|

सुर्खेत : सुर्खेतको बुलबुले तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ। पछिल्लो समय वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गरेको हो।

सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले ताल ‘पिकनिक स्थलका रुपमा सजिलो पनि नजिकको पनि अनि गजबको गन्तव्य बनेको छ। अन्य समयमा सामान्य चहलपहल हुने बुलबुले उद्यानमा दशैंतिहार सकिएपछि पिकनिक खानेको घुइँचो लाग्ने गरेको छ। यतिसम्म कि दैनिक ३० देखि ४० टोली सम्म बुलबुलेमा पिकनिक खान पुग्ने गरेका छन्।

कर्णाली प्रदेश राजधानी सुर्खेत बजारनजिकै अवस्थित बुलबुले घुमघाम तथा पिकनिकका लागि सजिलो गन्तव्य बनेको छ। पिकनिक र भ्रमणका लागि बाँके, कैलाली, दाङ, बर्दियाखलगायतका जिल्लाबाट पनि अत्याधिक पर्यटक आउने गरेको बुलबुले उद्यान टिकट काउण्टरका कर्मचारी डिल्लीप्रसाद न्यौपानेले जनाए।

न्यौपानेका अनुसार कुनै दिन त स्थानीय र विभिन्न जिल्लाका गरी ३३ टोलीले बुलबुले उद्यानभित्र पिकनिक खाएर फर्किने गरेको जानकारी दिए।

‘बुलबुलेमा आन्तरिक पर्यटकको घुईचो नै लाग्ने गरेको छ। अस्ति तिहारपछि त एक दिनमा ३३/३५ टोली पिकनिकका लागि बुलबुलमा आएका थिए’, उनले भने ‘पिकनिकका लागि जिल्लासहित जिल्ला बाहिरका टोली पनि आउने गरेका छन्।’

चर्चित पर्यटकीयस्थल बुलबुलेमा अन्य समयभन्दा दशैंतिहार पछि चिसो समयमा पिकनिक खानेको भीड लाग्ने गर्छ।

तालको अवलोकनसँगै पिकनिक खाने उपयुक्त थलो भएकाले छोटो दूरीको यात्रामा रमाइलो गर्न चाहनेका लागि बुलबुले उपयुक्त गन्तव्य बन्दै गएको छ। बुलबुले उद्यानसम्मै सवारी साधन लिन सकिने, न्यून प्रवेश शुल्क, पर्याप्त पानी, शौचालय, खुल्ला चौर, बगौंचा र पार्कहरू बुलबुलेका थप आकर्षण रहेका छन्।

सुर्खेत उपत्यका नगर विकास समितिले बुलबुले ताल, पार्क (उद्यान) व्यवस्थापनमा केही सुधार ल्याएसँगै बुलबुलेमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ। बुलबुले उद्यान प्रेमी प्रेमिकाको मिलनस्थलका रुपमा पनि चिनिँदै आएको छ।

मायालु जोडी पनि बुलबुलेमा डेटिङका लागि जाने गरेका छन्। एकहजार १२ सयको हाराहारीमा पनि यो सिजनमा दैनिक पर्यटक बुलबुले ताल अवलोकन गर्न पुग्ने गरेका छन्।

बुलबुले उद्यान काउण्टरका कर्मचारी डिल्लीप्रसाद न्यौपानेका अनुसार महिनामा १६ हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.