|

काठमाडौं : पूर्वउपराष्ट्रपति परमानन्द झाले नेताहरूलाई पैसा बुझाएरमा मात्रै कलाकारले राज्यसत्ता र उच्च निकायमा पहुँच पाउने गरेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएका छन्। अहिलेका राजनीतिक दलले कलाकारलाई सम्मान गर्नै नसकेको पनि उनको गुनासो थियो।

तिलक फिल्मस् प्रालिको तेस्रो वार्षिकोत्सवमा आयोजित राष्ट्र निर्माणमा कलाकारको भूमिका विषयक विचार गोष्ठी, तथा स्रष्टा सम्मान कार्यक्रममा संघीय नेपालका प्रथम उपराष्ट्रपति झाले कलाकर्मीलाई राष्ट्रले सम्मान र प्रोत्साहन गर्नुपर्ने बताएका हुन्।

‘यहाँ त पैसाको बिटो बुझाए मात्रै राज्य सञ्चालन र उच्च तहमा पहुँच पाउन सक्छन् कलाकारले, नभए केही हुँदैन, यो अवस्थालाई वर्तमान सरकारले अन्त्य गर्नुपर्छ,’ झाले भने, ‘कलाकारको मिहिनेत, देश र जनताप्रति दिएको बलिदानलाई सम्मान गर्नुपर्छ, कदर गर्नुपर्छ।’

पूर्वउपराष्ट्रपति झाले मुलुक बिस्तारै विकास र समृद्धिको यात्रामा अघि बढेकाले अब कलाकारले पनि सम्मानजनक स्थान पाउने आशा व्यक्त गरे।

विभिन्न क्षेत्रका स्रष्टा सम्मानित

तिलक फिल्मसले विभिन्न क्षेत्रमा क्रियाशील स्रष्टालाई सम्मान गरेको छ। संस्थाका अध्यक्ष दीपकराज जोशीका अनुसार मुर्छना संगीतालयका प्रबन्ध निर्देशक वरिष्ठ गायक, संगीतकार मनोजराज सिवाकोटी, शैक्षिक तथा सामाजिक संघ–संस्थामा आबद्ध, वरिष्ठ शिक्षासेवी तथा समाजसेवी सपना लामा, पत्रकार अशोक अधिकारी, झरना कला केन्द्रकी प्रबन्ध निर्देशक, नृत्य निर्देशक तथा कलाकार मनीषा राईलाई सम्मान गरिएको हो।

त्यसै गरी, शैक्षिक अभियन्ता तथा समाजसेवी रामकृष्ण बल, निर्माण, सौन्दर्य तथा महिला उद्यमी सरस्वती श्रेष्ठ (शरु), नृत्य निर्देशक तथा कलाकार रोशन बुढाथोकी, महिला उद्यमी तथा समाजसेवी छपिकुमारी ओली, वरिष्ठ ध्वनि सम्पादक तथा गायक कुमार रानालाई पूर्वउपराष्ट्रपति झाले सम्मान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.