएर नयाँ नेतालाई अवसर दिने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालसँग छलफल गरिसकेका छन्। पार्टीको सचिवालय बैठकमा पनि उक्त विषयमा छलफल भइसकेको र सबैले प्रधानमन्त्रीलाई उपयुक्त लागेको निर्णय गर्न तथा सरकारलाई प्रभावकारी बनाएर लैजाने निर्णय गर्न सुझाव दिएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.