फिचर

सांस्कृतिक महत्वको केन्द्र 'रैनादेवी' काे न्वागी उत्सव

मंसिर ७, २०७६

    कपिलवस्तु : मौलिक भेषभूषा र संस्कृतिको बृहत प्रदर्शन गर्ने पाल्पाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीमा यही मंसिर ९ र १० गते न्वागी पर्व मनाइने भएको छ।

    प्रत्येक वर्ष नयाँ धान रैनादेवी भगवतीलाई चढाउने दिनलाई न्वागी पर्वका रूपमा मनाउने प्रचलन छ। यहाँ वर्षौंदेखि न्वागी खाने र भगवतीलाई चामल चढाएको दिनमा बृहत मेला लाग्ने गर्दछ । नयाँ धान भित्राएपछि रैनादेवी भगवतीलाई दही, चामल, सिलाम, केरा, मह लगायत चढाएर न्वागी खाने चलन रहेको छ।

    न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याउन प्रचलन भूवनपोखरी क्षेत्रमा छैन। ‘यदि प्रयोग गरियो भने घरमा अनिष्ट हुने धार्मिक विश्वास छ’, भुवनपोखरीका स्थानीय भरतमणि लम्सालले भने, ‘यसैले यहाँका किसानले परम्परागत रूपमा न्वागी खाने र पर्वका रूपमा मनाउने गर्छन्।’ दशैं, तिहारपछिको ठूलो पर्वका रूपमा न्वागीलाई लिइने गरेको मन्दिर संरक्षण विकास समितिका अध्यक्ष भेषराज पन्थीले भने। यस वर्षको न्वागी मेला विशेष हुने भएकाले सहभागिताको लागि विभिन्न प्रचारका काम गरिरहेको उनले बताए।

    गाउँमा आउने अतिथि तथा मन्दिर दर्शन गर्न आउने सबैलाई दही, चामल खुवाएरै परम्परागत संस्कृतिलाई जगेर्ना गरेको रैनादेवी छहरा गाउँपालिका ३ का वडाध्यक्ष लालबहादुर दर्लामीले बताए। ‘यस भेगकै ठूलो चाडका रूपमा हामीले लिने गरेका छौं’, उनले भने, ‘त्यसैले यसलाई अझ व्यवस्थित र भव्य बनाउँदै लगेका हौं।’

    न्वागीका अवसरमा लोपोन्मुख पञ्चेबाजा, सोरठी (ठूलोनाच), मालाश्री, रत्यौली, झाम्रे, चुड्का, लाखे, कौडालगायत विभिन्न जातजातिका स्थानीय मौलिक कला-संस्कृतिको प्रस्तुति गरिने कार्यक्रम तय गरिएको छ। मन्दिर परिसरमा नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश समितिले एक अन्तरक्रियाको आयोजना गर्दै ऐतिहासिक महत्व बोकेको रैनादेवी मन्दीरलाई आवश्यकता अनुसार विकास गर्न नसकिएको भन्दै अब स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा यसलाई व्यवस्थित गरिनेमा जोड दिइएको छ।

    कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य तुलाराम घर्ती (बसन्त) ले हालसम्म स्थानीय सरकार र प्रदेशको पहलमा यसको थप विकास गरिने बताए। ऐतिहासिक महत्वको मन्दिरलाई व्यवस्थित गर्न नसक्दा यसको प्रचार प्रसार पनि हुन नसकेको उनले उल्लेख गरे। यसको विकास गर्न प्रदेश सरकारमा आफूले सक्दो पहल गर्ने उनको भनाई थियो।

    पूर्व सांसद यादवबहादुर रायमाझीले सामूहिक प्रयासले मात्र यसको विकास गर्न सकिने भन्दै मन्दिरको उचित संरक्षणको गर्न पहिलो प्रयास स्थानीय सरकारले नै गर्नुपर्ने बताए।

    वडा नं. ३ का वडा अध्यक्ष लालबहादुर दर्लामीले यसवर्ष न्वागी पर्वको अवसर पारेर यही मंसिर ९ र १० गते विविध कार्यक्रम गर्न लागिएको जानकारी दिए। ९ गते साहित्य तथा सोरठी नाच प्रतियोगिता गर्ने तयारी छ। उत्कृष्टलाई पुरस्कृत गरिने र सहभागिलाई पनि केही रकमको ब्यवस्था गरेको दर्लामीले बताए। १० गतेको समापन कार्यक्रम प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरीले गर्ने उनले जानकारी दिए।

    यस्तो छ इतिहास

    किम्वदन्ती अनुसार रैनादेवी मन्दिरनजिकै न्यौपाने ब्राह्मणले गाई पाल्ने र छहरी मगर गोठाला थिए। गाइले दूध नदिएपछि उनीहरू पिछा गर्दै जाँदा जंगलको बीचमा सुनको मौलोमा गाइले दूध चढाएको देखे। रैनादेवी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भेषराज पन्थीका अनुसार दुवैजनाले सुनको मौलो खोज्दै गए। जति खन्यो उति भासिँदै गयो। मौलोको केही टाउको मात्र देखियो। टाउको भाँचेर ल्याउन खोज्दा रगत निस्कियो।

