मिहिनेतले बनायो मजदुरबाट मालिक

|

काठमाडौंः नारायणगोपाल चोकदेखि उत्तर नारायणथान-बूढानीलकण्ठ सडक खण्डमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गरिरहेका छन्। सडकको पेटीमा अनगिन्ती मानिसको भिड र ओहोरदोहोर चलेको हुन्छ।

पैदल यात्रीसँग आ-आफ्नै दुख र कहानी छन्। दु:खलाई सदाका निम्ति अन्त्य गर्ने  रंगीन सपना पनि। यात्रीलाई गन्तव्यमा पुग्न हतारो छ। बरू गन्तव्य पो कहाँ होला?  समाज नै मानिसको  बाच्ने आधार हो। केही जीवनलाई परिभाषा दिँदै जान्छन त कोही अर्थहीन भन्दै फलाकिरहेका हुन्छन्।

कर्मचारीबाट सञ्‍चालक

बाटो साँघुरो थियो, चौडा भयो। पेटी फराकिलो थियो, विस्तारै साँघुरिदै गयो। दुई दशकमा बूढानीलकण्ठ सडकखण्डमा कैयौँ पुराना गाडी कुदे होलान्। कैयौं ग्यारेजमा थन्किए होलान्। तर, दुई दशकदेखि यसै सडकको पेटीमा एमएन इन्टरनेशनल कम्युनिकेशन सेन्टर छँदैछ। कम्युनिकेशन सेन्टरमा कर्मचारी भएर छिरेको जीवन थापा दुई दशकपछि त्यहीँ कम्युनिकेशन सेन्टरको सञ्चालक भएका छन्।

'दाइ सामसुङको नयाँ मोडलको मोबाइल कुन छ?' मोबाइल पसलको र्‍याकमा राखिएको मोबाइललाई देखाउँदै ग्राहकले सोधे। ग्राहकको आवाज सुनेपछि उनले जवाफ दिए 'पहिले मोबाइल हेर्नुहोस् त्यसपछि कुरा गरौँ।' यहीँ हो यो उनको दैनिकी हो।

सफलताको कहानी

गर्मीले साम्राज्य गरेको सहर भनेर चिनिन्छ नेपालगञ्जलाई। जहाँ थापा जस्तै असली जीवनको परिभाषा खोज्दै सयौँ युवा नेपालगञ्ज बजारमा ओहोरदोहोर गरिरहेका हुन्छन्। सहरदेखिको दक्षिण दिशामा सानो टोल थियो त्यो आज नेपालगञ्ज नगरपालिका भएको छ। त्यही सानो गाउँमा ४१ वर्ष अगाडि जीवनको जन्म भएको थियो।

मध्यम वर्गको परिवारमा हुर्किएका हुन् उनी। जीवन माइला छोरा हुन्। सबै दाजुभाइ आ-आफ्नो व्यवसायमा आबद्ध छन्।

उनले नेपालगञ्जको नारायण माध्यमिक विद्यालयमा एसएलसी सकेर। उच्च शिक्षा हासिल गर्न तनहुँ आए। पढ्न आएको समयमा मुलुकमा जनयुद्ध जारी थियो। जीवन भन्छन्, 'राजनीतिले शिक्षाको शैलीमा प्रभाव पार्दोरहेछ। मैले अध्ययन गर्न पाइनँ।'

अध्ययनलाई बीचैमा  छाडेर उनी काठमाडौं छिरेर साहुको घरमा बसेर पसलमा काम गर्न थाले। उनी विगत सम्झँदै भन्छन्, 'जिन्‍दगीमा फसल भनेको सुनेको थिएँ, पसल भन्‍ने काठमाडौंमै आएर सुनेको हुँ।'

'२०५४ असारमा प्रवीणता प्रमाणपत्र तहको परीक्षा थियो। तत्कालीन माओवादीको आन्दोलनले उचाई लिइरहेको थियो। क्रान्तिकारी विद्यार्थीले परीक्षाको प्रश्नपत्र जलाए। तोकिएको मितिमा परीक्षा भएन, 'उनी विगत सम्झँदै भन्छन्, 'परीक्षा रोकिनु नै पढाइमा विराम लाग्नु थियो। रहर हुँदाहुँदै पनि पढ्न सकिनँ। सदाको लागि पढाइमा पूर्णविराम लाग्यो।'

