|

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले नेपालगञ्जको पुष्पलाल चोक-२ मा नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ। एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रममाझ उक्त सेन्टरको उद्घाटन गरेका हुन्।

संचालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ। यो योजनाअन्तर्गत बिहीबारदेखि शनिबारसम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन्। प्राप्त डेटा भोलुम ३ दिनको लागि मान्य रहनेछ। यसका साथै शनिबारसम्म उक्त सेन्टरबाट कारोबार गर्ने हरेक ग्राहकले उपहार पनि प्राप्त गर्नेछन्। 

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्ने कम्पनीले जनाएको छ। त्यसैगरी ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य सम्पूर्ण ग्राहक सेवा प्राप्त गर्न सक्छन्। 

आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्ने प्रतिबद्घता अनुरुप, यस नयाँ सेन्टरले ग्राहकलाई थप मूल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ। आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ बजे सम्म यस सेन्टरले ग्राहकलाई सेवा प्रदान गर्ने एनसेलले जनाएको छ। आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टर संचालनमा ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.