    देवी रोई कराई उत्पन्न भएको धार्मिक विश्वास रहेको उनले बताए। ‘अहिले पनि यहाँ न्यौपाने ब्राह्मण र छहरीलाई यस्तो किम्बदन्ती छ भन्ने गरिएको छ’, उनले भने, ‘तर, छहरी मगर गाउँमा छैनन्। न्यौपाने भने पूजा गर्न जाने गर्छन्।’ खनेको खाल्डो अहिलेसम्म भएको जनविश्वासका आधारमा अझै पनि सोही खाल्डोमै पूजा गरिन्छ। देवीको पूजा गर्ने स्थानमा काठका डाँडाभाटाले छोपेर राखिएको छ। त्यसैलाई मन्दिरको स्वरूप दिइएको व्यवस्थापन समितिका अध्यक्ष पन्थीले बताए।

    रैनादेवीको वरपरका प्राकृतिक सम्पदामा ऐतिहासिक स्थलहरू रहेका छन्। माण्डव्य ऋषिको तपोभूमि माडी, और्व ऋषिको तपोभूमि अर्गली, अत्रि ऋषिका पुत्र दुर्वाशाको तपोभूमि दुर्गाखोला, व्याकरणका ज्ञाता पाणिनिले महादेवबाट १४ वटा सुत्रहरू प्राप्तगरेको क्षेत्र पणेना दह, ऋष्य शृङ्गको तपोभूमि शृङ्गा, रुरु कन्याको तपोभूमि तथा ज्ञवाली वंशका आदिपुरुष सुमेरुको तपोस्थल रिडी, भृगु वंशीय महर्षिहरू, वाल्मीकि र कपिलमुनिको तपोस्थल यसै क्षेत्रमा पर्दछन्।

    यो क्षेत्र परापूर्वकालदेखि नै पवित्र भूमिको रुपमा रहेको अनुमान गर्न सकिन्छ। रैनादेवी नाम कसरी रहन गयो भन्ने विषयमा विभिन्न मत पाइन्छन्। गुल्मी र अर्घाखाँचीलगायतका क्षेत्रमा रैनादेवीलाई अहिले पनि गोखुंगाकी देवी भन्ने प्रचलन छ।

    सन् १९१९ मा रैनादेवीलाई चढाएको घण्टामा ‘रोइनादेवी’ उल्लेख गरिएको छ। त्यस समयमा रैनादेवीलाई ‘रोइनदेवी’ भनिने गरेको पाइन्छ। यस क्षेत्रमा परापूर्व कालदेखि नै मगरहरूको राज्य थियो। त्यसैले धेरैजसो ठाउँहरूको नामाकरण पनि मगर भाषाबाटै भएको छ।

    पृथ्वीनारायण शाहको नेपाल एकिकरणको समयमा रैनादेवी सपनामा प्रकट भएपछि अर्कोदिन राजाले हे ! गोखुंगाकी देवी तिमी यदि सत्तकी छौ भने मैले यो पाडोलाई बलिको रुपमा पठाएको छु’ भनी पाडो बलीको लागी पठाएका थिए।

    अहिले पनि मन्दिरमा जेठोपाडोको बलिदिने परम्परा छ। पाल्पाका सेन वंशीय राजा मुकुन्द सेन द्वितीयले १८२९ तिर रैनादेवीको दैनिक पूजाआजाको लागि ४० मुरी धान फल्ने खेत भुवनपोखरीको लामपातेमा गुठीको रुपमा ताम्रपत्र प्रदान गरेका थिए।

    रैनादेवी जाने जो कोही पर्यटक तीर्थाटनको भावनाले गोखुङ्गा जाने हो भने हरेक आइतबार, दशैंको नवरात्रभर, वैशाखे पूर्णिमा र वैशाखे पूर्णिको १५ दिन पछि पर्ने छोटी पूजा, चैते दशैं, दशैंको पूर्णिमा र मंसिरको न्वागीमा रैनादेवीमा मेला लाग्छ।

    यस क्षेत्रका सबै समुदायले कुनै नयाँ काम गर्दा, घ्यू तताउँदा, भैंसी व्याउँदा, परदेश जाँदा, विवाहलगायतका अन्य कुनै शुभकार्य गर्दा पहिले रैनादेवीलाई संझने र प्रसाद चढाउने प्रचलन छ। परिवारमा जेठो सन्तान जन्मिएपछि देवीलाई पूर्व बढाई दिने र पञ्चवली लैजाने प्रचलन रहेको छ। रैनादेवीसँग मागेको बर पूरा हुने विश्वास गरिन्छ।

    कसरी पुग्ने ?

    बुटवल वा पोखराबाट बस चढेर पाल्पा सदरमुकाम तानसेन पुग्न सकिन्छ। तानसेनबाट ३८ कि.मी. पश्चिमतर्फ सडकमा करिब डेढ-दुई घण्टाको बस यात्राबाट गोखुंगा चौपारी पुगिन्छ। गोखुंगा चौपारीबाट १० मिनेट उकालो हिँडेपछि मन्दिरमै पुग्न सकिन्छ। अहिले अर्घाखाँची र गुल्मीबाट समेत सडक सञ्जाल रैनादेवीसम्म जोडिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]