समाज

सीमा वारपार रेल परियोजनाबारे छलफल गर्न नेपाल आउँदै चिनियाँ उच्च टोली

Representative Photo
मंसिर ५, २०७६

    काठमाडौं : नेपाल र चीनबीच सीमा वारपार रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि आगामी मङ्गलबार काठमाडौंमा द्विपक्षीय छलफल हुनेभएको छ। छलफलका लागि चीनको राष्ट्रिय रेल प्राधिकरणका उच्च अधिकारीको नेतृत्वमा वार्ताटोली काठमाडौं आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए।

    लामो समयदेखि रेलमार्गको विषयमा विभिन्न चरणमा दुई देशबीच औपचारिक-अनौपचारिक छलफल हुँदै आएको भए पनि उक्त परियोजनालाई व्यवहारमा अनुवाद गर्न चिनियाँ राष्ट्रपति सी जिनफिङको राजकीय भ्रमणका बेला सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो।

    चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकामा नेपालले उक्त रेलमार्गलाई केरुङ–काठमाडौं हुँदै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको छ। चीनको ‘बेल्ट एण्ड रोड’ पहल र हिमालयन वारपार बृहत् सम्पर्क सञ्जालमा नेपाल पक्षधर राष्ट्र भइसकेको छ।

    चीनको ‘नेशनल रेल्वे अथोरिटी’ले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन गत मङ्सिर २४ गते नेपाल सरकारसमक्ष प्रस्तुत गरिसकेको छ। रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको उक्त प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र लगानीको ढाँचाका सम्बन्धमा दुई देशबीच पटकपटक छलफल भएको छ। आपसी छलफललाई निरन्तरता दिँदै निष्कर्षमा पुग्ने सिलसिलमा मङ्गलबार छलफल हुन लागेको हो। चिनियाँ टोलीले काठमाडौं–पोखरा रेलमार्गको पनि सम्भाव्यता अध्ययन गरिसकेको छ।

    केरुङ–काठमाडौं रेलमार्गको दूरी करीब ८० किलोमिटर हुनेछ। सो रेलमार्गको निर्माण अवधि नौ वर्षको हुने र करीब तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ। काठमाडौं–पोखरा रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ५ देखि १० गतेसम्म गरेको चीनको औपचारिक भ्रमणका क्रममा सो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो।

    आगामी बैठकमा चिनियाँ पक्षले नेपालका अधिकारीलाई प्राविधिक विषयमा पनि सुझाव दिने अपेक्षा गरिएको छ। यसअघि पहिलो र तेस्रो छलफल नेपालमा र दोस्रो र चौथो छलफल चीनमा भएका थिए।

    उक्त छलफलले डिपिआरका विषयमा अन्तिम टुङ्गो लगाउने अपेक्षा गरिएको छ। सचिव कार्कीले सरकारले रेल क्षेत्रमा महत्वकाङ्क्षी योजना अघि सारेकाले चुनौतीका साथ अघि बढेको बताए। ‘प्रस्तुत योजना सोचेजस्तो सरल छैनन्, कार्यान्वयनका निम्ति बढी नै जोडबल गर्नुपर्ने अवस्था छ’, कार्कीले भने।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार सम्हाल्ने वित्तिकै नवनियुक्त मन्त्री वसन्तकुमार नेम्वाङले रेलमार्गका आवश्यक प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै भने, ‘मुलुकमा राष्ट्रिय महत्वका योजना धेरै छन्, यी सबै काम द्रूत गतिमा लैजानु जरुरी छ, त्यसमा म लाग्छ।’

    चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीबाट रेलमार्ग निर्माणका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौताले नेपालको व्यापार वृद्धिमा त्यसले योगदान पुग्नेमा नेपाली पक्ष विश्वस्त छ।

    बिआरआई सहकार्य, सहयोग तथा ‘कनेक्टिभिटी’का लागि महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको तथा त्यसले अर्थतन्त्रहरूलाई एकीकृत गर्न, बजारहरुलाई जोड्न तथा पूर्वाधारहरूमा लगानी गर्न प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विज्ञहरू बताउँछन्।

    ‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडकहरू, बन्दरगाहहरू, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषय रहेका छन्।

    • रासस

नारायण ढुंगाना

पत्रकार ढुंगाना ०७५ असोजसम्म थाहाखबरका चितवन संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]