विद्यालाई हैन नेकपालाई हराउन लागेका छौँ

|

उपनिर्वाचन आउन आठ दिन मात्रै बाँकी छ। सबै राजनीतिक दलहरू आफ्ना उम्मेदवारको प्रचारप्रसारमा जुटेका छन्। यही मंसिर १४ मा कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। यो देशभरमै एक मात्र उपनिर्वाचन हुने क्षेत्रसमेत हो। त्यसैले कास्की-२ ले धेरैको ध्यान खिचेको छ। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र भएकोले पनि यसलाई चासोका साथ हेरिएको छ।

कास्कीमा जम्माजम्मी २१ जना उम्मेदवार चुनावी मैदानमा भए पनि मूख्यतः सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारबीच नै रोचक चुनावी भिडन्त हुने पक्का छ।

यहाँ कांग्रेसले झण्डै ६ दशक राजनीति गरेका पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ भने, नेकपाले स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई। बिपी, गणेशमान, किशुनजीको निकट रहेर राजनीतिमा सक्रिय रहेका पौडेललाई यो उमेरमा आएर चुनाव लड्ने हुटहुटी कहाँबाट आयो? तपाईंलाई नै जनताले किन भोट दिने? यी र यस्तै विषयमा थाहाखबरकर्मी सन्तोष अधिकारीले गरेको संक्षिप्त कुराकानी :

झण्डै ६ दशकको राजनीतिपछि तपाईंलाई चुनाव लड्ने हुटहुटी कसरी जाग्यो? आनन्दले आराम गरेर बसे हुन्न?

हो, अब मैले राजनीतिबाट आराम लिए हुन्छ। तर, अहिलेको सरकारले जुन खाले रवैया देखायो। जनतालाई दुई तिहाइको बलमा झुटको खेती गरेको देखेर मलाई अझै राजनीतिको क्षेत्रबाट देशलाई केही योगदान दिनुपर्छ भन्‍न लाग्‍यो।

यिनीहरूलाई खबरदारी गरिएन भने देशलाई हरेक क्षेत्रको मन्दीको खाडलमा हाल्छन्। देशमा भएको भ्रष्टाचार, अनियमितता रोक्नकै लागि मैले उम्मेदवारी दिएको हुँ। उमेरले देशको लागि योगदान छेक्दैन। मानिस उमेरले होइन विचारले परिपक्क हुनुपर्छ। 

यो क्षेत्र नेकपाका उम्मेदवारले ह्याट्रिक नै गरेको क्षेत्र हो। त्यसैमाथि पनि अहिले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्यालाई नेकपाले उम्मेदवार बनाएको छ। के छन् एजेण्डा जसले विद्यालाई हराउन तपाईंलाई मद्दत गर्छ? 

रवीन्द्रजी साह्रै सरल र मतदातासँग नजिक रहेको नेता हुनुहुन्थ्यो त्यसमा दुई मत रहेन। तर, उहाँको कार्यकालमा भएका वाइडबडी, तारागाउँ रिसोर्ट लगायतका काण्डको विवादले जनतामा निराशा छाएको छ।

यो सरकारले केही राम्रो काम गरोस् भन्ने मलाई र कांग्रेसलाई पनि लागेकै हो। तर, यो सरकारले भ्रष्टाचार, कुशासन, महँगी, कूटनीतिक क्षेत्र कहीँ पनि सुधार गर्न त परको कुरा झन् भद्रगोल बनाउन थाल्यो। देशमा योभन्दा धेरै बेथिति हुन नदिएर सुधार गर्ने मेरो चुनावको प्रमुख एजेण्डा हो।

जनता जसरी निराश भएका छन् त्यो निराशालाई आशामा परिवर्तन गर्नकै निम्ति नेपाली कांग्रेसले यो भ्रष्टाचार, कुशासन अनि महँगीविरुद्ध अभियान सञ्चालन गरेर त्यसैलाई चुनावी मुद्दा बनाएका छ।

सरकार दिनदिनै अधिनायकवादी दिशातिर अग्रसर भएको छ। राष्ट्रियता, प्रजातन्त्र, संघीयता र लोकतन्त्र कमजोर हुँदै गएको छ। सरकारको अधिनायकवादको प्रतिरोध गर्न म चुनावी मैदानमा छु। अहिले नेकपाले रवीन्द्रजीकै श्रीमती अहिले चुनावी अभियानमा हुनुहुन्छ। तर, म विद्यालाई हराउन हैन नेकपालाई हराउन चुनावी मैदानमा छु। 

यो उपनिर्वाचन जितेर न कांग्रेसलाई सत्ता फेरबदलमा टेवा पुग्छ, न अरू ठूलो परिवर्तन हुन्छ, तपाईंलाई भोट किन दिने?

