लेपेरेटोमी र एपेन्डेक्टोमी विधिबाट सल्यक्रिया

|

काठमाडौं : मिर्गौलाले काम नगरेर डायलाइसिस गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसले सताएको छ। सोमबार रातिदेखि पेट दुखेर पखाला पनि लागेपछि मंगलबार बिहान उनी उपचारका लागि अस्पताल पुगेका थिए।

मिर्गौलाले काम गर्न छाडेपछि ग्राण्डी अस्पतालमा तीन पटक डायलाइसिस गराइसकेका प्रधानमन्त्री ओली नियमित विशेषज्ञ चिकित्सकको सचेत निगरानीमा रहेका ओलीको स्वास्थ्यमा अचानक यो समश्या देखिएको हो ।

मिर्गौलाले दु:ख दिइरहेको अवस्थामा सोमबारदेखि प्रधानमन्त्रीले अर्को जटिल समस्याको सामना गर्नुपरेको छ। एपेन्डिसाइटिस फुटेर पेटमा संक्रमण भएपछि चिकित्सकहरुले जोखिम मोलेर शल्यक्रिया गरेका छन्। 

स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहान ९ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुर्‍याइएको थियो। परीक्षणपछि डाक्टरहरूले प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिससहित पेरिटोनाइटिस भएको निर्क्यौल निकालेपछि तत्कालै अपरेशन गर्ने निर्णयमा पुगे।

एपेन्डिक्स सुन्‍निएर पाकेर भित्रै फुट्नाले संक्रमण भएको चिकित्सकहरुले बताएका छन्। ओलीका निजी चिकित्सकसमेत रहेका डा. अरुण सायमीले एपेन्डिक्स सुन्‍निएर पिप जमेपछि समयमा शल्यक्रिया नहुँदा भित्रै फुटेर संक्रमण भएको बताए। जसलाई मेडिकल भाषामा एपेन्डिसाइटिससहित पेरिटोनाइटिस भन्‍ने गरिन्छ।

अहिले शल्यक्रिया  सफल भएपछि प्रधानमन्त्रीलाई चिकित्सकको  कडा निगरानीमा राखिएको छ। अस्पताल परिसरमा उनको स्वास्थ्यको चासो राख्नेको भीड लागेपनि कसैलाई भेट्न दिएको छैन। एपेन्डिक्स सुन्‍निएर एपेन्डिसाइटिस भएपछि  मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा त्रिवि शिक्षण अस्पतालका वरिष्ट सर्जन डाक्टर रमेशसिंह भण्डारीसहितको टोलीले अपरेशन गरेको थियो।

एपेन्डिसाइटिसको गम्भीर अवस्थालाई पेरिटोनाइटिस एपेन्डिसाइटिस् भन्‍ने गरिन्छ। चिकित्सकका अनुसार सामान्य अवस्थामा एपेन्डिसाइटिस भएमा तत्काल अपरेशन नगरेमा ठूलो समस्या बन्छ। समयमै अपरेशन नगरेर एपेन्डिक्स फुटेर शरीरमा संक्रमण फैलिनु गम्भीर अवस्था हो।

स्वस्थ मानिसका लागि पनि एपेन्डिसाइटिस पाकेर पिप निस्की पेटमा फैलिनु एकदम जटिल संक्रमण मानिन्छ। यस्तो अवस्थामा शरीरका अन्य अंगमा समेत प्रभाव पार्ने सम्भावना रहन्छ।

प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेर डायलासिसमा गएका प्रमका लागि झन् यो अवस्था जोखिमपुर्ण रहेको चिकित्सकहरुले बताएका छन्।

ट्रान्सप्लान्ट गरेका बिरामीले प्रतिरक्षात्मक क्षमता घटाउने औषधि खाइरहेको हुनाले संक्रमणको खतरा सामान्य मानिसमा भन्दा निकै बढी हुन्छ ।

