|

कपिलवस्तु : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तौलिहवाका कर्मचारीमाथि सांघातिक आक्रामणपछि भएको 'ब्लाक आउट' शुक्रबारदेखि हटाइएको छ। कपिलवस्तुको शुद्धोदन गाउँपालिका-१ छपिया गाउमा गरिएको ब्ल्याक आउट १० दिनपछि हटाइएको हो।

चुहावट नियन्त्रण गर्न गएका विद्युत् कर्मचारीलाई अवरोध गरी दुर्व्यवहार र हातपात गरिएपछि गत मंसिर ४ गते मध्यरातदेखि छपियामा ब्ल्याक आउट गरिएको थियो। ब्ल्याक आउट गरिँदा गाउँका तीन सय बढी परिवार अन्धकारमा १० दिनसम्म बस्न बाध्य भएको वडाध्यक्ष तिलकराम यादवले बताए।

वडाध्यक्ष यादवको नेतत्वमा आएका ५० बढी छपियाबासीले नेपाल विद्यतु प्राधिकरण तौलिहवा वितरण केन्द्रमा घटनाप्रति दुःख व्यक्त गर्दै लिखित् र मौखिक क्षमा याचना गरेपछि ब्ल्याक आउट हटाइएको तौलिहवा वितरण केन्द्रका प्रमुख जयकुमार यादवले बताए। ‘गाउलेले क्षमायाचन गर्दै आगामी दिनमा चुहावट नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता गरेपछि ब्ल्याक आउट हटाइएको हो ’ उनले भने। शुक्रबार दिउँसो १:३० बजेतिर विद्यतु सुचारु भएको उनले बताए।

गाउँबासीले चुहावट नियन्त्रणका लागि तीनवटा छुट्टाछुट्टै समितिसमेत बनाएका छन्। गाउँमा विद्यतु चुहावट रोक्ने र चुहावट गर्ने परिवारलाई पाँच हजार जरिवाना तिराउने र त्यसमा पनि अटरे गरे कार्वाहीका लागि पक्राउ गरी प्राधिकरणमा बुझाउने गाउँस्तरमा निर्णय भएको वडाअध्यक्ष यादवले बताए। घटनामा कानमा चोट लागेर उपचार गराइरहेको विद्युत्‍का कर्मचारी प्रवीण आचार्यलाई लाग्ने उपचार खर्चसमेत सहयोग गर्ने वडाअध्यक्ष यादवले प्रतिबद्धता व्यक्त गरे।

गत मंसिर ४ गते साँझ विद्युत कर्मचारी नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको चुहावट नियन्त्रण टोली गाउँ पुगेको थियो। प्राधिकरण कर्मचारीले स्थानीय माहोम्मद युसुफ खाँ र याकुफ खाँको घरमा रहेको विद्युत् मिटरबाट 'बाइपास' गरी विद्युत् चोरेको र हुकिङसमेत गरिएको फेला पारेको थियो। विद्युत् कर्मचारीले मिटर र हुकिङ खोल्ने क्रममा विद्युत्‍का कर्मचारीमाथि ती दुईका परिवार  र केही गाउलेहरु जम्मा भई दुर्व्यवहार र कुटपिटसमेत गरेका थिए।

युसुफ खाँ र  याकुफ खाँविरुद्ध प्रहरीमा गत मंसिर ४ गते नै जाहेरी दिए पनि बिहीबार मात्र दर्ता भएको प्रमुख यादवले बताए। घटनापछि दुवै फरार छन्। फरार रहेका दुवैको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.