फेरि डायलाइसिस तयारी

|

काठमाडौं : एपेन्डिसाइटिसको अपरेसनपछि बेहोस अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। एपेन्डिक्समा जमेको पिप फुटेर पेटमा संक्रमण भएपछि प्रम ओली गम्भीर विरामी परेका थिए। 

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार अपरेसन गरिएपछि प्रम ओलीलाई भेन्टिलेटर राखिएको थियो। 

तर बुधबार बिहानसम्म स्वास्थ्यमा राम्रो सुधार आएपछि प्रमलाई भेन्टिलेटरबाट हटाएर सघन उपचार कक्ष (आईसीयु) मा राखिएको निजी चिकित्सकसमेत रहेका डा. अरुण साय्मीले जानकारी दिए। 

'प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थामा राम्रो सुधार भएको छ। बुधबार विहानै भेन्टिलेटरबाट निकालिएको छ', सायमीले भने, 'सपोर्टका लागि दिइएका आइभी लाइनहरु पनि हटाइएको छ।'

सायमीका अनुसार प्रधानमन्त्री अहिले पूरा होसमा फर्किसकेका छन्। 'उहाँ अहिले होसमा हुनुहुन्छ। उहाँ कुरा गर्न पनि सक्नुहुन्छ', उनले भने, 'म आफैँ पनि भर्खरै कुरा गरेर निस्किएको हुँ।'

प्रधानमन्त्रीको होस फिरेपछि बुधबार बिहानै कालो चिया दिइएको थियो। 'अघि बिहानै उहाँलाई कालो चिया दिइयो', उनले भने, 'आधा घण्टा जति मेचमा बसाइयो, तर उहाँलाई अझै निगरानीमा राख्नुपर्ने आवश्यकता छ।'

प्रम ओली होसमा आएपनि चिकित्सकहरुले भेट्न पुगेका कसैलाई पनि जान दिएका छैनन्। स्रोतका अनुसार परिवारका केही सदस्य र चिकित्सकको टोलीबाहेक अरुलाई भेट्न चिकित्सकले निषेध गरेका छन्। 

प्रमको अपरेसन भएका दिन मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र बुधबार कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अस्पताल पुगेका थिए। तर उनीहरु कसैलाई पनि प्रधानमन्त्रीसँग भेट गर्न चिकित्सकहरुले दिएनन्। 

डायलाइसिस पनि गरिने

प्रमको स्वास्थ्यमा राम्रो सुधार देखिएपछि नियमित गरिँदै आएको डायलाइसिस पनि गरिने भएको छ। ओलीको उपचारमा संलग्न अर्का एकजना चिकित्सकका अनुसार आज जस्तै स्वास्थ्यमा राम्रो सुधार देखिएमा केही दिनमै मिर्गौलाको डायलाइसिस गरिनेछ। 

'यसैगरी स्वास्थ्यमा राम्रो सुधार भएमा भोलिसम्म अर्को डायलाइसिस गर्छौँ', ओलीका ती निजी चिकित्सकले भने, 'अहिले प्रधानमन्त्री हाम्रो निगरानीमै हुनुहुन्छ। धेरै राम्रो सुधार भएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.