|

तनहुँ : नेपालको तराई र पश्चिम क्षेत्रको कालापानी, लिपुलेप र लिम्पियाधुरालगायतका भूभागहरूको भारतले सीमा अतिक्रमण गरेको विषयप्रति क्षेत्री समाज तनहुँले आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। क्षेत्री समाज नेपाल जिल्ला कार्य समिति तनुहँले बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हो।

क्षत्री समाज तनहुँका अध्यक्ष रामबहादुर अधिकारीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पण्डितले सिमानाको अतिक्रमण सम्पूर्ण नेपालीको सरोकारको विषय भएको बताउँदै ज्ञापनत्रलाई सम्बन्धित निकायमा पुर्‍याउने बताए। ज्ञापनपत्र बुझाएपछि व्यास ३ अनशन चौतारीमा कोणसभा गर्दै समाजले भारतले आफ्नो नक्सामा राखेको नेपाली भूभाग तत्काल फिर्ता गर्नुपर्ने क्षत्री समाजका अगुवाहरूले बताए।

कोणसभामा क्षत्री समाज केन्द्रीय सल्लाहकार समुन्द्र गोदारले इतिहासको जुनसुकै परिस्थितिमा क्षत्रीले देशको भूमी रक्षा गरेको बताए। देशको सीमा रक्षाको लागि अम्बरसिंह थापा, विरभक्त थापाको योगदानलाई स्मरण गदै कालापानीबाट तत्काल भारतीय सेना फिर्ता हुनुपर्नेमा गोदारले जोड दिए।

क्षत्री समाज केन्द्रीय सदस्य क्याप्टेन भरतबहादुर अधिकारीले मुलुक जोगाउन कुनै पनि कसुर बाँकी नराख्ने भनाइ राखे। उनले देशलाई संकट परेको अवस्थामा क्षत्रीको भूमिका महत्वपूर्ण भएको स्मरण गराउँदै देशको भूमि रक्षामा सबै नेपाली एकजुट हुनुपर्ने बताए। देश सबै जातजातिको फूलवारी भएकाले मुलुक जोगाउन क्षत्री र क्षत्री मात्रै नभई नेपाली सबै एक हुनुपर्ने क्षत्रीहरूको भनाइ छ।

क्षत्री समाजका अध्यक्ष रामबहादुर अधिकारीको अध्यक्षतामा भएको कोणसभामा क्षत्री समाज गण्डकी प्रदेश सहसचिव कृष्ण बहादुर घिमिरेले दुई देश बीचको सम्बन्धलाई कूटनीतिक तवरबाट अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। ज्ञापनपत्र बुझाउन जाने क्रममा क्षत्रीहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो, कालापानीबाट भारतीय सेना फिर्ता गरलगायतका नारासमेत लगाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.