भ्रमण वर्षलाई ६५ करोड बजेट

|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलको लागि तत्काल चार किल्ला छुट्याइने बताएका छन्।

शुक्रबार राजधानीमा भएको साक्षत्कारमा मन्त्री भट्टराईले निजगढ विमानस्थलबारे गलत प्रचार गरिएको भन्दै छिट्टै यस्तो काम अघि बढाइने बताएका हुन्। 

‘वन मन्त्रालयसँग यसबारेमा समन्वय गरिरहेका छौं। यो महिनाभित्र जग्गाको काम सम्पन्‍न गरिनेछ। साइट क्लिरियन्स र सडक बनाउने काम गर्छ। विमानस्थल निर्माणको लागि इपिपी मोडलमा जाने कुरा भएको छ, यसको लागि स्विट्जरल्याण्डको जुरिच एयरपोर्टको आशय छनौट भएको छ। यसको फाइनान्सियल स्टाटस हाम्रो लगानी बोर्डले हेर्दैछ,’ भट्टराईले भने। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई निजगढ विमानस्थलबारेमा पटक-पटक सोध्ने गरेको सुनाउँदै मन्त्री भट्टराईले भने,‘प्रधानमन्त्रीज्युले सोध्नुभएको छ, मैले पनि अन्तरमन्त्रालय समन्वय गरेर छलफल गरिरहेको छु, लगानी बोर्डसँग पनि छलफल गरिरहेको छु। उनले आगामी पाँच वर्षभित्र निजगढबाट अमेरिका जान सकिने ठोकुवा गरे। उनले भने,‘द्रुत गतिमा काम हुन्छ।

वर्षमा २० लाखमात्रै होइन, एक करोड पर्यटक आउने बनाउँछौं। गौतम बुद्ध र निजगढ विमानस्थल र नेपालका ५० भन्दा बढी आन्तरिक विमानस्थल हुनेछन्, अब नेपालमा पर्यटनको विकास हुन्छ।’ 

केरुङ-काठमाडौं-लुम्बिनी रेल ल्याउने काम हुन लागेको उनले सुनाए। ‘हामी प्राकृतिक सम्पदालाई नियतबश क्षति पुर्‍याउने पक्षमा छैनौं। तर, विकल्प दिएर हामी विकास गर्छौं। एउटा रुख काट्दा २५ वटा रोप्नुपर्छ। निजगढमा कति रुख काट्नुपर्ने हो भन्ने विषयमा हामी यही महिनाभित्र तथ्यांक दिन्छौं', उनले भने, '२५ लाख रुख काट्ने काम जिन्दगीमा कहिल्यैपनि हुँदैन्। आधीको आधी पनि काट्दैनौं। बरु, आधीको आधीको पनि आधी पनि चाहीँ काटिन्छ।’ उनले जनतालाई भड्काउने काम नगर्न पनि चेतावनी दिएका छन्। उनले भने,‘हामी कम क्षतिमा काम गर्छौं।’ 

उनले यसका लागि साइट क्लियरेयन्स र बस्ती स्थानान्तरणको लागि मन्त्रालयसँग पर्याप्त बजेट रहेको पनि सुनाए। उनले अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकार आफैं बनाउने निर्णय पनि जीवित रहेको बताए। 

उनले आफूहरुले काम गर्दा अरुलाई ठूला कुरा लागेको पनि सुनाए। उनले भने,‘७५ किलोमिटरको पेट्रोलियम पाईपलाईनको काम सम्पन्‍न भएर सञ्चालनमा आईसकेको छ। काठमाडौं-तराई द्रुतमार्ग बन्दैछ। भेरी डाइभर्सन बनाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिइसक्नुभएको छ। नेपाल अहिले झिलीमिली भएको छ, तर साथीहरु यसलाई मान्नुहुन्न। परीणाम आउनेगरि काम गर्न हिजोमात्रै प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ।’

थानकोट सुरुङमार्गको पनि शिल्यान्यास भइसकेको उनले बताए। पछिल्लो समय नेपालबाट अष्ट्रेलियाको सिधा हवाई सेवा सुरु गरिएको, युएई, चीन र भारतसँग थप शहरमा हवाई सेवा विस्तार गर्न लागिएको पनि उनले सुनाए। नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सले पनि थप सेवा विस्तार गर्न लागेको उनले सुनाए।

भट्टराईले विगतमा ५/६ महिना मन्त्रालय राजनीतिक नेतृत्वविहीन भएकोले भ्रमण वर्षको तयारीमा केही ढिलाई भएपनि अहिले काम द्रुत गतिमा अघि बढिरहेको स्पष्ट पारे। उनले भने,‘म आएपछि भ्रमण वर्ष सफल तुल्याउनको लगातार छलफल गरेको छु, यससँग सरोकारवालाहरुसँग पनि धेरै पटक छलफल तथा अन्तरक्रिया गरेको छु।’

अघिल्लो आर्थिक वर्षमा भ्रमण वर्षको लागि दश करोड बजेटमात्रै छुट्याईएको यो वर्ष १५ करोड बजेट छुट्याईएको  उनले सुनाए। उनले भने,‘भ्रमण वर्षको लागि २५ करोड बजेट भनेको न्यून हो, अहिले हामीले ६५ करोडको बजेट पास गरेका छौं।’

