|

काठमाडौं : घडीको सुइ जसै ६ बजेर ४५ मिनेटमा पुगेको थियो, नेपथ्यको चिरपरिचित ६० मिनेट संकेतको ढुकढुकी पर्दामा उभ्रिन सुरुभयो भने अन्तिममा त्यो संकेत दुइटा शून्यमा आएर अडिनासाथ यहाँस्थित ‘इटालियन क्लब’मा उज्यालोसँगै पहिलो नेपथ्य आवाज गुञ्जियो।

दर्शक दीर्घा डार्बिनमा पढ्न वा बसोबासका निम्ति आइपुगेका नेपालीहरूको मिश्रित भीडले भरिएको थियो। कन्सर्टको सुरुवात जसै नेपथ्यको पहिलो गीत ‘आँगनै भरि’बाट भयो त्यसपछि पनि ब्याण्डका चर्चित गीतहरू ‘भेडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ले निरन्तरता पाउँदै गयो, जसमा दर्शकले गायक अमृतसँगै गाउँदै र नाच्दै साथ दिइरहेका थिए।

प्रत्येक पुस्ताको हुर्काइमै मिसिएका आवाजले तान्ने यादहरू, आनन्द र गम्भीरताका मिश्रित स्वाद शुक्रबार बेलुकी डार्बिनको वायुमण्डलमा फैलँदै गइरहेको थियो। गीतले जस्तो जस्तो ‘मुड’ सिर्जना गरिरहेको थियो त्यस्तै त्यस्तै भाकामा दर्शकहरू पनि नाच्ने वा हात हल्लाउने गरिरहेका थिए।

बीचबीचमा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृतले ब्याण्डसँगको यात्राका अनुभवहरू सुनाइरहेका थिए, जसलाई सुनेर उत्तेजनामा चिच्याउने र ताली बजाउने काम पनि सँगसँगै चलिरहेकै थियो।

‘संसारमा नेपालीलाई इमान्दारको रूपमा चिन्छन्। पुर्खा र अग्रजले कमाएको इज्जतमा खलल आउन नदिनु होला,’ बीचबीचमा आफ्नो सन्देश पनि दिइरहेका उनी भन्दैगए, ‘हामीमध्ये धेरै काम गर्न विदेशिएका छौँ। कामलाइ ईमान्दारीका साथ निभाउनु होला।’

नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार नेपालको कुना काप्चामा सबैभन्दा बढी घुमेको ब्याण्ड पनि संभवत यहि रहेको अनुमान गर्छन्। ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर डाँडाकाँडाका दर्शकसम्म पहुँच बनाएका दिनकै याद शुक्रबार बेलुकी डार्बिनको प्रस्तुतिले पनि दिलाएको किरणले बताए।

सन् २००१ देखि यस ब्याण्डलाई व्यवस्थापन गर्न थालेको नेपालयले नै त्यसयता मुलुकभित्रदेखि बाहिरसम्मै ठूला सहर अनि साना घेरासम्म नेपथ्यलाई पुर्‍याउँदै आएको छ। कन्सर्टको आयोजना ५ सय दर्शक अटाउने चिटिक्कको अनि आत्मीय ‘इटालियन क्लब’मा गरिएको थियो।

नेपथ्यको जारी अष्ट्रेलिया श्रृंखला अब एडिलेड सहरतर्फ अघि बढ्नेछ जहाँ स्थानीय ‘एचक्यू कम्प्लेस’मा ब्याण्डले डिसेम्बर ३ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। डार्बिनबाट एडिलेडहुँदै ब्याण्ड त्यसपछि ताजमानियाको होबार्ट, सिड्नी भएर अन्तिममा मेलबर्न पुग्नेछ। त्यहाँ डिसेम्बर २३ तारिखको अन्तिम शोसहित यस वर्षको अष्ट्रेलिया यात्रा सम्पन्न हुनेछ।

स्टेजमा सधैँझैं अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.