ओलीको लेपेरेटोमी र एपेन्डेक्टोमी

चिकित्सकहरुको टोलीले प्रधानमन्त्री ओलीको लेपेरेटोमी र एपेन्डेक्टोमीको माध्यमबाट एपेन्डिक्स हटाएका छन्। एपेन्डेक्टोमी भनेको एपेन्डिक्स हटाउने सामान्य शल्यक्रिया हो। एपेन्डिसाइटिस भएपछि एपेन्डेक्टोमी शल्यक्रिया गरेर उपचार गरिन्छ। यस्तै, लेपेरोटोमी भनेको पेट चिरेर समस्या पत्ता लगाउने वा शल्यक्रियाको तयारी गर्ने प्रक्रिया हो।

पहिलो चरणमा एपेन्डेक्टोमी गरेर एपेन्डिसाइटिसको उपचार गरिए पनि प्रधानमन्त्रीलाई पेरिटोनाइटिस पनि देखिएकाले लेपेरोटोमी पनि गरिएको हो । जसले गर्दा  उनमा केही संक्रमण नहोस् भनेर चिकित्सकले सघन उपचार कक्ष आईसियुमा राखेका हुन्।

के हो पेरिटोनाइटिस?

पेरिटोनाइटिस भनेको पेटमा हुने पेरिटोनियम तन्तु सुन्‍निएर हुने इन्फेक्सन हो । पेरिटोनियमले पेटमा हुने आन्द्रालगायत विभिन्‍न अंगलाई छोप्ने र अड्याउने काम गर्छ। पेरिटोनियममा ब्याक्टेरियाका कारण पेरिटोनाइटिस हुने गर्दछ।

समयमै उपचार गरेमा पेरिटोनाइटिस सहजै ठीक हुन्छ। सामान्यत: भोक नलाग्‍ने, रिंगटा लाग्‍ने र हल्का दुखिरहेको पेट एक्कासि क्षणभरमै सहनै नसकिने गरि दुख्‍न थाल्नु पेरिटोनाइटिसका लक्षण हुन् । पेरिटोनाइटिसले पेट दुख्दा हलचल गर्न पनि असहज हुने गर्छ।

पेरिटोनाइटिस दुई प्रकारका हुन्छन्। प्राइमरी पेरिटोनाइटिस र सेकेन्डरी पेरिटोनाइटिस । प्राइमरी पेरिटोनाइटिस भनेको सीधै पेरिटोनियममा इन्फेक्सन हुनु हो भने पेटका अन्य अंगमा इन्फेक्सन हुँदा त्यसका जीवाणुहरू पेरिटोनियमसम्म पुगेर त्यहाँ इन्फेक्सन हुनु सेकेन्डरी पेरिटोनाइटिस हो ।

यदि पेरिटोनाइटिससँगै सिरोसिस पनि भएको अवस्थामा ४० प्रतिशत बिरामीको मृत्यु भएको तथ्यांक छ। यस्तै, सेकेन्डरी पेरिटोनाइटिस भएका १० प्रतिशत बिरामीको मृत्यु भएको तथ्यांक छ ।

प्रधानमन्त्री ओलीमा देखिएको पेरिटोनाइटिस उनको मिर्गौला प्रत्यारोपण र डायलाइसिसका कारण भएको हुनसक्छ। डायलाइसिस र मिर्गौला प्रत्यारोपण प्राइमरी पेरिटोनाइटिसको मुख्य कारणमध्येमा पर्छ भने यस्ता विरामीलाई यो घातक पनि हुन्छ।

मिर्गौलाले काम नगर्ने व्यक्तिको रगतमा भएका विकार बाहिर निकाल्न ‘क्याथेटर’ शरीरमा राखिन्छ। ‘क्याथेटर’ भनेको विकार बाहिर निकाल्न पेरिटोनियममा राखिने एक प्रकारको नली हो।

क्याथेटर पेरिटोनियममा राखेपछि इन्फेक्सन हुने खतरा बढ्छ । क्याथेटरले पेरिटोनियमलाई दुषित बनाउन सक्ने भएकाले इन्फेक्सनको खतरा बढेको हो ।

यसअघि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेपछि धापासीस्थित ग्राण्डी अस्पतालमा तीन पटक डायलाइसिस गरिसकिएको छ। तीन दिनअघि मात्रै प्रमको मिर्गौलाको तेस्रो डायलाइसिस गरिएको थियो।

यसअघि गत कात्तिक १२, १३ र ३० गते ग्राण्डीमै हेमोडायालासिस गरिएको थियो। प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.