उनले पर्यटन वर्षको प्रचारको लागि पनि सरकारले विशेष ध्यान दिएको सुनाए। सन् २०२० को जनवरी १ तारिखमा भ्रमण वर्षको भव्य शुभारम्भ हुने उनको भनाई छ। उनले भने,‘यो कार्यक्रम देशभरि नै एकसाथ सुरु हुनेछ। काठमाडौंमा हामीले केही दिनभित्रै ठाउँ घोषणा गर्छौं। दशरथ रंगशाला, सैनिक मञ्चलगायत कहाँ हुन्छ, हामी तोक्छौं।’

भ्रमण वर्षको शुभारम्भमा पचासौं हजार जनसहभागिता रहनेपनि उनले विश्वास दिलाए। त्यस्तै, उनले भ्रमण वर्षलाई लक्षित गरेर आफूले ४० भन्दा बढि देशका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइसकेको पनि जनाए।

उनले भने,‘हामीले नेपाल घुम्न आउने पर्यटकहरुको आधारमा मैले ४० देशका पर्यटकमन्त्रीहरुलाई निम्तो पठाएको छु।’ भट्टराईले सोही सन्दर्भ पारेर नेपालमा टुरिज्म मिनिष्ट्री कन्क्लेभ पनि आयोजना गरिने जानकारी दिए। ‘यो कन्क्लेभ ऐतिहाँसिक हुनेछ।’-उनले भने। 

भ्रमण वर्ष सफल तुल्याउनको लागि पर्यटन प्रर्वद्धन गर्ने विभिन्‍न अन्तर्राष्ट्रिय संघ, संस्था, विभिन्‍न चर्चित अन्तर्राष्ट्रिय व्यक्तित्वहरु (कलाकार, खेलाडी) लाई पनि नेपाल भ्रमणको लागि आमन्त्रण गरिएको उनले सुनाए। उनले भने,‘हामीले विश्वमै चर्चित व्यक्तित्वहरुलाई प्रचासप्रसारको लागि पनि सद्भावना दुत बनाएका छौं। उहाँहरुबाट सहयोग लिने क्रम जारी छ।’

त्यस्तै, विदेशमा रहेका नेपाली कुटनीतिक नियोग, संघ संस्थाहरुलाई पनि नेपाल भ्रमण वर्षको कार्यक्रम गर्न निर्देशन गरिएको उनले सुनाए। उनले भने,‘नेपालको प्रतिनिधित्व गर्ने विभिन्‍न कुटनीतिक नियोगहरुलाई हामीले नेपाल भ्रमण वर्षको भव्य उद्धघाट्न गर्न निर्देशन दिएका छौं। हाम्रा विदेशस्थित् नियोगहरुले जनवरी ७ तारिखमा कार्यक्रम गर्नेछन्।’

मन्त्री भट्टराईले काठमाडौंको एयरपोर्टमा अध्यागमन सुधार गर्ने र यसलाई अनलाईन प्रणालीमा लगिन लागेको पनि बताए। उनले भने,‘अबको १५-२० दिनमा अध्यागमन स्मार्ट बन्छ। कतिपयले २ घण्टा उभिँदा पनि लगेज पाइएन भनेर आरोपको लागि आरोप लगाएका छन्। तर, म दाबाका साथ भन्छु काठमाडौंको एयरपोर्टमा ३० देखि ४५ मिनेटमा सबै लगेज क्लियर हुन्छ।’

उनले विमानस्थलमा सुधार गर्न दिइने जायज सुझावलाई आफूहरुले सकारात्मक रुपमा लिने गरेको पनि सुनाए। 

उनले नेपाल वायु सेवा निगमको गौरवशाली इतिहास रहेको उल्लेख गर्दै पछिल्लो समय निगम कमजोरी बन्दै गएको टिप्पणी गरे। उनले भने,‘यो व्यवसाय गर्ने र नाफा कमाउने संस्था हो, यसलाई मागी खाने भाँडो बनाउनुहुँदैन। यसले नाफा कमाउनुपर्छ। अरु एयरलाइन्स नाफामा छन्। तर, निगम मात्रै किन घाटामा छ ? म आएपछि मैले यसको व्यवस्थापन टिमलाई सुधारको योजना ल्याउन निर्देशन दिएको छु। सधैं अनुदान दिएर चल्दैन। आफैं नाफा कमाउनुपर्छ।’

उनले नेपाल वायु सेवा निगम अहिले ४० अर्बको ऋणमा रहेको र यसले वार्षिक चार अर्ब व्याज तिर्दै आएको बताए। उनले भने,‘वार्षिक एक अर्ब त यसले जहाज ओभर ग्राउण्ड भएरले घाटा लागेको छ। मैले यी सबै कुराको अन्त्य हुनुपर्छ भनेर कडा निर्देशन दिएको छु।’

निगमको बोर्डका सदस्यहरुलाई दश वर्षसम्म निःशुल्क हवाई टिकट दिने व्यवस्था गरिएको पाइएकोमा आफूले उक्त सुविधा हटाउन निर्देशन दिएको उनले सुनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.