हो यहाँ मैले चुनाव जितेर सत्ता फेरबदल पनि हुँदैन। तर, हामी अहिलेको सरकार ढाल्न चुनावमा आएका पनि होइनौँ। जनताले कांग्रेस सत्तामा नहुँदा भ्रष्टाचार मौलाएको, दुई तिहाइले महँगी बढाएको, करले जनताको ढाड सेकाएको कुरा सम्झिरहेकै छन्।

जनताले यत्तिको बहुमतका साथ जिताएर पठाउँदा केही माखो नमारेपछि अब किन विश्वास गर्छन् त नि। पहिले कांग्रेसले जनताको माझ जुन भूमिका निभाउन सकेन भनेर जनताले नेकपालाई भोट हाले।

नेकपाले त बेथिति मात्रै फैलायो त्यसैले यसपटक सच्चिएको कांग्रेसलाई जनताको भोट आउनेछ। मेरो उम्मेदवारी भनेको एउटा आदर्श र निष्ठालाई कायम गरेर जनप्रतिनिधि हिँड्नुपर्छ भन्ने हिसाबकै लागि हो। अधिनायकवाद हटाई लोकतन्त्र स्थापित गर्नका लागि मेरो उम्मेदवारी हो।

अघिल्लो पुस्ताले तपाईंले चिनेका छन्, कुनै कुनै सामिप्यता रहला। तर, पछिल्लो पुस्ताको लागि तपाईं नयाँ हो नि?

म ६ दशक त राजनीतिमार्फत समाजसेवामै लागेँ। जीवनको कालखण्डमा यहाँका कतिलाई पढाएँ, कति मेरा साथी छन्। उनीहरू सबैसँग कुनै कुनै तवरले म जोडिएको छु। तपाईंले भन्नुभएको नयाँ पुस्ता भनेका तिनै मेरा साथी, मेरा विद्यार्थीका सन्तान हैनन् र? मेरा चुनावी एजेण्डा सबै पुस्ता, वर्गलाई सम्बोधन गर्ने खालका छन्।

म त्यसैमा एकचित्त भएर लाग्नेछु। यसले पनि उनीहरूको भोट पाउनेमा ढुक्क छु। युवा विदेश पलायन भएका छन्। दलित, आदिवासी, जनजातिलगायत सबै पछाडि परेका छन्। समावेशी र समानताको लागि र युवालाई स्वदेशमै केही गर्नुपर्छ भन्ने योजनाअनुरूप अघि बढ्नेछु।

कम्युनिष्टले ह्याट्रिक गरेको, कम्युनिष्टकै गढमा तपाईंले चुनाव जित्ने आधार के छन्? 

रवीन्द्रजीले लगातार तीनपटक चुनाव जित्नु भयो यसैको आधारमा कम्युनिष्टको गढ भन्न मिल्दैन। त्यो भन्दा पहिले त कांग्रेसले पनि कास्की क्लिनस्विप गरेकै हो नि अब कांग्रेसको किल्ला भन्ने?

यो राजनीतिक परिवर्तन हो। बीचको चुनावमा हाम्रो पार्टीमा अन्तरघात धेरै नै भएको हो। जनताले पनि बुझ्‍न बाँकी थियो। अहिले कास्की कांग्रेसमा गुट भन्ने नाम निसाना छैन। मेरो उम्मेदवारीसँगै पार्टी एक ढिक्का भएको छ। यसैले हामीले पहिले पाएको जनमत यसपटक पाउनेछौँ। उपनिर्वाचन जितेर कम्युनिष्टलाई सबक सिकाउने गरी हामी लागेका छौँ।   

मतदातालाई के भन्नुहुन्‍छ? 

मैले धेरै कुरा घरदैलोको बेलामा पनि भनेको छु। जनताले पनि बुझ्नुभएको छ। मैले पनि मेरो इमान ख्याल गरेको छु। तपाईंले जिताएको कम्युनिष्टको उम्मेदवारले के गरे? वाइडबडीको चलखेल देखिहाल्नु भयो। अब सचेत हुने बेला आएको छ। मबाट जनताको विश्वासमा धोका हुँदैन ढुक्क हुनुहोस्। अहिलेको सरकारलाई खबरदारी गर्न पनि यो उपनिर्वाचन कांग्रेसले जित्न जरुरी छ।  

प्रतिस्पर्धी उम्मेदवारको अन्तर्वार्ता पनि पढ्नुस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.