|

सोलुखुम्बु : जिल्ला अस्पताल फाप्लुमा करिब ३ हप्तापछि चिकित्सकको व्यवस्था भएको छ। सोलु दूधकुण्ड नगरपालिकाले ६ महिनाको लागि एमबिबिएस डाक्टरको व्यवस्था गरेको जनाएको छ।

नगरपालिकाले नियक्त गरेको डाक्टर स्मृति गौतमले आइतबारदेखि सेवा दिन थालेको अस्पतालले जनाएको छ। अब भने सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको सेवाग्राहीको भनाइ छ। जिल्लामा चिकित्सक नहुँदा स्वास्थ्य चौकी सरह तीन हप्तादेखि सेवा दिँदै आएको अस्पतालले अब भने सहज सेवा दिने स्थानीयको विश्वास छ।

फाप्लु अस्पताल परिसरमा भेटिएका सोलु दूधकुण्ड नगरपालिका ११ तिङलाका दान बहादुर बस्नेतले डाक्टर नहुँदा उपचार हुन्छ भन्ने ग्यारेण्टी नहुने भन्दै अब भने ढुक्क लागेको बताए। कुनै बेला बिरामीले खचाखच भरिने अस्पतालमा अहिले बेडभर्ना हुने बिरामी शून्य छन्। ओपिडि सेवा लिनेको संख्यासमेत ५० प्रतिशतले घटेको छ।

गाउँगाउँका स्वास्थ्य चौकीले रेफर गर्ने बिरामी जिल्ला अस्पताल फाप्लु आउने भए पनि चिकित्सक नहुँदा त्यतिकै जिल्ला बाहिर जानुपरेको थियो। नगरपालिकाले चिकित्सकको व्यवस्था गरेसँगै अब त्यसको समेत अन्त्य भएको माप्य दूधकोशी गाउँपालिका ३ बाट आएका मनिस शासंकरको भनाइ छ।

'सञ्चार माध्यमको खबरदारी र जनप्रतिनिधिको सक्रियताको कारण चिकित्सक व्यवस्था भएको थाहा पाएपछि अधिकांश सेवाग्राही सेवा लिन आएको बताएका छन्। कुनै समय पाँचजना डाक्टरले सेवा दिएको अस्पतालमा एकाएक सेवा प्रभावित हुँदा संघीयताप्रति असन्तुष्ट बनेकाहरू चिकित्सक आएसँगै गुणस्तरीय सेवा पाउँने आशामा छन्'  सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका पेम्बा शेर्पा  भन्छन्, 'सामान्य उपचारको लागी जिल्ला बाहिर जाने समस्याको अन्त्य भयो।'

समायोजनसँगै चिकित्सक अभाव

स्वास्थ्यकर्मीको समायोजनसँगै जिल्ला अस्पतालमा चिकित्सकको अभाव भएपछि यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो। कुनै समय ११ औँ तहको चिकित्सकसहित ३५ जना दरबन्दी रहेको जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा गएपछि ९औँ तहका चिकित्सकसहित १८ दरबन्दीमा खुम्चिएको छ।

प्रदेश सरकारले समेत ९औँ तहका सहित दुईजना चिकित्सक यहि हप्ताभित्र पठाइसक्ने जनाएको छ। तर, पनि माथिल्लो तहका सबै चिकित्सक करारमा हुने र तल्लो तहका कर्मचारी दरबन्दी हुँदा कसको नेतृत्व रहने भन्ने अझै अन्यौल छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.