परीक्षाभन्दा अर्थपूर्ण जीवनको खाँचो

परीक्षा हुनु र नहुनुमा फरक पर्दैन तर जीवनलाई सदा अर्थपूर्ण बनाउनुपर्ने उनी बताउँछन्। 'पढेको भए कतै अध्यापन गराउँथे वा जागिर खाएर बस्थेँ तर अहिले  पसलको बसाइमा सन्तुष्ट छु' जीवन भन्छन्। मोबाइल पसलमा बस्‍दा मानिसका मुहारमा भएका सुख र दुःखका भावहरु पढ्न पाएकोमा सन्तुष्ट छन् उनी। ' ग्राहकले पसलमा मोबाइल मात्र किन्दैनन् उनीहरूको खुसी पनि किनेर लगेको देख्छु,' उनले हाँस्दै भने।

विदेश जाने सपना

तत्कालीन समयमा गाउँमा खुबै लाहुर जाने चलन थियो। जीवनले विदेश जाने सोच पनि नबनाएका होइनन्। उनले लाहुरे पनि भिडे तर सफल भएनन्। उनी भन्छन्, 'बन्दुक बोक्ने सपना पूरा भएन तर, दैनिक थरी-थरीका मोबाइलमा बन्दुकका गेम खेल्छु। गेमभित्रका बन्दुक हेर्छु।'

काठमाडौंको महँगीले दिक्क

काठमाडौंको बसाइपछि मानिसहरू आफ्नो थातथलो फर्कंदैनन्, यहाँका ठूला- ठूला भवन र शानदार जीवनले तान्छ। तर, जीवनलाई भने यहाँको महँगीले गाउँको जीवन नै लोभ लाग्दो रहेछ। उनी भन्छन्, ' काठमाडौंको महँगीले पनि होला मलाई त बेलाबेलामा गाउँ फर्कौं फर्कौं हुन्छ।'

नयाँ सपना नै अनिवार्य सर्त

मानिसले केही गर्नका लागि नयाँ सोच, सपना अनिवार्य सर्त ठान्छन् जीवन। उनले सुरुदेखि नै व्यापार व्यवसाय गर्ने सोच बनाएका थिए। पहिलोपटक कामदारको रुपमा कम्युनिकेसन सेन्टरमा प्रवेश गरे। यो काम नै उनको पहिलो काम थियो। जीवनले निरन्तर काम गरे अनुभव सम्हाले अन्त्यमा काम गरेको पसल किनेर सधाका लागि आफ्नै बनाए।

घाइते भएर सात वर्ष बेड रेष्ट

'खेलमा रुचि थियो। फुटबल खेल्थेँ,' भावुक हुँदै उनले भने,' खेल खेल्दा सुख र सन्तुष्ट मात्र नपाइने रहेछ। फुटबल खेल्दा घाइते भएँ।' घाइते जीवनले उनलाई छटपटी मात्र दिएन। सात वर्षसम्म बेड आराम गर्नुपरेको उनले सुनाए।

घाइते भएको केही समय अगाडि मात्र विवाह गरेका थिए उनले। जीवनलाई लागेको थियो खेलले मेरो जीवन लियो भनेर तर लगातारको उपचार र बेडरेष्टपछि उनले नयाँ जीवन पाए।

बिरामी भएर विस्तारै उनको शरीर तंग्रिँदै गएपछि परिवार र आफ्नो जीवन कसरी चलाउने त्यसको चिन्ता बढदै गयो। 'पहिले जुन पसलमा काम गरेको थिएँ त्यहीँ पसल किनेँ त्यहीँ नै जीवन बाँच्ने आधार बन्यो,' उनले भने। परिवारको साथ र मायाले यत्रा ग्राहकसँग हाँसेर मोबाइल खरिद बिक्री गरिरहेको उनी सुनाउँछन्।

महिनामै तीन लाख

उनले एम.एन. इन्टरनेशनल साइबर क्याफे सुरुमा ३ लाखमा किनेका थिए। त्यही पसल आज महिनामा ३ लाख कमाउन सफल भएको छ। कुनैबेला साइबर क्याफेमा बस्न आउनेको भिड लाग्ने गरेको उनी सुनाउँछन्।

'आज ती ग्राहक सबै आफ्नो गोजीमा बसेका छन्, ' उनले भने,' साइबर क्याफे हटाएर रेष्टुरेन्ट, ट्याटु हाउस, ट्राभल सञ्चालन गरेको छु। ग्राहकले एकै स्थानमा अनेकौँ सेवासुविधा पाउनेछन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.