|

कास्की : निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले आफू सामन्तवादको पृष्ठपोषक नभई जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

चुनावी घरदैलोका क्रममा पोखरा–३३ ठूलढुङ्गा, कसेरी, आपुभञ्ज्याङ, मालागिरी क्षेत्रमा भएको छुट्टाछुट्टै चुनावीसभामा भट्टराईले जनताको सुख दुःखसँगै रहने बताइन्। समाजका पिछडिएका वर्गलाई आर्थिकरूपमा सवल बनाउन सकेमात्र समृद्धि सम्भव हुने उनको भनाइ थियो।

रवीन्द्र अधिकारीका अपूरा सपनालाई पूरा गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको स्मरण गर्दै उनले पार्टी र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औँल्याइन्।

राजनीतिक एजेण्डामा तार्किक बहस गरेर देश विकासमा साझेदारी गर्ने राजनीतिक संस्कारको अहिले आवश्यकता भएको भट्टराईले उल्लेख गरिन्। उनले सबैको विचार र अधिकारलाई सम्मान गर्दै आफू राजनीतिमा अघि बढ्ने उल्लेख गरिन्।

सो अवसरमा नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले नेकपाको सरकारले दण्डहीनता, अनियमितता र भ्रष्टाचारविरुद्ध कुनै सम्झौता नगर्ने बताए। कास्की–२ मा पोखरा–४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडामा भूमिहिनको बसोबास रहेको नेकपा कास्कीका सदस्य ओम पौडेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.