|

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस भाद्र ४ गते प्रदेश स्थापना तथा शहीद दिवस मनाउने भएको छ।

प्रदेश घोषणा गर्दा अहिलेको कर्णाली प्रदेशलाई सुदूरपश्चिममा मिसाइएपछि कर्णालीका जनता आन्दोलित भएका थिए। आन्दोलनका क्रममा ४ जनाको साहदत पनि भएको थियो।

सोही अवसरमा कर्णाली सरकारले भाद्र ४ लाई प्रदेश स्थापना तथा शहीद दिवस मनाउने निर्णय गरेको हो। यस्तै साउन १ गते साउने संक्रान्तिमा देउडा पर्व मनाइने भएको छ। कर्णाली सरकारले साउन १ गतेलाई देउडा पर्वका रुपमा मनाउन प्रदेशमा सार्वजनिक विदा दिने पनि निर्णय गरेको छ। 

कर्णाली सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली सरकारको दुईवटा बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएकी हुन्। यसैगरी कर्णाली सरकारले माघी पर्व, भोट ल्होसार र वकर इदका अवसरमा पनि सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ। 

सरकारले प्रदेश अस्पताललाई आवश्यक पूर्वधार निर्माण गरी शिक्षण अस्पताल संचालन गर्नका लागि सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सहमति दिने निर्णय गरेको मन्त्री केसीले जानकारी दिइन्। यसैगरी ढुंगा गिट्टी बालुवा उत्खनन, क्रसिङ र बिक्री, कर्णाली उज्यालो कार्यक्रम बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रमको कार्यविधि लगायतका विभिन्न नौवटा कार्यविधि स्वीकृत गरेको छ।

यस्तै सरकारले भेरी बबई डाइभर्सन आयोजनाको दायाँ किनाराबाट थप जलविद्युत्त उत्पादन गर्नेबारे सम्भाव्यता अध्ययन, लागत अनुमान, विस्तृत परियोजना प्रतिवेदन आयोजनाबाटै तयार गरी प्रदेश सरकारलाई दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ।

सोही आयोजनामा प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई प्रतिनिधि चयन गर्ने निर्णय गरेको मन्त्री केसीले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.