|

धनगढी : कञ्चनपुरको पुनर्वासनगरपालिकाको वडा नम्बर ३ मा उपनिर्वाचनको सरगर्मी बढेको छ। मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेरवारहरु चुनावी मैदानमा होमिएका छन्। 

निर्वाचन आउन एक साता बाँकी रहेका बेला विभिन्न एजेन्डाहरू लिएर उम्मेदवारहरु घरदैलोमा व्यस्त छन्। विकास निर्माणमा पछाडि रहेको भन्दै सबै उम्मेदवारहरुले आफ्नो चुनावी एजेन्डा विकास निर्माणलाई नै बनाएका छन्। चारैजना उम्मेदावरहरुले आफ्नो जित निश्चित भएको भन्दै घर दैलो गरिरहेका छन्। 

‘यहाँका सिँचाइ, सडकलगायतका विकासलाई पहिलो प्राथमिकता दिएको छु,’ नेकपाका कृष्णबहादुर तामाङले भने, ‘लामो समयदेखि सामाजिक कार्यमा लाग्दै आएकाले चुनाव अवश्य जित्छु।’

वडाध्यक्ष तत्कालीन एमालेका फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको संयोजक भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा बाजी मार्ने दाउमा रहेका कांग्रेसका उम्मेरवार दीपबहादुर तामाङ आफू सहजै चुनाव जित्ने बताउँछन्। उनी पनि वडाको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउँछन्

चुनावी मैदानमा उत्रिएका राप्रपाका पदमबहादुर शाही पनि चुनाव सहजै जित्ने दाबी गर्छन्। विजयी भएपछि गाउँको विकासले गति पाउने भन्दै उनी घरदैलो गरिरहेका छन्। ‘चुनाव हो, जिताउने हराउने मतदाताको हातमा छ,’ उनले भने, ‘म चुनाव जित्छु र यहाँको विकासलाई गति दिन्छु।’

समाजवादी पार्टीका तर्फबाट भीमबहादुर पाख्रिन चुनावी मैदानमा होमिएका छन्। विभिन्न सामाजिक क्रियाकलापमा आफू सक्रिय रहेकाले चुनाव जित्ने उनको दाबी छ। ‘विगतमा विभिन्न पार्टीलाई जिताएर केही विकास गरेनन्,’ उनले भने, ‘अब हाम्रो पार्टीले जितेर विकासलाई अगाडी बढाउँछ।’

उपनिर्वाचनका लागि पाँच दलले उम्मेदारी दर्ता गराएका थिए।  राप्रपा संयुक्तबाट धनबहादुर तामाङले भने अन्तिम समयमा उम्मेदवारी फिर्ता लिए। वडाध्यक्ष पदका लागि निर्वाचनमा होमिएका सबैले चुवान जित्ने दाबी गरे पनि नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.