|

धरान : पूर्वगृहमन्त्री कृष्ण सिटौलासहित चुनावी प्रचारमा पुगेको नेपाली कांग्रेसको एउटा गतिविधिले शुक्रबार धरान उपमहानगरपालिका–३ स्थित जामे मस्जिदमा मुस्लिम समुदायको नमाज (धार्मिक प्राथना) बिथोलिएको छ । 

यो घटनापछि मुस्लिमको साझा संस्था अन्जुमन इस्लामियाले खेद व्यक्त गरेको छ । जामे मस्जिदमा हरेक शुक्रबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म नमाज (धार्मिक प्रार्थना) हुने गर्छ । 

नमाज शान्त वातावरणमा हुनुपर्छ । त्यसबेला कोही पनि मञ्जिद भित्र प्रवेश गर्न र बाहिर निस्कन पनि मिल्दैन । तर शुक्रबार नमाज सकिनै लाग्दा दिउँसो कबिर १ बजेर २५ मिनेटमा कांग्रेसका नेता सिटौलासहितको समुह मष्जिदको मूल प्रवेश गेटमा पुगेर माइकिङ गरे। जसले नमाजलाई असर पुग्यो ।

चुनाव प्रचारमा आएको कांग्रेसका नेता, कार्यकर्ताले माइकिङ गरेपछि नमाज बिथोलियो । समुहको प्राथना सकिएर व्यक्तिगत प्राथना चलिरहँदा कांग्रेस कार्यकर्ताको समुहले माइकको स्पिकर मष्जिदभित्र फर्काएर नाराबाजी गरेका थिए । 

कांग्रेस उम्मेदवार तिलक राई धार्मिक आस्था तथा अनुशासन उल्लंघन गर्दै मष्जिद भित्रै भोट माग्न छिरे । ‘मस्जिद भित्रै तिलक राई प्रवेश गरे । नमाजको बेला कोही भित्र जाँदैनन्, भित्रको मान्छे बाहिर पनि निस्कन मिल्दैन, यो अनुशासन कायम हुनुपर्छ,’ एक मुस्लिम अगुवाले भने,‘यो घटनाले मुस्लिम समुदायको भावनामा चोट पुर्याएको छ ।’

कांग्रेसको गतिविधिले नमाजमा अवरोध भएको र धार्मिक अनुष्ठानमा खलल पुगेको भन्दै अन्जुमन इस्लामिया धरानले प्रेश विज्ञप्ती जारी गर्दै खेद व्यक्त गरेको छ । 
अध्यक्ष युसुफ अलि र सचिव अफाक अहमदले जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘मस्जिदको गेटमा चुनाव प्रचारको नाममा नाराबाजी र माइकिङको माध्यमबाट नमाज
 
(ध्यान)अवरोध भएको साथै एक धार्मिकस्थलको धार्मिक अनुष्ठानमा खलल हुने गरि गरिएको यस्तो कार्यप्रति अन्जुमन इस्लामिया खेद व्यक्त गर्दछ ।’ 

इस्लामियाले आगामी दिनमा यस्तो क्रियाकलाप नगर्न पनि दलहरुलाई अनुरोध गरेको छ । ‘नमाज हाम्रो अत्यन्त महत्वपुर्ण धार्मिक अनुष्ठान हो, आज कांग्रेसको गतिविधिले त्यसमा व्यवधान खडा भयो । यसले अत्यन्तै दुःखित तुल्याएको छ,’ सचिव अहमदले भने, ‘मत माग्नु अधिकारको कुरा हो, तर मस्जिद भित्रको वातावरण, संवेदनशीलता र अनुशासनको पनि हेक्का हुनुपर्छ । कांग्रेसले गरेको गल्ती अरु दलबाट नदोहोरियोस् ।’

इस्लामियाका अनुसार शुक्रबार अल नेपाल मुस्लिम संगठनले नेकपाका उम्मेदवार प्रकाश राईलाई मस्जिदमा ल्याएर परिचय गराउने तयारी थियो । इस्लामियाले नमाजको शान्त वातावरण तथा अनुशासनलाई असर नपर्ने गरी उम्मेदवारलाई ल्याएर परिचय गराउन अनुमति दिएको थियो । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.