कसको टिमले मार्ला बाजी ?

|

युएई : आवुधाबीमा जारी छोटो स्वरुपको क्रिकेट प्रतियोगिता टी–१० लिगमा शुक्रबार साँझ टिम आवुधाबी र कर्नाटका टस्कर्सबीच प्रतिस्पर्धा हुँदैछ। 

यी दुई टोलीबीचको खेल हेर्न नेपाली क्रिकेटप्रेमीले निकै उत्सुक छन्। किनभने दुवै टिममा एक÷एकजना नेपाली क्रिकेटर सहभागी छन्।

टिम आवुधाबीमा नेपालका अलराउण्डर एवम् पूर्व कप्तान पारस खड्का छन् भने कर्नाटका टस्कर्समा चर्चित लेगस्पिनर सन्दीप लामिछाने छन्। जारी लिगमा यी दुई टोली पहिलो पटक आमने–सामने हुन लागेका हुन्।

पारसले पहिलो पटक टी–१० लिगमा स्थान बनाएका हुन्। ३२ वर्षीय पारसलाई टिम आवुधाबीले १० हजार डलरमा अनुबन्धित गरेको हो। १९ वर्षका सन्दीपले भने अघिल्लो वर्ष पनि यो लिग खेलेका थिए। उनलाई यसवर्ष कर्नाटका कस्कर्सले ४० हजार डलर खर्चिएर अनुबन्ध गरेको हो।

कुन टिम बलियो ?

दुवै टोलीले अहिलेसम्म पाँच खेल खेलिसकेका छन्। तर, तुलनात्मक रुपमा सन्दीपको टिम कर्नाटका टस्कर्सभन्दा पारसको टिम आवुधाबी बलियो देखिन्छ।

आवुधाबीले पाँच खेलमा एउटामा जीत र दुईमा हार बेहोरेको छ। एक खेल बराबरीमा सकिएर अंक बाँड्नुपर्‍यो भने वर्षाका कारण एउटा खेल नतिजाविहीन भयो। कुल आठ टिम सहभागी यस लिगमा पारसको टोली ४ अंकसहित छैठौँ स्थानमा छ।

सन्दीपको टोली कर्नाटका टस्कर्सले पनि पाँच खेलमा एक मात्र जीत हात पारेको छ। तीन खेलमा हार बेहोरेको कर्नाटकाको एउटा खेल नतिजाविहीन भएको थियो। कुल तीन अंकसहित कर्नाटका टस्कर्स अंकतालिकाको पुछारमा छ।

सन्दीपलाई बढी मौका

कर्नाटका टस्कर्सले अहिलेसम्म खेलेका सबै खेलमा सन्दीपलाई मौका दिएको छ। टिम आवुधाबीले भने पारसलाई सुरुका दुईवटा खेलमा मात्र अवसर दियो।

पाँच खेलमा सन्दीपले एक सय १८ रन खर्चिएर कुल ६ विकेट हात पारेका छन्। बंगला टाइगर्सविरुद्धको खेलमा उनले दुई ओभरमा मात्र ९ रन दिएर महत्वपूर्ण दई विकेट हात पारे। 

यो नै यस लिगमा उनको उत्कृष्ट प्रदर्शन हो। बिहीबार क्वालान्डर्सविरुद्धको खेलमा पनि उनले दुई विकेट नै चट्काए। तर, १२ बलमा उनले ३० रन खर्च गरे।

यसअघि डेक्कन ग्ल्याडिएटर्सविरुद्धको खेलमा त सन्दीपले ‘रामधुलाई’ नै खाए। पहिलो ओभरमा मात्र पाँच रन दिएका उनले दोस्रो ओभरमा ३० रन खर्चिए। 

डेक्कन ग्ल्याडिएटर्सका केरन पोलार्डले सन्दीपको लगातार चार बलमा चार छक्का प्रहार गरे। पोलार्डले पाचौँ बलमा चौका हिर्काए। अन्तिम बलमा दुई रन लिए।

मात्र १० ओभर खेलिने यस लिगमा सन्दीपले अपेक्षाअनुरुप खेल देखाउन सकिरहेका छैनन्। यद्यपि, कर्नाटका टस्कर्सका कप्तान हासिम आम्लाले उनलाई लगातार अवसर भने दिइरहेका छन्।

पारसलाई खोइ मौका?

सुरुका दुई खेलमा अन्तिम–११ मा स्थान बनाएका पारस पछिल्ला तीन खेलमा बेञ्चमा बसे। सोमबारयताका सबै खेलमा उनलाई टोलीमा समावेश गरिएन। 

आवुधाबीका कप्तान मोइन अलीले पारसलाई बेञ्चमा राखेर वायन म्याडसेनलाई मैदान प्रवेश गराएका छन्। तर, म्याडसेनले पनि गतिलो प्रदर्शन गर्न सकेका छैनन्।

कप्तान अलीले सुरुका दुई खेलमा पारसलाई खेलाए पनि राम्रो अवसर दिएका थिएनन्। उनले पारसलाई छैठौँ नम्बरमा मात्र ब्याटिङ गर्न पठाएका थिए। जसका कारण पारसले रन बनाएर आफूलाई प्रमाणित गर्ने मौका पाएका थिएनन्।

ब्याटिङ अर्डरमा छैठौँ नम्बरमा रहेका कारण पारसले दुई खेलमा मात्र चार रन जोडेका छन्। दुई खेलमा उनले जम्मा चार बल फेस गर्न पाएका थिए। 

पहिलो खेलमा पारसले तीन बल खेल्ने मौका पाए। तीन बलमा उनले नटआउट रहँदै तीन रन बनाए। दोस्रो खेलमा उनले एक बल मात्र सामना गर्न पाए। दुवै खेलमा नटआउट रहेका पारसले राम्रो खेल देखाउने अवसर त पाएका छैनन् नै, नराम्रो प्रदर्शन पनि गरेका थिएनन्। 

सन्दीप र पारसको भेट होला?

शुक्रबार हुने कर्नाटका टस्कर्सविरुद्धको खेलमा पारस अन्तिम–११ मा पर्छन् कि पर्दैनन्, हेर्न बाँकी नै छ। सन्दीप भने टिममा पर्ने पक्कापक्कीजस्तै छ। पारस र सन्दीप दुवैजना टोलीमा रहे भने  पनि दर्शकले यी दुईबीचको भिडन्त हेर्न पाउने सम्भावना निकै कम छ। 

सन्दीपले प्रायः चौथो र छैठौँ ओभरमा बलिङ गर्छन्। यदि पारस टोलीमा समावेश भए भने पनि अन्तिम ओभरतिर मात्र मैदान पस्ने मौका पाउन सक्छन्। यसकारण सन्दीपको बलमा पारसले ब्याटिङ गर्ने सम्भावना छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.