तत्काल सडक फराकिलो बनाउन स्थानीयको माग

|

अर्घाखाँची : अर्घाखाँचीको नरपानीमा बुधबार साँझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित १९ जना मृतकको सनाखत भएको छ। दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र एकजनाको चौराहा अस्पताल प्रालि बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क-७ डिहिडाँडा कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया  मोनिका खड्का, शीतगंगा-२ सीतापुर झिर्रा घर भई हाल कपिलवस्तुको चप्परगाँउ बस्ने गाढी धनी ३७ वर्षीय शन्तबहादुर बस्नेत, उनको भाइ बुहारी २७ वर्षीय सीता बस्नेत रहेका छन्।

त्यसैगरी, कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा क्षेत्री  (वसन्त), अर्घाखाँची सन्धिखर्क-७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाँउका ५४ वर्षीय बलाराम भट्टराई, भूमिकास्थान नगरपालिका-९ का २७ वर्षीय शैलेस थापाको दुर्घटनामा मृत्यु भएको छ।

त्यसैगरी, सन्धिखर्क-१० का ५४ वर्षीय छविलाल गैरे, गुल्मी धुर्कोट-२ घर भई हाल सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत, कपिलवस्तु बाणगंगा-७ का ३ महिनाको बालक शोभाखर पोखरेल, सनपा-२ की ५९ वर्षीया सिताकुमारी सार्की, भुनपा-९ का ५० वर्षीय सीता घिमिरे, सोही ठाउँकै ५० वर्षीय विष्णुमाया गैरेको दुर्घटनामा मृत्यु भएको हो।

त्यसैगरी, मत्यु हुनेमा भुनपा-७ का ५१ वर्षीय मेघनाथ जैसी भण्डारी, शीतगंगा १ का १५ वर्षीय मन्जु विक, छत्रदेव गाउँपालिका-८ का ४२ वर्षीय कृष्णबहादुर सुनार, शीतगंगा-७ कल्लेरीका ४८ वर्षीय लोकबहादुर दर्जि , ५५ वर्षीय हरि बहादुर दर्जी र भुनपा ९ ठुलाडेबा बस्ने २२ वर्षीय शैलेस थापा रहेका छन्। 

दुर्घटनामा परि १८ जना घाइते भएका छन्। सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु. २ ख २१४८ नम्बरको बस सडकबाट करिव तीन सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो। सडक नाजुक भएका कारण दुर्घटना भएको चालक रोसन परियारले बताए। उनले यो क्षेत्रमा निकै जोखिम मोलेर बस चलाएर आउँदा मनमा डर लागेर आउने बताए।

घाइते एकजनाको बिएण्डबी अस्पताल काठमाडौंमा, ६ जनाको चौराहा अस्पताल प्रालि बुटवल र नौजनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। घाइतेमध्ये दुईजना उपचारपछि घर फर्किएका छन्।

घाइते हुनेहरूमा अर्घाखाँची सनपा-५ वाङलाका ४२ वर्षीय विष्णुबहादुर अधिकारी, सनपाका ६० वर्षीय नन्दबहादुर विक, सनपा-६ का ३ वर्षीय रिजन कुवर, सनपा-६ खाँचिकोटका गणेश पुरी, २३ वर्षीया सपना कुवर, सनपा-२ की २५ वर्षीया अंकीता पौडेल, पाणीनी-७ का ४१ वर्षीय कृष्ण विक, ३५ वर्षीय विष्णु विक, भुनपा-९ डेवाका २५ वर्षीय जीवन विक, सनपा-५ वाङलाका ३७ वर्षीय हुमबहादुर अधिकारी रहेका छन्।

त्यसैगरी सनपा-८ का २५ वर्षीय कमल मुखियाँ, सनपा-४ की २३ वर्षीय सरस्वती भट्टराई, १५ वर्षीय अंकित थापा, कपिलवस्तु बाणगंगाका ३ वर्षीय स्पर्श पोखरेल, २४ वर्षीया विमला पोखरेल र दाङ जिल्ला राप्ती गाउँपालिका-९ का ३३ वर्षीय प्रशान्त सुवेदी रहेको प्रहरीले जनाएको छ।

सागुरो घुम्टीमा ओभरट्याक गर्दा ब्रेक नलागेपछि दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए। पौडेलका अनुसार सागुरो सडकको घुम्टी काट्न नसकी एक्कासी बेक्र लगाउदा नलागेपछि सडकको छेउमा बस गएको र सडकको डिल भासिएर भिरबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको बताए। उनले यस क्षेत्रको सडक फराकिलो बनाउन मंसिर १० गतेबाट मोडहरू कटिङको काम सुरु गरिएको बताए।

यस क्षेत्रमा पटकपटक दुर्घटना हुने गरेका सडकको स्तरउन्नति बढाउन स्थानीयले माग गरेका छन्। निर्वाचन ताका नेताले सडक निर्माण गर्ने बाचा गरेर भोट ताने पनि साँघुरो सडकका कारण दैनिक जसो दुर्घटना हुँदासमेत यस दुर्घटनाग्रस्त क्षेत्रमा बेलैमा सडक बनाउन चासो नदिएको उनीहरूको गुनासो छ।

उनीहरूले चालकको लापर्वाहीलाई रोक्नु पर्ने, गाडीको गति कम गर्नुपर्ने, योग्य र अनुभवि चालकलाई मात्र सवारी साधन चलाउन दिनुपर्ने, सडकको घुम्टी मोडहरू काटेर सडक तत्काल फराकिलो बनाउन सम्बन्धित निकायसमक्ष मागसमेत गरेका छन्। दुर्घटना बढेपछि सडक डिभिजन कार्यालय सिवपुरले घुम्टी कटिङको काम सुरु गरे पनि अझै पूरा हुन नसक्दा निकै जोखिम मोलेर यात्रा गर्नु परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.